- शिवजी तिवारी
तिजको चार दिने बिदा, खासै केही काम थिएन। पूर्वनिर्धारित कुनै योजना नभएपछि इलामसम्म पुगेर आउने योजना बनाइयो। योजना मुताबिक सूर्योदयको प्रतीक्षा चपुरमा नगर्ने, गर्मी उत्पात, सकेसम्म कोशीको बाँधमा पुगेर चिया खाने लगायतका कार्यक्रम बने। यसरी मनमा दार्जिलिङ, योजनामा कन्यामसम्मको गन्तव्यको लागि बिहान ५ बजे नै यात्रा प्रारम्भ गरियो। दुई मित्र करिब ८० किमी प्रतिघण्टाको दरले पूर्वपश्चिम राजमार्ग हुइँकिन थालियो। ६ बजे बर्दिबासमा चिया नास्तासँगै उही यात्रा। सिमसिमे पानी आफ्नो घनत्व बढाउँदै हाम्रो यात्रालाई यादगार बनाउनमा प्रयत्नशील थियो।
बर्दिबास पूर्व नपुगेको मेरालागि सबै कुरा नौलो नै थिए। महेन्द्र राजमार्गमा अवस्थित सप्तरीका ससाना पेडा पसलमा झुन्डिएका बोर्डले अचम्मित नै बनायो। कुन चाहिँ बाजे असली कुन चाहिँ नक्कली सोच्दै कोशीको ५२ ढोके बाँधमा पुगेको पत्तै भएन। अँ साँच्चै कुन चाहिँ असली बाजे होलान् ? कुन चाहिँ असली पेडा पसल होला ? सिमसिमे पानीले रुझ्दै ताते तते गरेको हाम्रो यात्रा अब टन्टलापुर घाममा हुर्किरहेको थियो।
बिर्तामोडको एउटा होटेलमा झरेर चिया नास्तासँगै हामीले आफूलाई चाहिने आधारभूत जानकारी लिएर उकालो ठडिँदा मधेस छाडिन थाल्यो। जति उकालो चढ्यो, उति चिसो हावाको स्पर्श बढ्न थाल्यो। पातलो हाफ टिसर्टमा यात्रा प्रारम्भ गरेको म चिसोको अनुभवले उद्ध्योलित हुन थाले। म, अनि एक उत्साही मान्छे चिसो हावाको स्पर्शसँगै उकाली चढिरह्यौं…। उचाइ बढ्दै जाँदा पहिरन र रहनसहन बदलिँदै थियो। मान्छेको मुस्कानले हामीलाई पुलकित गरिरहेको थियो। सहरमा व्यापारिक घरानाका मान्छेमा बाहेक अरूमा खास मुस्कान नदेखिने कोरोना कहरको समयमा पनि पहाड अझै हाँस्न छोडेको रहेनछ।
केही उकालो छिचोल्न बाँकी छँदाछँदै सिमसिमे पानी पर्न थाल्यो। केही हिलो चिप्लो छिचोल्दै हामी चियाको चुस्कीसँगै आ-आफ्नै अनुभवको पोया खोल्न थाल्यौं। म पोखराबाट इलामको फिक्कल ताकेर हिँडेको मान्छे। मोतीझैँ टल्किने हिमशृंखला नियाल्दै आफ्नो बालापन बिताएको मेरो लागि उति उत्साह ल्याउने विषयवस्तु नआए पनि मेरो मित्रका लागि इलामका डाँडामा हिउँले चुमेका दृश्य निकै रमाइला लागेको देखियो।
चिया सकेर केही हिँड्ने बित्तिकै इलामको भीरपाखा र खोल्सामा समेत पैसा फलेको देखियो। आहा : आँखाले भ्याउनेसम्म सबै भिर पाखा चिया बगानै बगान…! चिया खेतीको होडबाजीसँगै उत्तिस, इस्कुस, नासपती, घिउ, चिराइतो, चीज, छुर्पी, बाँस, घिउसिमी, सुन्तला, नेपाली कागज र फूल यहाँका किसानका आम्दानीका नियमित स्रोत रहेछन्।
