कम्युनिष्ट आन्दोलनमा बारम्बार विभाजन आउनुका १५ कारण

Communist
लोकपाटी न्यूज

 कम्युनिष्ट आन्दोलनको बिखराबका परिघटनाहरू नेपालमा मात्र देखिएका होइनन्, यो विश्वकम्युनिष्ट आन्दोलनमा सर्वत्र देखिएको परिदृश्य हो। त्यसमा पनि गत शताब्दीको साठीको दशकमा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको विभाजनपछि यसले विश्वव्यापी रूपमा वैचारिक खेमागत विभाजनको रूप लिन पुग्यो। यस्तो अवस्था आज पनि विद्यमान छ। तर, यहाँ यो सम्पूर्ण पक्षमा नभई नेपालको कम्युनिष्ट आन्दोलनको पक्षलाई मात्र छोटकरीमा हेर्न खोजिएको हो। यसमा केही विश्वव्यापी रूपमा देखिने साझा चरित्रका कारण छन् भने केही नेपालको विशिष्ट सामाजिक राजनैतिक अवस्था, नेतृत्वको चरित्र र व्यवहार तथा वैचारिक अस्पष्टताले जन्माएका कारण पनि छन्।

नेपालमा कम्युनिष्ट पार्टीहरूका विभाजनका कारण केलाउने हो भने नेपाल कम्युनिष्ट पार्टीको जन्मदेखि आजसम्मका फुट र विभाजनको कारण सैद्धान्तिक भन्दा असैद्धान्तिक, अराजनैतिक र व्यक्तिवादी कारण बढी देखिन्छन्। यो विभाजन मातृपार्टीभन्दा प्रमुख रूपमा प्रथम विभाजन पछिको पुष्पलाल खेमा र त्यसपछि जन्मेका माओवादी गुटहरूमा निरन्तर भएको छ। एउटै माओवादी सिद्धान्त तथा नौलो जनवादको लक्ष्य लिएकाहरूबीचको असैद्धान्तिक र अराजनैतिक विभाजन, विद्वेष र पारस्परिक द्वन्द्वका यावत घटनाको लेखाजोखा गर्ने हो भने यसको लामो फेहरिस्त हुने छ। जुन कुरा न यहाँ सम्भव छ, न आवश्यक। म यहाँ वि.सं. ०१९ को पहिलो विभाजनभन्दा पहिले संयुक्त पार्टी र ‘बनारसको तेस्रो महाधिवेशन’ पछि पुष्पलाल, तुलसीलाल, हिकमत सिंह आदिको अल्पमत समूहको खेमा र दोस्रो महाधिवेशनबाट निर्वाचित महासचिव केशरजंग रायमाझीको नेतृत्वको बहुमत मातृपार्टीलाई केन्द्रबिन्दुमा राखेर यस बिखराब र विभाजनका केही प्रवृत्ति र कारण तथा परिणामबारेमा आफ्नो जानकारीमा आएका, देखेका र भोगेका केही बुँदाहरूको सामान्य उल्लेख गर्न चाहन्छु। यसको पनि विस्तारित विवेचना आफैमा एउटा स्वतन्त्र सिंगो विषय र ग्रन्थ हुनु सक्दछ। विभाजनका कारणहरूलाई मोटामोटी रूपमा निम्न आधारमा हेर्न सकिन्छ :

