सिन्धुपाल्चोकका सात पाालिकामा एमाले अधिवेशन स्थगित

UML
लोकपाटी न्यूज

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको ७ पालिकामा नेकपा एमालेको अधिवेशन स्थगित भएको छ। मुख्य पदाधिकारीहरुमा सहमति हुन नसकेपछि ७ पालिकाको अधिवेशन स्थगित भएको हो।

जुगल, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको अधिवेशन स्थगित भएको हो। तिनै पालिकामा सर्वसम्मत रुपमा सदस्य चयन भएपनि पदाधिकारीमा भने आकांक्षी धेरै भएपछि समस्या भएको एमाले नेता एवं बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए।

यस्तै पाँचपोखरी थाङपाल गाउँपालिकामा अध्यक्षलगायत अन्य पदहरुमा सहमति भएपनि सचिवमा सहमति नभएपछि घोषणा नै नगरी अधिवेशन स्थगित गरिएको छ। त्रिपुरासुन्दरी गाउँपालिकामा भने त्यहाँका पुराना एमाले नेता जगतबहादुर बोहोराको मंगलबार बिहान निधन भएपछि अधिवेशन स्थगित गरिएको छ। भोटेकोशी गाउँपालिकामा केही दिनपछि अधिवेशन हुनेछ भने मेलम्ची नगरपालिकामा कात्तिक १५ गतेका लागि अधिवेशनको मिति तोकिएको एमाले जिल्ला सचिव कमल नेपालले जानकारी दिए।

पाँच पालिकाको मात्रै नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न गरेको हो। केही पालिकाहरुमा उद्घाटन सत्र सम्पन्न भएपनि नेतृत्व चयनमा विवाद भएपछि अधिवेशन नै स्थगित गरिएको छ। बाह्रविसे नगरपालिका, लिसंखुपाखर, सुनकोशी, इन्द्रावती र हेलम्बु गाउँपालिकामा नेतृत्व छनोट भएको छ। लिसंखुपाखर गाउँपालिकामा सदस्य र अन्य पदाधिकारीहरुमा सर्वसम्मत रुपमा नेतृत्व चयन भए पनि अध्यक्षमा भने मतदान भएको थियो।

अध्यक्षमा प्रदिप भण्डारी र कुमार लामाबीच सहमति हुन नसकेपछि मतदान भएको थियो। मतदानमा प्रदिप भण्डारीले १२९ मत ल्याएका थिए भने लामाले जम्मा ९ मत मात्रै ल्याएका थिए। धेरै प्रयास भए पनि सहमति हुन नसकेपछि निर्वाचनको मध्यमबाट नेतृत्व छनोट गरिएको एमाले जिल्ला सचिव कमल नेपालले जानकारी दिए।

बाह्रविसे नगरपालिकामा ज्ञानेन्द्र राउतलाई अध्यक्ष र राजकुमार सुवेदीलाई सचिवमा निर्वाचित गर्दै अधिवेशन सम्पन्न भएको छ। सहमतिमा नै नेतृत्व छनोट गरिएको एमाले नेता एवं बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए।

त्यस्तै सुनकोशी गाउँपालिकामा अध्यक्ष प्रेमलाल लामा र सचिवमा रामहरी खड्का निर्विरोध निर्वाचित भएका छन्। इन्द्रावती गाउँपालिकामा शशीनाथ आचार्य अध्यक्षमा निर्वाचित भएका छन भने हेलम्बु गाउँपालिकामा बेनबहादुर पण्डित अध्यक्षमा निर्वाचित भएका छन्।