दशैंको सामाजिक पक्ष के हो ?

  • 67
    Shares
लोकपाटी न्यूज
  • सुरेश ढकाल, मानवशास्त्री

दशैंलगायत अन्य चाडले मान्छेको सामाजिक सम्बन्धलाई टिकाउन र त्यसको पुनर्उत्पादन गर्न अहम् भूमिका खेलिरहेको छ। नयाँ पुस्तालाई सामाजिक संरचना, सामाजिक मूल्य र मान्यता सिकाउने काम पनि यसले गर्छ।

सामाजिक सम्बन्धलाई टिकाउन भौतिक आधार पनि महत्वपूर्ण हुन्छ। दशैंमा यो स्पष्टसँग प्रस्फुटित भएको हुन्छ। आदन-प्रदानको अर्थराजनितिको पनि सुक्ष्म अध्ययन गर्न सकिन्छ दशैंको अवसरमा हुने नगद, बस्तु, सम्मान आदिको आदन प्रदानहरुको अध्ययनबाट।

भौतिक वा अभौतिक वस्तु र गुणहरुको आदान-प्रदानले सामाजिक सम्बन्धहरु बन्छ भन्ने कुराको सबैभन्दा ठूलो उदाहरण हो दशैं। सम्बन्धहरु त्यत्तिकै हावामा तैरिँदैनन्। यो विनिमयमै चल्छ। कि वस्तु विनिमय कि सम्मान र स्नेहको विनिमय। सामाजिक पक्षको कुरा गर्दा लैंगिक पाटोलाई छुटाउन मिल्दैन।

दशैंले महिलाका लागि पनि खुसी बोकेर त आउँछ तर साथमा कामको भार उत्तिकै थोपर्छ। सबैभन्दा बढी महिलाहरु नै घोटिइरहेका हुन्छन्। पाहुनापासालाई खानपिन गराउने जिम्मेवारी निर्वाह गर्नुपर्छ। घरको सारा व्यवहार उनीहरुले नै धान्नुपर्छ। तर, उता बिहान-बिहान मन्दिर पुगेर स्त्री शक्तिको महापूजा गरिरहेकै हुन्छन्। यो पनि एकदमै विरोधाभासपूर्ण सामाजिक पक्ष हो।

निष्कर्षमा दशैंको आर्थिक, सामाजिक, सांस्कृतिक पाटोहरु छन्। ती आयामलाई खासखास अवधारणा वा दृष्टिकोण सहित बुझ्नु वा व्याख्या गर्नुपर्ने हुन्छ। दशैंको स्वरुप र चरित्रलाई जति धर्म वा सम्प्रदाय निरपेक्ष बनाउन सक्यो त्यति नै यसलाई राष्ट्रिय चाडका रुपमा विकास गर्न सकिन्छ।

दशैं मेरो पनि हो र म मेरो ढंगबाट मनाउँछु भन्ने र यससँग जोडिएका पौराणिक मिथकहरुका आधारमा मात्र दशैंको परिभाषा नगर्ने बरु वैकल्पिक व्याखाहरु (ती मिथकहरुका तहमा नै किन नहुन्) निर्माण गर्ने कार्यले दशैंको महत्व मात्र स्थापित गर्दैन बरु विरोधाभासका बिचमा पनि हामीसँग साँचो अर्थको एउटा राष्ट्रिय चाड हुनेछ।

आ-आफ्ना धर्म अनुरुपका, सम्प्रदाय अनुरुपका चाडहरु अन्य पनि छन् र तिनलाई उही महत्वका साथ मनाउन सकिन्छ। तर हामीसँग अभाव रहेको राष्ट्रिय चाडका रुपमा दशैंलाई विकास गर्न सकिन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्