१. यस देशका कम्युनिष्टहरू सधैं, सैद्धान्तिक रूपमा वर्गीय संघर्ष भनिए पनि, व्यवहारमा राजनैतिक लडाइ लड्दै आएका हुन्। त्यसकारण यस बिखराबको कारण वर्गीय आन्दोलनको रणनीतिभन्दा पनि तात्कालिक कार्यनीति र राजनैतिक प्रश्नहरूमा खोज्नु सान्दर्भिक हुनेछ। यस दृष्टिकोणबाट हेर्ने हो भने वि.सं. ०१९ सालको प्रथम विभाजन र त्यसपछि, विशेष गरी माओवादी खेमाको विभाजन र बिखराबको कुनै पनि घटनाका पछाडि प्रमुख कारण आधारभूत रूपमा मार्क्सवादी चिन्तन, माओवादी विचारधारा, दीर्घकालीन लक्ष्य र रणनीति तथा आधारभूत सैद्धान्तिक भिन्नताभन्दा नेतृत्व वर्गले कम्युनिष्ट राजनीतिलाई हेर्ने र बुझ्ने अ-वस्तुवादी मनोगत गलत दृष्टिकोण, नेतृत्व जमातमा रहेको गैर-वर्गीय चरित्र र व्यवहार, निम्न पूँजीवादी चिन्तन र सामन्ती संस्कार, आफू क्रान्तिको नायक बन्नु पर्ने महत्त्वाकांक्षा, नेतृत्वको भोक, उपभोक्तावादी चरित्रको कारण जन्मिने स्पर्धा, अविश्वास, असन्तुष्टि र विद्वेष रहेको देखिन्छ। यद्यपि तत्कालीन अवस्थाका केही मुद्दाहरूको पछाडि तात्कालिक कार्यनीतिक प्रश्नमा देखिएको भिन्नता भन्नु सकिने अवस्था हुन सक्छन्। तर, यत्तिकै आधारमा विभाजन र विद्वेषलाई सैद्धान्तिक लेप लगाएर चोख्याउनु मिल्दैन। फुटपछि आफूलाई सच्चा मार्क्सवादी-लेनिनवादी वा माओका अनुयायी प्रमाणित गर्न एकले अर्कालाई गद्दार, संशोधनवादी, नवसंशोधनवाद, राजापरस्त आदि इत्यादि भन्ने गरेका हुन्। तर, सारमा सबैको पछाडि उही निम्नपूँजीवादी अहंकार र सामन्ती संस्कारका प्रवृत्ति प्रमुख कारण रहेका छन्। समयले यही प्रमाणित गरेको छ। यसका साथै सन् ६० का दशकको दौरान दक्षिण एसियामा कम्युनिष्टकै नाममा तथा कम्युनिष्ट क्रान्तिकारिताको आडम्बर र माओका सच्चा अनुयायीको नाममा सी.आइ.एद्वारा आन्दोलनभित्र गरिएको व्यापक तोडफोड पनि एउटा कारण रहेको हो जुन विषयमा सी. आई. ए.कै पूर्व अधिकारीहरूले लेखिसकेका छन्।

२. नेपाल कम्युनिष्ट पार्टी जन्मेको दुई वर्ष नबित्दै पार्टीमा विभाजनको बीजारोपण जनकपुरको बटेश्वर बैठकबाट गरियो। यसको प्रमुखकारण कुनै सुधार गर्न नसकिने सैद्धान्तिक वा कार्यनीतिक भिन्नताभन्दा पनि नेतृत्वको भोक र सामन्ती संस्कारजन्य व्यक्तिवाद बढी हाबी रहेको देखिन्छ। त्यस्तै कुरा स्व. पुष्पलाले पार्टी गठनको घोषण गर्दा अपनाएको दृष्टिकोणमा पनि देखिन्छ। जहाँ उनले भारतमा अध्ययनरत र कम्युनिष्ट राजनीतिमा सक्रिय युवाहरूलाई समेटी पार्टीलाई बढी व्यापक धरातल दिनको साटो गोप्य रूपमा आफ्ना निकट परिचित तथा एउटै जाति समूहका व्यक्तिहरू लिएर पार्टी गठनको घोषण गर्नु भयो। जबकी परिस्थितिले पछि तिनलाई छोडी अन्यलाई समेटी पार्टीको घोषण गर्नु पर्‍यो। यस यथार्थबाट यो भन्न सकिन्छ कि पार्टीको जन्म नै अविश्वासको वातावरणमा भएको थियो। हाम्रो कम्युनिष्ट आन्दोलनमा प्रथम फुटको कारण अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा भएको फुट थिएन। सही अर्थमा भन्ने हो भने अन्तर्राष्ट्रिय विभाजन पूर्व वि.सं. २००८ सालदेखि नै पार्टीमा चिरा परिसकेको थियो। त्यसपछि वि.सं. ०१९ सालसम्मको अवधिमा पार्टी यो अथवा त्यो खेमागत रूपमा विभाजित अवस्थामा थिएन। तर, आन्तरिक संघर्ष तथा पारस्परिक वैमनस्यको अवस्थाबाट गुज्रिरहेको अवस्था थियो। त्यस दौरान अनेकौं पटक रायमाझीलाई आलोचनाको कठघरामा उभ्याइयो र निष्कासन गर्ने प्रयास गरिए। जसको अन्तिम कडी दरभंगा प्लेनम थियो र त्यहाँ यो काम रायमाझीको अनुपस्थितिमा गर्ने प्रयास गरिएको थियो। त्यो पनि असफल भएपछि पार्टी विधान विपरीत तलबाट बोलाएको महाधिवेशनको नाममा पार्टी विभाजन गरियो। तर, त्यहाँ पनि पुष्पलाल महासचिव पदमा पुनः पराजित भएपछि टुटफुटको शृंखला नयाँ चरणमा प्रवेश गर्‍यो। यो स्पष्ट रूपमा व्यक्तिवादी टकराब थियो। किनकि सैद्धान्तिक वा कार्यनीतिक प्रश्नलाई लिए पहिलो फुट भएको कुरा न बनारस सम्मेलनले पारित गरेको दस्ताबेजले प्रमाणित गर्‍यो न समयले नै यसको औचित्य प्रमाणित गर्‍यो।

