परिवर्तनलाई संस्थागत गर्नु आजको कार्यभार हो : प्रचण्ड

Prachanda
  • 1.4K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक परिवर्तनलाई संस्थागत गर्नु आजको कार्यभार रहेको जिकिर गरेका छन्। प्रचण्डले दशैं, तिहार, पर्व र नेपाल सम्वत् ११४२ को अवसरमा शुभकामना व्यक्त गरेका छन्।

उनले सो अवसरमा सांस्कृतिक पर्वहरूले नेपाली समाज र मानव जीवनमा भातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्‍याएको बताएका छन्। प्रचण्डले सांस्कृतिक पर्वहरूलाई विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै समृद्धि र सामाजिक परिवर्तनलाई संस्थागत गर्नु हाम्रो कार्यभार रहेको बताएका हुन्।

उनले भनेका छन्, ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर मुलुक नेपालमा विभिन्न पर्वहरूका आ-आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरू छन्। यिनै आफ्नै पहिचानयुक्त सांस्कृतिक धरोहरका कारण नेपाल आदिकालदेखि नै स्वतन्त्र, अविभाज्य र एकतावद्ध राष्ट्र बन्न सफल भएको हो।’

चाडपर्वहरूको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै उनले स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरूको पालना गरी चाडपर्व मनाउन अपिल पनि गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्