कम्युनिष्ट आन्दोलन : उग्रवामपन्थी अतिवाद र दक्षिणपन्थी सुधारवाद

Communist Society
लोकपाटी न्यूज

अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन आफ्नो प्रारम्भिक चरणदेखि नै उग्रवामपन्थी अतिवाद र दक्षिणपन्थी सुधारवाद तथा निम्नपूँजीवादी अराजकतावादको सिकार हुँदै आएको हो, जसविरुद्ध मार्क्स र एंगेल्सले जीवनभर कडा संघर्ष गर्नु पर्‍यो। मार्क्सले आफ्नो जीवनकालमा एकतर्फ काल्पनिक समाजवादीहरूको प्रभाव समाप्त गर्न संघर्ष गर्नु पर्‍यो भने अर्को तर्फ प्रुँधो, बाकुनिन जस्ता निम्नपूँजीवादी अराजकतावादी तथा लासाल, ढ्यूरिङ, ब्रूनो बाउएर आदि जस्ता चिन्तकहरूको निम्नपूँजीवादी गैरसर्वहारा चिन्तनविरुद्ध संघर्ष गर्नु पर्‍यो। अर्कोतर्फ तत्कालीन मजदुर आन्दोलनभित्र मजदुर वर्गको मुक्तिकै नाममा कार्यरत उग्रवादी, अराजकतावादी, सुधारवादी मध्यमार्गी विभिन्न वैचारिक धारहरू विरुद्ध कडा संघर्ष गर्नु पर्‍यो। यी विभिन्न धाहरूबाट मजदुर आन्दोलनलाई मुक्त गरी मार्क्सवादी कम्युनिष्ट अन्तर्राष्ट्रियतावाद एकतामा एकताबद्ध गर्नु त्यति सहज थिएन।

मार्क्स र एंगेल्सले जीवनभर यसका विरुद्ध कडा संघर्ष गर्नु पर्‍यो। त्यस्तै, मार्क्स र एंगेल्सको मृत्युपछि लेनिनले रुसको मजदुर आन्दोलनमा विद्यमान अक्टोबरिष्ट, कैडेड, क्रान्तिकारी समाजवादी, मेन्सेभिक आदि जस्ता निम्न पूँजीवादी, वामपन्थी अतिवादी, मध्यमार्गी संशोधनवादी विरुद्ध कडा संघर्ष गर्दै बोल्सेभिक पार्टीको निर्माण गरी अक्टोबर क्रान्तिसम्म पत्र गरेपछि समेत यो संघर्ष जारी नै थियो। लेनिनको मृत्युपछि उनकै बोल्सेभिक पार्टी पनि चरम वामपन्थ र दक्षिणपन्थको सिकार हुन पुग्यो। माओको नेतृत्वमा चीनको कम्युनिष्ट पार्टी कहिले वामपन्थी चरमवादको सिकार हुन पुग्यो भने कहिले निम्न पूँजीवाद अति क्रान्तिकारिताको सिकार हुन पुग्यो। माओको पछिल्लो कार्यकाल र उनको मृत्युपछि पनि निम्नपूँजीवादी उग्रवामपन्थी अतिवादले विश्व कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्‍यो र त्यो अवस्था आज पनि छ। सोभियत संघ र समाजवादी शिविरको विघटनपछि अहिले मार्क्सवादको पुनरावलोकन गर्ने नाममा दक्षिणपन्थी सुधारवाद हाबी भएको छ। सारांशमा भन्नुपर्दा, मजदुर आन्दोलन तथा कम्युनिष्ट आन्दोलनको इतिहास हेर्ने हो भने त्यसभित्र उग्रवामपन्थी अतिवाद र दक्षिणपन्थी अवसरवाद, निम्नपूँजीवादी अराजकतावाद, दक्षिणपन्थी संशोधनवाद विरुद्ध निरन्तर संघर्षको अवस्था रहेको हो र यो अवस्था आज पनि छ।

उग्रवामपन्थ तथा दक्षिणपन्थी सुधारवाद दुइटै आफ्ना चिन्तन र क्रियाकलापको परिपुष्टिका लागि मार्क्सवादमा नै टेक्ने प्रयास गर्छन् र मार्क्सले प्रतिपादित गरेका दार्शनिक तथा राजनैतिक अवधारणाहरूको मनोगत रूपमा अपव्याख्या गरी प्रस्तुत गर्ने गर्दछन्। सामान्य रूपमा प्राज्ञिक बहस र छलफलको सीमासम्म त यस्ता प्रवृत्तिहरूले मथिंगल खियाउने बाहेक कुनै सामाजिक अनिष्टकारी दुर्घटना निम्त्याउने अवस्था रहँदैन। तर, विचारधारात्क रूपमा, मजदुर आन्दोलनका निर्णायक मोडहरूमा, कम्युनिष्टहरूका क्रान्तिकारी राजनैतिक गतिविधिहरूको दौरान, विशेष गरेर क्रान्तिका निर्णायक चरणहरूमा वा क्रान्तिपछिको संक्रमणकालीन चरणमा यस्ता गलत प्रवृत्ति हाबी भएमा क्रान्तिकारी प्रक्रिया र क्रान्तिलाई धरापमा मात्र पार्दैनन् सामाजिक अनिष्ट पनि निम्त्याउने गर्छन्। सामान्यतया अति क्रान्तिकारी वामपन्थी दुस्साहसवाद निम्नमध्यम वर्गीय चिन्तन र मनोविज्ञानको उपज हो भने दक्षिणपन्थी सुधारवाद आफ्नो हित र वर्गीय स्वार्थ अनुरूप सचेत रूपमा मार्क्सवादलाई वंग्याएर प्रस्तुत गर्दै श्रमजीवी आन्दोलनको क्रान्तिकारी धारलाई बुत्याउने प्रयास हो।