३. नेतृत्वका कमीकमजोरी, वैचारिक अस्पष्टता तथा मनोविज्ञान पनि विवाद र बिखराबको कारण बनेका छन्। नेपाली कम्युनिष्ट आन्दोलनको विगत सात दशक लामो इतिहासलाई केलाउने हो भने यो आन्दोलन वैचारिक अस्पष्टता, अरूको नकल, व्यक्तिवाद, निम्नपूँजीवादी क्रान्तिकारिता, अवसरवाद जस्ता दोषहरूले भरिपूर्ण देखिन्छ। निश्चय नै सात सालको क्रान्तिले जहानियाँ एकतन्त्रीय सामन्ती राज्यसत्तालाई समाप्त गरी पूँजीवादी प्रजातन्त्रका नागरिक अधिकार स्थापना गरेको थियो। यसले स्वाभाविक रूपमा सामन्ती अर्थतन्त्रको तहगत शोषणमा जकडिएको आर्थिक संरचना समाप्त हुने र पूँजीवादी आर्थिक सम्बन्धहरूको विकासको बाटो प्रशस्त हुने अवस्था सृजना गरेको थियो। तर, सामन्तवादको अन्त गरेको थिएन। बल्की यस क्रान्तिले राणाहरूको सामन्तवादी एकतन्त्रीय पारिवारिक निरंकुश सत्ता समाप्त गरी श्री ५ को अधिनायकत्वमा पूँजीवादी प्रजातान्त्रिक प्रणाली स्थापन गर्ने सीमित लक्ष्य मात्र प्राप्त गरेको थियो। यस क्रान्तिमा नत युरोपका सामन्तवाद विरोधी पूँजीवादी क्रान्तिहरूमा जस्तो पूँजीपति वर्ग र श्रमिक वर्ग वर्गीय आधारमा संयुक्त संघर्षमा ओर्लिएको अवस्था थियो न तिनले एकलौटी रूपमा क्रान्तिको नेतृत्व नै गरेका थिए। क्रान्तिको नेतृत्व गरेको काँग्रेस क्रान्तिमा संलग्न शासक वंशका विद्रोही राणाहरूदेखि सामन्ती घरानियाँहरू, ग्रामीण तथा शहरिया उच्च मध्यम वर्ग, धनी किसान, सामन्ती संस्कार चिन्तन र मनोविज्ञानबाट मुक्त नभइसकेका राणा विरोधी क्रान्तिकारीहरूको मिश्रण थियो। जसको नीति तथा लक्ष राजासहित सामन्ती व्यवस्थाको अन्त गर्नु थिएन, बल्की राजा सहितको संसदीय प्रजातान्त्रिक परिपाटी कायम गर्नु थियो। यस अवस्थामा सात सालको क्रान्तिपछिको अवस्थामा आफ्नो लक्ष्य उन्मुख रणनीति र कार्यनीति के हुने भन्ने सैद्धान्तिक प्रश्न हल नगरी मनोगत चाहना र क्रान्तिकारी हतारोमा संघर्षको परिचालन गर्ने सोच र अवस्था सापेक्ष कार्यनीति तय गरी अगाडि बढ्न पर्छ भन्ने सोचबीचको अन्तर्विरोध पनि विवादको एउटा मुख्य कारण रहेको हो। यस चरणमा आफ्नो यथार्थमा आधारित मौलिक कार्यनीति, क्रान्तिको चरण र अवस्थाको निर्क्योल गर्नमा पार्टी असफल रहेको हो। यसको कारणमा नेतृत्व वर्गको पृष्ठभूमि, वर्गीयता र वर्गीय चरित्र तथा मार्क्सवादको सम्यक ज्ञानको कमी आदि रहेका हुन र व्यक्तिवाद अन्तर संघर्षका कारण बनेका हुन्।

