राजीनामा दिने तयारीमा मुख्यमन्त्री शाक्य

लोकपाटी न्यूज

काठमाडाैं। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने तयारी गरेकी छन् । प्रदेशसभामा बहुमत नजुट्ने प्रस्ट भइसकेको अवस्थामा मुख्यमन्त्री शाक्यले राजीनामाको तयारी गरेकी हुन् ।

मुख्यमन्त्री शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि प्रदेशसभाको अघिल्लो बैठकमा छलफल भएको थियो । बुधबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले छलफलमा उठेका प्रश्नका जवाफ दिने कार्यसूची रहेकाे छ।

बुधबार नै प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्तावमा मत विभाजन हुने पनि जनाइएको छ । तर, मुख्यमन्त्री शाक्यले छलफलमा उठेका प्रश्नको जवाफ प्रदेशसभामा दिने र लगत्तै राजीनामासमेत दिने तयारी रहेकाे निकट स्राेतले जनाएकाे छ । यसैबीच, केहीबेर अघि बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश पूर्वाधार स्वास्थ्य प्रवर्द्धन कोभिड १९ पुनर्स्थापनाको कार्यविधि र एक विद्यालय एक नर्स कार्यक्रमको कार्यविधि पारित गरेको छ ।

बैठकले प्रदेश बीउबिजन भण्डारण र प्रशोधन केन्द्र हेटौंडामा स्थापना गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधारमन्त्री केशवराज पाण्डेले जानकारी दिए ।