‘मुद्दा हेर्न छाड्दिनँ, विवादसम्बन्धि मेरा कुरा भोलि राख्छु’

CholendraSamsher_jabara_Rana
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले मुद्दा हेर्न नछाड्ने बताएका छन् । आज पाँचवटा मुद्दाको सुनुवाइ गर्दै आदेशसमेत जारी गरेपछि उनले यस्ताे बताएका हुन्।

मुद्दा सुनुवाइपछि आदेश जारी गरी इजलासबाट उठ्दै प्रधानन्यायाधीश जबराले भने, ‘मुद्दा हेर्न छाड्दिनँ, मेरा कुरा भोलि राख्छु ।’ प्रधानन्यायाधीश राणाले आजलाई ११ इजालास तोकेका थिए। त्यहीमध्ये आफ्नो एकल इजलासबाट उनले उक्त पाँच मुद्दाको आदेश जारी गरेका छन्। ​उनले एउटा मुद्दा तामेलीमा राख्ने आदेश, एउटामा निवेदन फिर्ता, दुइटामा कारण देखाउ आदेश र एउटामा कैफियत प्रतिवेदन माग्ने आदेश गरेका हुन्।

आज सर्वोच्च अदालतका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनका कारण शोकमा रहेकाले अहिले देखिएका विवाद र प्रश्नबारे केही नबोल्ने उनले बताए । प्रधानन्यायाधीश जबराले भने, ‘सर्वोच्चका न्यायाधीशको मृत्युले शोकमा भएकाले आज केही भन्दिनँ, मेरा कुरा सबै भोलि राख्छु।’

प्रधानन्यायाधीश जबराले मार्गप्रशस्त गर्नुपर्ने भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरूले मुद्दाको सुनुवाइ बहिष्कार गरेका छन् । दुई दिनदेखि सर्वोच्चमा मुद्दाहरु सुनुवाइ हुन सकेको छैन । बुधबार प्रधानन्यायाधीश जबराले पाँचवटा मुद्दाको सुनुवाइ गरेर आदेश दिँदै भोलि पनि निरन्तर मुद्दाको सुनुवाइ हुने बताएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्