४. माथि नै भनियो नेपालको कम्युनिष्ट आन्दोलनको जन्म मजदुर वर्गको दीर्घकालीन वर्ग संघर्षको परिणाम थिएन। त्यस्तै पार्टी संगठन गर्दा पार्टीले घोषणा गरेको नीति तथा कार्यक्रम पनि देशको सामाजिक-आर्थिक संरचना विरुद्ध मजदुर वर्ग र पूँजीपति वर्गबीचको तीव्र तथा शत्रुतापूर्ण वर्ग संघर्षले उपस्थित गरेको मागको परिणाम थिएन। त्यस चरणमा एकतर्फ यहाँ वर्गको रूपमा औद्योगिक सर्वहारा मात्र होइन समष्टिगत रूपमा श्रमिक वर्गलाई लिँदासमेत त्यो वर्गीय आधारमा संगठित भइसकेको अवस्था थिएन, अर्कोतर्फ औद्योगिक पूँजीपति वर्ग पनि मानसिक रूपले एउटा नवोदित पूँजीवाद पक्षधर सामाजिक वर्गको रूपमा अगाडि आउने क्रममा भए पनि स्वतन्त्र सामाजिक वर्गको रूपमा आइसकेको थिएन। सामाजिक-आर्थिकका संरचनाको पक्षबाट हेर्ने हो भने सामन्तवादी आर्थिक संरचना पूँजीवादी उत्पादन प्रणाली र उत्पादन सम्बन्धहरूको स्थापनाको मार्गमा बाधकको रूपमा रहेको भए पनि त्यसविरुद्ध तीव्र वर्ग संघर्षको अवस्था थिएन। पूँजीवादको मार्ग प्रशस्त गर्न सामन्ती संरचनाको निषेध गर्नु त्यस चरणमा पूँजीवादी प्रजातान्त्रिक क्रान्तिको मुख्य कार्यभार थियो। यी सबको सम्यक अध्ययन र विश्लेषण बिना नै क्रान्तिकारी जोस र बाहिरी प्रभावको अन्ध अनुकरण गर्दै पार्टी अवस्तुवादी कार्यनीति र रणनीति लिन पुग्यो, जसले गर्दा बेलाबेलामा अन्तरद्वन्द्वको अवस्था रहेको हो। तुरुन्त परिवर्तनको चाहना, असामयिक क्रान्तिकारिताको प्रदर्शन र माथि उठ्ने तीव्र महत्त्वाकांक्षा निम्न पूँजीवादी मनोवृत्तिका चारित्रिक विशेषता हुन्। व्यक्तिवाद, मनोगत क्रान्तिकारिता, मपाइवाद, जस्ता चरित्र र व्यवहार कम्युनिष्ट आन्दोलनका लागि धातक हुन्। यहाँको कम्युनिष्ट आन्दोलन सधैं यसको सिकार रहेको हो। यथार्थतासँग मेल नखाने नीति, व्यवहार तथा व्यक्तिको चाहनाले नत इतिहास मोड्न सकिन्छ न क्रान्तिकारी फड्को मार्न सकिन्छ। कहिलेकाहीँ क्रान्तिको चरित्र र चरणप्रतिको गलत समझदारी पनि पारस्परिक द्वन्द्व र फुटको कारण बनेका छन्। यो अवस्था आज पनि विद्यमान छ। सामन्ती संस्कारमा हुर्केको, पलेबढेको मध्यम वर्गीय नेतृत्व, वर्ग सचेत संगठित मजदुर वर्गको अनुपस्थिति, नेतृत्वको व्यक्तिवादी चरित्र र वैचारिक अस्थिरता, चारित्रिक कमजोरी, अवसरवाद आदि फुटवादी रोगको प्रमुख कारण रहेका हुन्।

५. माओत्से तुंगले चीनको सन्दर्भमा र तत्कालीन विश्व अवस्थामा अगाडि सारेको कार्यक्रम, कार्यनीति, रणनीति, राजनैतिक नारा र राजनैतिक-आर्थिक विश्लेषण- जस्तै नयाँ जनवाद, सर्वहारा वर्गको नेतृत्वमा पूँजीवादी-जनवादी क्रान्ति, देशको अर्ध-औपनिवेशिक अवस्था, दीर्घकालीन सशस्त्र किसान क्रान्ति, मुक्त क्षेत्र, आदि इत्यादि, जस्ताको त्यस्तै नक्कल गरिएका कुरा जनताले बुझ्न सक्ने अवस्था थिएनन्। तर, यिनै मुद्दाहरूलाई मनोगत रूपले फुटको आधार बनाइयो। फलस्वरूप क्रान्तिकारी लम्फाजीको आधारमा माथिबाट फुट गरिए पनि व्यवहार मा जगबाट वर्ग संघर्ष उठ सकेन। पुटवादी हरूले ‘प्रत्येक वर्ग संघर्ष राजनैतिक संघर्ष हो’ भन्ने लेनिनको भनाई र वर्ग संघर्ष र राजनैतिक संघर्ष बिचका अन्तरसम्बन्धहरू बुझ्न सकेन। क्रान्तिकारिता देखाउन मार्क्सवाद र सर्वहारा क्रान्तिको शब्दावली त दोहोर्‍याइयो र त्यस वर्गको नाममा राजनीति पनि गरियो। तर, मानसिक र चारित्रिक रूपले आफूलाई श्रमिक वर्गको अंग र त्यसको नेतृत्वदायी दस्ताको रूपमा स्थापित गर्न सकेन। यी सब कारणले गर्दा आज झण्डै सात दशकपछि पनि नेपालको कम्युनिष्ट आन्दोलन मार्क्सवाद र सर्वहारा वर्गको नाममा संगठित मध्यम वर्गीय कोरा राजनैतिक आन्दोलनकै रूपमा देखा परेको छ। समष्टिगत रूपमा यो आन्दोलन वर्गीय आन्दोलन र श्रमिक वर्गको अभिन्न अंगका रूपमा स्थापित हुन सकेको छैन।