सूर्योदयको जिल्ला भनेर चिनिने जिल्ला इलाम। यहाँबाट सूर्य उदाउँदै र अस्ताउँदै गरेको दृश्य देख्न पाइने रहेछ। साँच्चिकै इलाम प्रकृतिको सुन्दर छटाले सजिएको छ। इलामको सुन्दरतासँगै गाँसिएर आउने चियाले नेपाली गीत-संगीतमा थुप्रै कर्णप्रिय स्वरलहरी र कलाकार जन्माएको त सुन्दै आएको हो। तर मेरो मन यतिमा नै थामिएन। त्यहाँको अन्तुडाँडामा सूचना केन्द्र रहेछ। त्यहाँ गएर बुझ्दा थाहा पाइयो मोतीझैँ टल्किने हिमशृंखलाको दृश्य, श्रीअन्तु, माई पोखरी, सन्दकपुर यहाँको मुख्य पर्यटकीय स्थल रहेछन्।
पूर्वको बिहानीसँग सूर्योदयको दृश्य नियाल्न इलाम आइपुगेकाहरू श्रीअन्तुलाई रोज्ने गर्दा रहेछन्। दार्जिलिङको टाइगर हिलभन्दा यहाँबाट सूर्योदयको दृश्य प्रष्ट र धेरै समयसम्म देखिने हुँदा पर्यटकहरूको लागि नयाँ गन्तव्य केन्द्रको रूपमा अन्तुडाँडा विकसित भइरहेको रहेछ । श्रीअन्तुको सुन्दरताले तारानाथ शर्माले लेखेको गीत मनमनै गुन्जियो…।
रेशमैको पछ्यौरी अल्झेछ ऐसेलु काँडामा
झुल्के घाम हेर्न जाऊँ कान्छी त्यो अन्तु डाँडामा
एक्कासि मन बिरक्तियो। हाम्रो पोखराका डाँडाहरूमा जस्तै डोजर आतंक यता पनि रहेछ। अव्यवस्थित ढंगले बाटो सोलिङ गर्न थालिएछ। दायाँबायाँ फोहोर। पोखरी बिस्तारै दुर्गन्धित बन्दै रहेछ। श्री अन्तुको सौन्दर्य पनि मान्छेको कुरूपताले भत्किँदै रहेछ। नयाँ पुस्ताका मान्छेले अब यसको महत्ववोध गर्नै पर्छ। निष्कपट मनका प्रेमीको काँधमा यही जिम्मेवारी छ।
इलाममा अहिले १ हजार ६ सय ६५ हेक्टरमा चिया खेती गरिँदै आएको रहेछ। चिया खेती अलावा इलाम ६ वटा ‘अ’ नामक नगदे बालीका लागि त्यत्तिकै प्रसिद्ध रहेछन्। ६ नगदे बालीमा अदुवा, अलैंची, अम्लिसो, अकबरे खुर्सानी, ओलन र आलु हुन्। उल्लिखित कृषिजन्य उत्पादनले यहाँका किसानको आर्थिक अवस्था अन्य जिल्लाका भन्दा उकासिएको नै भान भयो।
इलामको विशेषतामा मोहित भइरहेको अवस्थामा दुःखद पक्षका रूपमा पछिल्लो समय जिल्लामा अर्को ‘अ’ थपिएको याद आयो। त्यो हो- आत्महत्या। नेपालमा सबैभन्दा बढी आत्महत्या गर्ने जिल्ला इलाम रहेको विषयले मेरो मनमा बेचैनी ल्यायो। एकाकार भएर फिक्कलअको चिया बगानमा हामी रमिराख्दा, केही सुन्दर युगलहरू आफ्नै धुनमा थिए। मनमा एक्कासि गायक यम बरालको गीत…
बादलुको घुम्टोले इलाम बजार छोपिँदा
मैले सबलाई बिर्सिएछु तिमीलाई सम्झिँदा
कुमार केटो मलाइ गायक यम बरालको गीतको धुनले प्रेमिका थुप्रै कथा र उपन्यासहरू एकै पटक पढेजस्तो, बेप्रवाह नयाँ युगल जोडिले आफ्नो प्रेमको उद्गार गरेजस्तो प्रिय इलामले मेरो दिलमा प्रथम प्रेमको अंकुरण गरिदियो। प्रकृतिको यो अनुपम उपहार इलामसँग बर्सौं पुरानो प्रेम चलिरहेको भान भयो। लागिरह्यो त्यो दिल नि के दिल जो पुरै इलामलाई आफ्नो दिलमा कैद गर्न सक्तैन…! त्यहाँ रमिरहेका युगलहरूको बिहे भएर प्रेमको उच्च नमुना प्रस्तुत हुन्छ या हुन्न ? त्यो समयले बताउला। इलामले झरनाको कन्चन जल जस्तै मेरो चोखो दिलमा अलग अलग परिस्थितिमा उदाहरणीय दाम्पत्य जीवन बिताउनेछ। आइ लभ यु इलाम।