निर्वाचन आयोगद्वारा स्थानीय तहको चुनाव एकै चरणमा गर्न प्रस्ताव

Election Commission
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगसँग छलफल गरेका छन्। आसन्न निर्वाचनका मिति र पूर्वतयारीका विषयमा छलफल गर्न निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियासहित पदाधिकारीहरु बालुवाटार पुगेका थिए। सो क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनलाई स्वच्छ, पारदर्शी र शान्तिपूर्णरुपमा सम्पन्न गर्ने गरी तयारी अघि बढाउन आग्रह गरे।

भेटमा राष्ट्रिय सभा सदस्यको निर्वाचन तथा प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका विषयमा छलफल भएको आयोगका प्रमुख आयुक्त थपलियाले जानकारी दिए। उनले आयोगका तर्फबाट आफूहरुले माघको पहिलो साताभित्र राष्ट्रिय सभाको निर्वाचन गर्ने प्रस्ताव गरेको बताए।

त्यस्तै, प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका विषयमा समेत छलफल भएको आयोगले जनाएको छ। हाल प्रतिनिधिसभाका ४ र प्रदेशसभाका १८ पद रिक्त छन्। छलफलमा ती पदमा उपनिर्वाचन गर्ने विषयमा समेत छलफल भएको प्रमुख आयुक्त थपलियाले जानकारी दिए।

त्यस्तै, आयोगले आगामी वैशाखभित्र गर्नुपर्ने स्थानीय तहको निर्वाचन एकै चरणमा गर्न प्रस्ताव गरेको छ। अघिल्लो पटक स्थानीय तहको चुनाव तीन चरणमा भएको थियो। त्यस्तै, आयोगले सातै प्रदेश र प्रतिनिधिसभाको चुनाव पनि एकैदिन गर्न प्रस्ताव गरेको छ।

आयोगका पदाधिकारीहरुले निर्वाचन सम्बन्धी कानुनहरुको संशोधन र सुधार गरी एकीकृत निर्वाचन कानुन बनाउने विषयमा समेत सरकारलाई आग्रह गरेका छन्। आसन्न निर्वाचनहरुका लागि मतदाता नामावलीलाई अद्यावधिक गर्ने विषयमा समेत छलफल भएको छ।

छलफलमा गृहमन्त्री बालकृष्ण खाँण, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जामन्त्री पम्फा भुसाल र कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु समेत सहभागी थिए।