६. कम्युनिष्ट पार्टीको नेतृत्व वा सदस्य कुन परिवार, जात वा समुदायमा जन्मिएको हो भन्ने कुरा प्रमुख होइन। प्रमुख कुरा हो, उसले आफ्नो राजनैतिक जीवन र क्रियाकलापहरूमा उसले चिन्तन, व्यवहार, चरित्र र नैतिकताको दृष्टिकोणबाट आफूलाई ‘मनसा-वाचा-कर्मणा’ श्रमिक वर्गसँग एकाकार गर्न सकेको छ कि छैन। यस पक्षबाट हेर्ने हो भने अरूलाई विशुद्ध माओवादी, सच्चा मार्क्स र सर्वहारा वर्गको हितैषी नभएको भनी पार्टी फोड्नेहरूमा, आन्दोलनको शुद्धीकरण गर्नुभन्दा वैचारिक, व्यवहारिक, नैतिक तथा सैद्धान्तिक स्खलन नै भएको देखियो र कम्युनिष्ट पार्टीलाई निजी स्वार्थपूर्ति र सम्पत्ति आर्जनका लागि राजनैतिक भर्‍याङ बनाउने प्रवृत्ति नै देखा पर्दछ। यी मनोवृत्ति तथा सत्तामा पुग्ने भर्‍यांको निर्माण गर्ने उद्देश्य पनि फुट र बिखराबको कारण रहेको छ।

७. पार्टी गठनको दौरान सोभियत पार्टीको भन्दा चिनियाँ क्रान्तिको प्रभाव हाम्रो कम्युनिष्ट आन्दोलनमा बढी परेको हो र यो स्वाभाविक पनि थियो। यसका साथै विश्व कम्युनिष्ट आन्दोलनको महाविभाजन पश्चात् यहाँको कम्युनिष्ट आन्दोलन पनि चीन र रसियन दुई खेमामा विभाजित हुन पुग्यो। यो पनि स्वाभाविक नै थियो। तर, यहाँको माओवादी खेमा संघै क्रान्तिकारी रोमाटिसिज्मको सिकार भएर अवस्तुवादी मनोगत क्रान्तिकारिताको सिकार हुँदै क्रान्तिको नायक बन्ने चाहनाबाट डोरिएकाले यस खेमामा धेरै फुट भएका हुन्।

८. क्रान्तिकारीहरू विभिन्न विचारधारा तथा क्रान्तिहरूबाट प्रभावित हुन सक्छन्, त्यसको अनुशरण गर्न सक्छन्। तर, त्यसको नाउँमा, प्रत्येक समाजका आफ्नै विशिष्टता हुन्छन्, प्रत्येक देशमा क्रान्ति आफ्नै राष्ट्रिय विशिष्टता अनुसार सम्पन्न हुन्छ र प्रत्येक क्रान्तिको आफ्नै विशिष्टता हुन्छ भन्ने मार्क्सवाद-लेनिनवादका आधारभूत प्रस्तावनाहरूलाई बिर्सिएर निम्नपूँजीवादी क्रान्तिकारी रोमान्टिसिज्मको भरमा कार्यनीति बनाउन खोज्दा उत्पन्न विवाद पनि विभाजनको कारण रहेका छन्। माओवादी खेमामा विभाजन र बिखराबको कारण पुष्टि गर्न सधैं केही अमूर्त र तत्काल असान्दर्भिक शब्दावलीहरू, जस्तै प्रमुख अन्तर विरोध, प्रमुख वर्ग शत्रु, क्रान्तिको रूप आदि इत्यादिमा मतभित्रको आड लिइयो। यो आफूलाई अर्कोभन्दा बढी श्रेष्ठ देखाउन बहाना मात्र थिए। सारमा नेतृत्वको भोक कारण थियो।

