दर्शनशास्त्र : सिद्धान्त तथा व्यवहार

Communists_Word_Shabda
लोकपाटी न्यूज
0 Shares

 दार्शनिक प्रवर्ग, जसले मानिसहरूका सामाजिक-ऐतिहासिक क्रियाकलापका आत्मिक तथा भौतिक पक्षहरूलाई संकेत गर्दछन्। ती क्रियाकलापहरू हुन् : प्रकृति तथा समाजको ज्ञान तथा रूपान्तरण। सिद्धान्त समाजको आत्मिक सिर्जनाको परिणाम हो, जसले क्रियाकलापका उद्देश्यहरूको गठन गर्दछ र तिनीहरूको पूर्तिको साधन निर्धारित गर्दछ। सिद्धान्त मानव-क्रियाकलापका वस्तुहरूका विकसित भइरहेका अवधारणाहरूको रूपमा विद्यमान हुन्छ। अनुभववाद तथा प्रत्यक्षवादभन्दा भिन्न मार्क्सवादी दर्शनले व्यवहारलाई व्यक्तिको इन्द्रियानुभविक आत्मगत अनुभव, वैज्ञानिकको प्रयोग, आदि मात्र मान्दैन।

त्यसले यो मान्दछ कि व्यवहार मानिसहरूको यस्तो क्रियाकलाप हो, जसले समाजको अस्तित्व तथा विकासलाई सुनिश्चित गर्दछ, यसले सबभन्दा बढी भौतिक उत्पादनको वस्तुगत प्रक्रियालाई सुनिश्चित गर्दछ, जुन मानव जीवनको आधार हो, साथसाथै यो वर्गहरूको क्रान्तिकारी तथा रूपान्तरणकारी क्रियाकलाप तथा व्यावहारिक सामाजिक क्रियाकलापका सम्पूर्ण अन्य रूप हो, जसले जगतमा परिवर्तन ल्याउँदछन्। व्यवहार ज्ञानको आधार तथा सत्यको कसी हो। मानिसहरूको क्रियाकलाप सदा उद्देश्यमूलक हुन्छ। मानव-इतिहासको आरम्भमा हाम्रा पूर्वजहरूलाई केवल लिंग तथा उमेरअनुसार श्रम-विभाजनको ज्ञान मात्र थियो, तर पनि त्यो उद्देश्यमूलक हुन्थ्यो। त्यस बेला न त कुनै विशेष सैद्धान्तिक क्रियाकलाप थियो र न सिद्धान्त नै थियो।

कृषि तथा पशुपालनमा सामाजिक श्रम-विभाजनले यस्तो उत्पादक श्रमको उत्पत्तिको मार्ग प्रशस्त गर्‍यो, जसले पहिलो पटक उत्पादनका साधनहरूको उत्पादन (उदाहरणको लागि, खेतीको लागि जमिनको खनजोत र रोपाई) लाई उपभोगका साधनहरूको उत्पादन (वाली उठाउनु, गोदाममा भर्नु तथा प्रशोधन) बाट पृथक गर्‍यो। यो श्रम-विभाजनको फलस्वरूप मानसिक श्रम शारीरिक श्रमबाट पृथक भयो तथा समाजको वर्गीय श्रेणीकरण भयो। यसको साथसाथै सिद्धान्त तथा व्यवहारको उत्पत्ति र पृथक्करणका पूर्वाधारहरूको निर्माण भयो। उत्पादनका साधनहरूको उत्पादनले प्रत्यक्ष जीवन्त आवश्यकताहरूको पूर्ति गर्दैन। त्यसले अन्तिम सामाजिक उद्देश्यहरूको सिद्धिको आधारको काम गर्दछ, जबकि त्यसका आफ्ना उद्देश्यले श्रमको संगठन तथा प्रबन्धको अपेक्षा गर्दछन्।

