रुकुमपश्चिममा प्रहरी र स्थानीयबीच झडप, ७ घाइते

Nepal_Police
फाइल तस्बिर
लोकपाटी न्यूज

रुकुम पश्चिम। जिल्ला सदरमुकाम खंलगामा प्रहरी र स्थानीय युवाबीच झडप हुँदा ७ जना प्रहरी घाइते भएका छन्। शुक्रबार राती अवेर बागबजार क्षेत्रमा भएको झडपमा प्रहरी सहायक निरीक्षक कोमलराज बोहरासहित ७ जना प्रहरी घाईते भएका हुन।

घाईते प्रहरी सहायक निरीक्षक बोहरालाई राती नै थप उपचारको लागि नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएको र त्यहाँ पनि उपचार सम्भव नभएपछि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ। घाईते प्रसनि बोहराको तल्लो भागको तीन ओटा वटा दाँत झरेको, माथिल्लो पट्टी एउटा दात हल्लिएको र टाउकोमा गम्भिर चोट देखिएको थियो।

झपडमा परि प्रहरी हवल्दार काली बहादुर बोहराको दाहिने हातको बुढी औलामा र ढाँडमा चोट लागेको छ भने प्रहरी जवान लक्ष्मण गुरुङको टाउकोमा सामान्य चोट रहेको छ। अन्य चार जना प्रहरी कर्मचारीहरु पनि सामान्य घाईते अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कपिलजंग शाहीका अनुसार शुक्रबार राती पौने नौ बजे मुसिकोट नगरपालिका- १ को बागबजार नजिकै पार्किंग गरि राखिएको रा १ ख २३९२ नम्बरको ट्रकलाई ढुंगा र बियरको बोतल प्रहार गरेर सिसा फुटाएको भन्ने सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट बागबजारको सयूँक्त टोली परिचालन गरिएको थियो।

उक्त टोलीले निजहरुलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी माथी नै ढुंगामुढा र बोतल समेत प्रहार गरेपछी मुठभेडको अवस्था बनेको उनले बताए। यसैबिच प्रहरीले घटनामा संलग्न भएको आरोपमा ६ जना युवालाई नियन्त्रणमा लिएको छ भने ४ जना फरार रहेको जनाएको छ।

पक्राउ पर्नेहरुमा मुसिकोट नगरपालिका वडा नम्वर ५ का २० बर्षका नरेश पुन मगर, वडा नम्वर १ का १८ वर्षका राजन प्रकाश गिरी, सोहि ठाउँका वर्ष २० का आकाश परियार र वर्ष २५ को हरि बहादुर घर्ती, वडा नम्बर १० का वर्ष २४ का खडानन्द के.सी. र रुकुम पुर्व भुमे गाउँपालिका घर भई हाल मुसिकोट नगरपालिका ५ बस्ने वर्ष २३ को मर्कुश पुन मगर रहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेकाहरु धनिराम नेपाली, स्वयल विश्वकर्मा, निसान पुन र बिक्कु भन्ने विकास परियार फरार रहेको प्रहरीले जनाएको छ। उनीहरुको खोजी भैरहेको जनाईएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्