९. यहाँको माओवादी खेमाका केहीले माओत्से तुंगले चीनको सन्दर्भमा अगाडि सारेका नारा र रणनीतिको अन्धाअनुकरण मात्र गरेनन् ‘माओत्से तुंग हाम्रो अध्यक्ष हो’ भन्ने नारा नै आफ्नो नारा बनाउन पुगे। फलस्वरूप कम्युनिष्ट आन्दोलनले यसका भयंकर दुष्परिणाम भोग्नु पर्‍यो। आज पनि हामी मध्ये केही त्यही धङ्धङिमा हिँडिरहेका छन्। विश्वको वर्तमान परिवर्तित अवस्था, मानव समाज विकासको नयाँ ऐतिहासिक चरण र शक्ति सन्तुलनको अवस्था, देशको वस्तुगत यथार्थताको विश्लेषण विना नेपाली माओवादीहरूद्वारा माओवाद र किसान-क्रान्तिको नाउमा दश वर्षको युद्धपछि शान्तिपूर्ण जनआन्दोलनमा फर्किनु परेको बाध्यात्मक अवस्थापछि पनि अझै केही समूह तिनै नाराहरूको माला जपिरहनेलाई आफ्नो सैद्धान्तिक अडानको रूपमा प्रस्तुत गर्दै छन्। यो चिन्तनको दरिद्रता हो। यस्ता प्रवृत्तिहरूबाट पनि कम्युनिष्ट आन्दोलन विभाजित छ।

१०. हाम्रो जस्तो अल्प विकसित देशका कम्युनिष्ट आन्दोलनको विडम्बनापूर्ण अन्तरविरोध के हो भने सत्ता प्राप्त गरे पनि एकतर्फ आफ्नो आर्थिक, प्राविधिक तथा वैज्ञानिक विकासका लागि साम्राज्यवादी देशहरू तथा तिनै शक्तिहरूको अहरन-खटनमा चल्ने अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको सोझो आर्थिक-प्राविधिक सहयोग, ऋण, आदिमा टेक्नु पर्ने वाध्यात्मक अवस्था रहन्छ भने अर्कोतर्फ साम्राज्यवादी नवउपनिवेशवाद सञ्जालबाट आफ्नो सार्वभौमिकता र स्वतन्त्रता जोगाउँदै समाजवादी लक्ष्यतिर अगाडि बढ्न स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्रको निर्माणका आधार तयार गर्न यिनै शक्तिहरूका प्रतिरोधको सामना गर्नुपर्ने अवस्था रहन्छ। यो विरोधाभासपूर्ण अवस्था नै आजको यथार्थ हो। तर, मार्क्सवादलाई जड सूत्रको रूपमा लिने अतिवादी क्रान्तिकारीहरू यस यर्थाथलाई अस्वीकार गर्दै एक्लै हिँड्नु पर्छ भन्ने धारणबाट ग्रसित रहेका हुन् र यस्तो नीति लिनेलाई साम्राज्यवादी दलालको बिल्ला भिडाउँदै आएका हुन्। त्यस कारण नयाँ अवस्थामा निरन्तर आफ्नो लक्ष्यतिर अगाडि बढ्न नयाँ नीति, कार्यक्रम तथा बाटोको खोजीको विषय पनि विभाजन र बिखराबको कारण रहेको छ।

११. अर्को कारण उपरोक्त सैद्धान्तिक र कार्यनीतिहरूका साथै यहाँ मार्क्सवादका शाश्वत अवधारणा तथा मूलभूत प्रस्थापनाहरूको बुझाइको कमजोरी पनि विवादका कारण हुने गरेको हो। जस्तो भनौं ‘निर्माणको लागि विध्वंस’। मार्क्सले पेरिस कम्यूनको विफलतापछि सर्वहारा क्रान्तिको सफलताका लागि पुरानो राज्यसत्ता समाप्त गरी नयाँ निर्माण गर्नुपर्ने अर्थमा यो शब्दावली प्रयोग गरेका थिए। तर, हाम्रा माओवादीहरूले यसलाई पुराना पुल पुलेसादेखि मठमन्दिर पनि भत्काउने अर्थमा लिए र भत्काए। सांस्कृतिक क्रान्तिको सार नयाँ श्रम संस्कृतिको निर्माण गर्ने अर्थमा भनिएको थियो, तर, यहाँ ऐतिहासिक ग्रन्थ र ऐतिहासिक सांस्कृतिक सम्पदालाई विनष्ट गर्न पुगे। आदि-आदि। डेडेरोटले भनेका छन्- सबभन्दा प्रतिघाती कुरा सत्य र झुठको मिश्रण पस्किनु हो। जुन कुरा विगतदेखि आजसम्म नेपालको कम्युनिष्ट आन्दोलन र त्यसको नेतृत्वमा देखा परेको छ। यहाँका ‘मार्क्सवादी’हरू आफ्नो झुठलाई मार्क्सवाद सम्मत देखाउन मार्क्सवादको आड लिन्छन् र सत्यसँग झुठको मिश्रण जनताको अगाडि पस्किन्छन्। यो विडम्बनापूर्ण अवस्था हो। यस प्रवृत्तिसँगको संघर्ष विभाजनको अर्को कारण हो।

