के हो नरोदवाद ?

Communists_Word_Shabda
लोकपाटी न्यूज

 रुसमा निम्नपूँजीपति किसान जनवादीहरूका विचारहरूको प्रणाली। नरोदवादका विशिष्ट लक्षणहरू हुन् : कृषि जनवादलाई कृषक काल्पनिक समाजवादसँग मिलाउनु, विकासको पूँजीवादी चरणलाई उल्लंघन गर्ने आशा। नरोदवाद ती देशहरूको विशेषता हो, जसले बुर्जुवा-जनवादी क्रान्तिको मार्गमा तुलनात्मक रूपले ढिलो, त्यस बेला कदम राख्दछन्, जब पूँजीवादले आफ्नो आन्तरिक अन्तर्विरोध प्रकट गरिसकेको हुन्छ र सर्वहाराको समाजवादी आन्दोलनलाई जन्म दिइसकेको हुन्छ। हर्जेन तथा चेर्नीशेब्स्की रुसमा नरोदवादका संस्थापक थिए।

उनीहरूले नै सबभन्दा पहिले यो प्रश्न प्रस्तुत गरेका थिए कि समाजको उच्चतम, साम्यवादी रूपमा किसान समुदायको माध्यमबाट सीधै संक्रमण गर्न सम्भव छ। १९औं शताब्दीको आठौं दशकमा नरोदवाद रुसी जनवादी आन्दोलनको प्रमुख धारा बनेको थियो, त्यसले नयाँ गुण प्राप्त गरेको थियो : किसान क्रान्तिलाई आफ्नो तात्कालिक कार्यभार बनायो। बाकुनिन, लाव्रोभ, त्काचोभ, आदि त्यस दशकका नरोदवादका सबभन्दा प्रमुख विचारधारा निरूपक थिए। संघर्षशील क्रान्तिकारी जनवादको विचार हुनुको कारण त्यो दशकको नरोदवादले चेर्नीशेव्स्कीको सिद्धान्तको तुलनामा पछाडितिर कदम उठायो।

नरोदवादीले अन्तर्राष्ट्रिय समाजवादी सर्वहाराको ऐतिहासिक संघर्षसँग गहन सहानुभूति त राख्दथे, तर पूँजीवादका खराबीहरूको रोमान्टिक ढंगले पर्दाफास गर्दथे, ठूला जमिन्दारहरु र जारशाहीको विरुद्ध लड्दथे र रुसको विकासको विशेष मार्गमा विश्वास गर्दथे। उनीहरू चेर्नीशेब्स्ककिो केन्द्रीय समाज शास्त्रीय सिद्धान्तलाई सामाजिक विकासको ऐतिहासिक आवश्यकताको सिद्धान्तलाई यो कुराको साहयता लिएर अस्वीकार गर्दथे कि त्यो सिद्धान्तले मानौं विकासको पूँजीवादी मार्गलाई सही मान्दछ, जुन क्रान्तिकारीहरूको लागि अस्वीकार्य छ।

१९औं शताब्दीको आठौं दशकका नरोदवादी सिद्धान्तकारहरुले दर्शनमा प्रत्यक्षवादको वकालत गरे। उनीहरूले भौतिकवादी दर्शन र त्यसको ज्ञानशास्त्रलाई अस्वीकार गरे, जसलाई उनीहरूले यस्तो अधिभूतवादी सामान्यीकरण माने, जुन विज्ञानका सीमाहरूभन्दा पर जान्छ। १९ औं शताब्दीको नवौं दशकको मध्येमा नरोदवादले गहन संकटको अवधिमा प्रवेश गर्‍यो। यो संकटका कारणहरू थिए : एकातिर, किसान समुदायको बीचमा नरोदवादीहरुको प्रचारको असफलता, ‘जनताको स्वतन्त्रता’ संगठनको पराजय र अर्कोतिर, देशको वर्गीय संरचनामा परिवर्तन – जस्तो कि किसान समुदायको पूँजीवादी मार्गमा विकास, सर्वहाराको संख्यामा वृद्धि, त्यसको संघर्षको विकास।

क्रान्तिकारीहरूको एउटा समूहले (प्लेखानोभ, आदिले) नरोदवादसँग सम्बन्ध विच्छेद गरेर मार्क्सवादको दृष्टिकोण अपनायो। नरोदवादमा उदारतावादी प्रवृत्ति प्रचलित रह्यो (मिखाइलोभ्स्की, एस. यूजाकोभ, आदि), त्यसले विद्यमान व्यवस्थालाई क्रान्तिकारी ढंगले पल्टाउने संघर्षको परित्याग गर्‍यो। १९औं शताब्दीका नवौं र दशौं दशकहरूमा नरोदवादद्वारा प्रस्तुत मुख्य प्रस्थापना यो थियो : साना किसानको खेती पूँजीवादको विपरीत छ। केही नरोदवादीहरु रुसको पूँजीवादको विकासक्रम तथा किसान समुदायमा विभाजनलाई स्वीकार गर्न बाध्य भए। तर उनीहरूले सँगसँगै पूँजीवादबाट जनउत्पादनको रक्षासँग सम्बन्धित निम्नपूँजीवादी काल्पनिक योजनाहरू पनि बनाए।

उदारतावादी नरोदवादीहरुले मार्क्सवादको विरुद्ध सक्रिय संघर्ष चलाए। यो संघर्षमा उनीहरूको पूर्ण विचारधारात्मक विध्वंस भयो। २० औं शताब्दीको आरम्भमा किसान आन्दोलनको लहर र १९०५-०७ को क्रान्तिको फलस्वरूप विभिन्न नरोद्वादी समूहहरू र पार्टीहरूको जन्म भयो, जसमा समाजवादी-क्रान्तिकारी पार्टी पनि सामेल थियो। यो पार्टीको विचारधारा सारसंग्रहवादी स्वरूपको थियो, जसले नरोदवादका पुराना जडसूत्रहरुलाई मार्क्सवादका विकृत बनाइएका प्रस्थापनाहरूसँग मिलायो। क्रान्तिको क्रममा समाजवादी-क्रान्तिकारी उदारतावादीहरूको अधीनता तथा जमिन्दारहरुको विरुद्ध संघर्षको बीचमा निरन्तर ढुलमुल गरिरहे। लेनिन तथा प्लेखानोभले नरोदवादको गहन आलोचना गरे।

-रमेश सुनुवारको दर्शन विश्वकोशबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्