नेपालको कम्युनिष्ट आन्दोलन यस्ता उग्रवामपन्थी रोगबाट सधैं ग्रसित मात्र रहेन यसले कम्युनिष्ट आन्दोलनलाई कहिले पनि संयुक्त आन्दोलनको रूपमा संगठित हुन दिएन। माओवादको नाममा एकपछि अर्को गरी जन्मेका निम्नपूँजीवादी उग्रवादी समूहका कारण आन्दोलनमा निरन्तरको फुट तथा गालीगलौजको संस्कारलाई हुर्कायो, जो अहिले पनि चलिरहेकै छ। अर्कोतर्फ भीडतन्त्रको मनोविज्ञानबाट डोरिएका उग्रवामपन्थीहरूले कहिले पनि वस्तुगत अवस्थाको सही मूल्यांकन गरी आन्दोलनलाई सही कार्यदिशा दिन सकेनन्। चाहे झापाली विद्रोह होस् अथवा दङाली अथवा माओवादीहरूको दश वर्षे लामो तथाकथित जनयुद्ध अथवा विभिन्न नाम र थरसहित चलेका मसाल, मशाल, चौम लगायतका विभिन्न माओवादी समूह, सब यसै निम्नमध्यम वर्गीय अतिक्रान्तिकारिता तथा उग्रवाम विचलनको सिकार रहेका हुन् र कतिपयले अझै यस रोगवाद मुक्ति पाएका छैनन्। यस निम्नमध्यम वर्गीय उग्रवादी चरित्र, चिन्तन, संस्कार तथा व्यवहारिक विचलनले तथा व्यक्तिगत महत्त्वाकांक्षी माओवाद वा माओ विचारधाराको अनुशरण गर्नेहरूलाई समेत एक सूत्रमा बाँधिन दिएन। यो हाम्रो विडम्बनपूर्ण अवस्था रहेको हो। केही हदसम्म अहिले पनि छ।

मार्क्सवाद अनुसार सामाजिक क्रान्ति, क्रान्तिकारी प्रक्रियाको विकास र क्रान्तिको सम्पन्नता लगायतका सामाजिक परिघटनाहरू र क्रान्तिकारी परिवर्तनहरू सामाजिक गतिका निश्चित नियम र अवस्थाअनुसार विकसित र परिघटित हुन्छन् र समष्टिगत रूपमा तिनलाई पारस्परिक सम्बद्धता र अन्तरनिर्भरतामा हेर्ने गरिन्छ। क्रान्तिकारीहरूले आफ्ना सचेत र सक्रिय क्रियाकलापद्वारा तिनको गति त्वरित गर्न सक्छन्, त्यसका सम्भावित परिणामको मूल्यांकन गरी आफू अनुकूल पार्ने प्रयास गर्न सक्छन् र गर्नु पर्छ, तर, आफ्नो चाहना र चाहेको समयमा वस्तुगत अवस्था विपरीत तिनलाई सम्पन्न गर्न चाहेमा तिनले अनिष्ट निम्त्याउँछन्। उग्रवामपन्थीहरूले यस सत्यको नकार गरी आफ्नो चाहनाअनुसार क्रान्ति र क्रान्तिकारी परिवर्तन गर्ने प्रयास गर्छन् जसले क्रान्ति र क्रान्तिको लक्ष दुइटै पराजित त हुन्छन् नै साथै सामाजिक अनिष्ट र प्रतिक्रान्तिलाई पनि निम्त्याउँछन्। यो प्रवृत्ति क्रान्ति र समाज दुइटैका लागि घातक हुन्छ। दक्षिणपन्थी भटकावले क्रान्तिको धार र क्रान्तिकारी परिवर्तनको दिशालाई नै मोडिन्छ। मार्क्सवादी क्रान्तिकारीहरूका लागि क्रान्ति, विप्लव तथा विद्रोहबिचको अन्तर स्पष्ट रूपमा बुझ्न अति आवश्यक कुरा हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्