१२. यथार्थतासँग मेल नखाने चिन्तन, नीति तथा व्यवहार र मनोगत चिन्तनले क्रान्तिकारी गतिलाई सही दिशा दिन सकिँदैन। नेपाल कम्युनिष्ट आन्दोलनले सात सालदेखि आजसम्मको कालखण्डका हरेक चरणमा, चाहे त्यो सात सालदेखि सत्र सालसम्मको चरण होस् अथवा पञ्चायत विरोधी संघर्षको चरण अथवा वि.सं. ०४६ सालपछिको कालखण्ड र आजको अवस्था, यही गल्ती दोहोर्‍याउँदै आएको छ। क्रान्तिकारी प्रक्रियामा क्रान्तिकारी अवस्थाको क्रमिक विकास तथा क्रान्तिकारी पड्कोको चरणबीचको भिन्नता बुझ्न सक्नु पर्छ। यस पक्षमा यस देशका कम्युनिष्ट आन्दोलनको ठूलो कमजोरी रहेको हो। हजार जनाको जुलुस वा युवाहरूका चर्का नारालाई क्रान्तिकारी अवस्था परिपक्व भैसकेको रूपमा हेर्ने वा कुनै पूर्वाधारको निर्माण वा जनमनोविज्ञानको अवस्था नबुझी आफूलाई सच्चा क्रान्तिकारी देखाउन हतियारबन्द क्रान्तिको नारा दिने, त्यससँग असहमतलाई गद्दार घोषित गर्दै अलग्गिने परम्परा रहेको हो। जुलुस र विरोध हुनु वा चर्का क्रान्तिकारी नारा मात्र क्रान्तिकारी अवस्थाको परिपक्वताका परिचायक होइनन्। यस बुझाइमा सधैं कमजोरी रहेका हुन्।

१३. हाम्रो कम्युनिष्ट आन्दोलनका विभाजनको अर्को कारण के हो भने यसमा विविधतामा एकताको खोजी गर्ने प्रवृत्ति, राष्ट्र, राष्ट्रियता, स्वावलम्बन, समानता र आम जनताको हितका लागि एउटा संयुक्त राष्ट्रिय वाम अभियानको निर्माण गर्न फराकिलो दृष्टिकोण तथा लचिलो व्यवहार र दूरदृष्टि राख्ने प्रवृत्ति छैन। यसको विपरीत आफैमा रमाउने र आफ्नो अहम् र महत्त्वाकांक्षाको पुष्टिका लागि एकता भित्र विविधता जन्माउने प्रवृत्ति हाबी रहँदै आएको छ। यो प्रवृत्ति आज पनि यथावत् रूपमा छ। विगतका टुटफुट कुनै सैद्धान्तिक आधार तथा वस्तुगत अवस्थाले पैदा गरेको थिएनन् भन्ने कुरा कम्युनिष्ट आन्दोलनको इतिहासले प्रमाणित गरिरहेको यथार्थ सबै सामु छ। विभिन्न माओवादी खेमाका विविध फुट, वि.सं.०४६ सालको आन्दोलनपछि वाममोर्चाको विघटन, दश वर्षको युद्धपछि माओवादी केन्द्रको फुट, कम्युनिष्ट सरकारहरूको विघटन आदि अनेकौं घटना यसका उदाहरण हुन्, जुन सामान्य रूपमा सबैले स्पष्ट बुझ्न सक्ने व्यक्तिवादी गुटबन्दीका परिणाम थिए।