उदाहरणको लागि, बाँझो जमिनमा भावी कार्यको नियोजनको अर्थ त्यसको यथार्थतामा अझैसम्म अस्तित्वहीन सीमाहरूलाई देख्नु, जमिनलाई बाँझो जमिनबाट मनमा अलग गर्नु हो। यसरी सामाजिक श्रम-विभाजनमा एउटा यस्तो क्रियाकलाप पृथक भयो, जसले समाजको वर्गीय विभाजनका अवस्थाहरूमा वस्तुहरूका उद्देश्यमूलक परिवर्तनहरूका उपायहरू र साधनहरूबाट काम लिन्छ, भौतिक व्यावहारिक क्रियाकलापबाट पृथक भएर एउटा विशेष प्रकारको आत्मिक उत्पादनमा परिणत हुन्छ, जहाँ मानसिक प्रभुत्वशाली हुन्छ। श्रमको मानसिक तथा शारीरिक श्रममा विभाजनसँग सिद्धान्तको व्यवहारबाट वास्तविक विभाजन, सामाजिक क्रियाकलापका अपेक्षाकृत स्वतन्त्र क्षेत्रहरूमा तिनीहरूको रूपान्तरण भयो।

क्रियाकलापका अपेक्षाकृत स्वतन्त्र क्षेत्रको रूपमा विशुद्ध सिद्धान्तको विकास मानव जातिको इतिहासमा सबभन्दा ठूला छलांगहरु मध्ये एक थियो, जसले मानिसहरूको लागि प्राकृतिक परिघटनाहरूको सारमा गहिरोसम्म पुग्न, जगतको निरन्तर विकसित हुने वैज्ञानिक चित्र तयार गर्न सम्भव बनायो। अर्कोतिर, सिद्धान्त तथा व्यवहारको एकता त्यति सुस्पष्ट रहेन। यस आधारमा र व्यष्टिवादी विश्वदृष्टिकोणको साथसाथै, जुन निजी स्वामित्व प्रमुख भएका समाजहरूको विशेषता हो, विभिन्न भ्रमहरूले जन्म लिए : सिद्धान्तलाई कुनै सिद्धान्तवादीद्वारा परिवेशको निजी निष्क्रिय चिन्तनको परिणाम मान्नेदेखि लिएर आदर्शवादी दार्शनिक प्रणालीहरूसम्म, जसले सैद्धान्तिक चेतना (विचारहरू) लाई यथार्थको स्रष्टा मान्दछन्।

उत्पादनको पूँजीवादी विधिले, जसले श्रमको समाजीकरण गर्‍यो र उत्पादक शक्तिहरूको अभूतपूर्व परिमाणमा विकास गर्‍यो, सिद्धान्तको व्यवहारबाट पृथकतामाथि नियन्त्रण प्राप्त गर्नको लागि वस्तुगत पूर्वाधारहरूको निर्माण गर्दछ। सिद्धान्तको भूमिका केवल उत्पादनको प्रक्रियामा मात्र बढी रहँदैन। बुर्जुवा व्यवस्थाको उन्मूलनतिर लक्षित जनताको व्यावहारिक गतिशीलता प्रगतिशील, मार्क्सवादी सिद्धान्तसँग संयोजित भइरहेको छ, जसले समाजका वस्तुगत नियमहरू उद्घाटित गर्दछ तथा सर्वहारा पार्टीका सम्पूर्ण क्रियाकलापलाई वैज्ञानिक ढंगले ज्ञात लक्ष्यतिर, साम्यवादतिर निर्देशित गर्दछ। सिद्धान्त तथा व्यवहारको पृथकीकरण तथा एक-अर्कोको विरुद्धमा स्थापनाका वस्तुगत अवस्थाहरू श्रमको मुक्ति, वर्गीय अन्तर्विरोधहरूको उन्मूलन, मानसिक तथा शारीरिक श्रमको बीचमा विरोधको अन्तसँगै लोप हुन्छन्। सिद्धान्त तथा व्यवहारको बीचमा अविभाज्य सम्बन्धबिना, जनताको व्यावहारिक अनुभवको निरन्तर सैद्धान्तिक सामान्यीकरणबिना, प्रगतिशील वैज्ञानिक सिद्धान्तको व्यवहारमा कार्यान्वयनबिना समाजवाद तथा साम्यवादको निर्माण गर्न सम्भव छैन।

-रमेश सुनुवारको दर्शन विश्वकोशबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्