१४. समाजवादी क्रान्तिलाई बुझ्ने प्रश्न पनि कम्युनिष्टहरूबीच विभाजन र विवादको एउटा प्रमुख विषय रहेको छ। समाजवादी क्रान्ति समष्टिगत रूपमा वर्गीय सामाजिक संरचना र वर्गीय शोषणयुक्त सामाजिक-आर्थिक सम्बन्धहरूको आधार समाप्त गरी सामाजिक उत्पादन र उपभोग, सामाजिक उत्पादनका साधन श्रोत र राष्ट्रिय सम्पत्तिमाथि साझा स्वामित्व कायम गरी विगतदेखि चल्दै आएको शासक र शासित, शोषक र शोषित, हुने र नहुने विभाजनकारी सामाजिक परिपाटीको समूल अन्त गरी नयाँ राजनैतिक, आर्थिक र वैचारिक आधारमा विगत भन्दा भित्र नयाँ सार सहितको उत्पादन प्रणाली, तथा राजनैतिक परिपाटी स्थापना गर्नु हो। सामाजिक उत्पादन र उपभोगमा सामूहिकता, सामाजिक सम्पत्तिमाथि सामूहिक स्वामित्व, राज्य सञ्चालनमा सामूहिक अधिकार र उत्तरदायित्व, पूर्ण प्रजातान्त्रिक जनसत्ता र न्यायिक समाज, मानवतावाद, विज्ञान, प्रविधि तथा ज्ञान र ज्ञानका स्रोतमाथि सामाजिक स्वामित्व यसको आधारभूत सार्वभौम चरित्र हो। सामाजिक जीवनमा समानता, जनताका आधारभूत आवश्यकताहरूको परिपूर्तिको सुनिश्चितता, राज्यसत्ता सञ्चालनमा श्रमिक जनताको स्वामित्व, प्रत्येकलाई आफ्नो चाहना र क्षमताको विकासका लागि समान अधिकार र अवसरको प्राप्ति, मानव मानवबीचका सबै खाले शोषण र विभेदको अन्त, सबैका लागि स्वास्थ्य, शिक्षा, काम, माम र आराम जस्ता आधारभूत कुराको सुनिश्चितता कायम गर्नु यसको लक्ष हो। सत्ता एक दलीय छ वा बहुदलीय अथवा क्रान्ति कसरी सम्पन्न गरियो र सत्ता कसरी प्राप्त गरियो आदि यसका मूल र सार्वभौम चरित्र होइनन्। समाजवाद र समाजवादी क्रान्तिको सारलाई यिनै आधारभूत पक्षबाट हेर्नु पर्ने हुन्छ। यसका लागि सामाजिक विकासका नियम र परिवर्तनको अपरिहार्यतालाई मध्य नजर राखी देश, काल, परिस्थिति अनुसार लक्ष सापेक्ष आफ्नो बाटो निर्माण गर्नु पर्छ। यो नै व्यवहारिक क्रान्तिकारिताको सार हो। तर, यहाँका धेरैजसो कम्युनिष्ट पार्टीहरूले समाजवादलाई यसको सार र आधारभूत चरित्रको पक्षबाट हेर्नु भन्दा अनिवार्य रूपमा एकल कम्युनिष्ट पार्टी ‘अधिनायकत्व’ काय हुन पर्ने र अझै कतिपयले त कम्युनिष्टहरूले जनयुद्धबाट सत्ता प्राप्त गरेपछि मात्र त्यो विशुद्ध समाजवाद हुने जस्तो जडसूत्रवादी दृष्टिकोणबाट समाजवादलाई परिभाषित गर्ने गरेका छन्। यो गलत र जडसूत्रवादी चिन्तन हो।

१५. सत्ताप्राप्त गर्नु राजनैतिक क्रान्तिको लक्ष्य हो। तर सत्ता प्राप्त गरेपछि त्यसलाई जनसत्तामा परिणीत गर्दै आम श्रमजीवी जनताको हातमा पुर्‍याउने काम कम्युनिष्टको मुख्य काम हो र यो हुनुपर्दछ। जनताको शक्ति र सहभागिताले नै समाजवादको निर्माण र संरक्षण गर्दछ, बन्दुकको शक्तिले होइन। सत्ता बन्दुकको नालबाट मात्र आउँछ भन्ने मिथ्या कथनको खण्डन नेपालमा दश वर्ष जनयुद्ध लडेका माओवादीहरूको असफलता र निर्वाचनको माध्यमबाट सत्तारोहणबाट नै खण्डित भैसकेको सत्य हो। सत्य के हो भने समाजवादी आदर्श तथा ध्येय प्रतिको वचनबद्धताले मात्र क्रान्तिलाई सही दिशा दिन सकिँदैन त्यसका लागि त्यस ध्येय प्रति समर्पित क्रान्तिकारीहरूका सचेत र योजनाबद्ध सक्रिय क्रियाकलापहरू निर्णायक महत्त्व राख्छन्, त्यो हुनु पर्छ। अर्को तर्फ द्वन्द्ववादको चरित्र नबुझेको क्रान्तिकारी जमातले राज्यसत्ता प्राप्त त गर्न सक्दछ तर समाजवादी रूपान्तरणको क्रान्तिकारी कार्यभार पूरा गर्न सक्दैन। यस्तो अवस्थामा प्राप्त गरेको सत्ता कम्युनिष्टहरूको भ्रष्टिकरणको कारण बन्छ र कम्युनिष्ट पार्टी उपभोक्तावादको सिकार बन्छ। यो इतिहासको पाठ हो। एमालेको पहिलो नौ महिने कार्यकाल, प्रचण्ड नेतृत्वको नौ महिने शासनकाल, माधव नेपालको १८ महिने सरकारदेखि प्रचण्डको दोस्रो कार्यकाल सम्म बनेका कम्युनिष्ट नेतृत्वका वा कम्युनिष्टको निर्णायक वर्चस्व रहेका सरकारहरूका क्रियाकलाप र असफलता यसका प्रमाण हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्