मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा

  • 14
    Shares
लोकपाटी न्यूज

काठमाडौं। बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् । बुधबार दिउँसो प्रदेशसभाको बैठकलाई सम्बोधन गरेपछि उनले पदबाट राजीनामा दिएकी हुन् ।

शाक्यले प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव टेबुल गरेकी थिइन् । तर, एमालेको पक्षमा सांसद कम भएकाले स्पष्ट अल्पमतमा परेकाले उनले विश्वासको मत नलिई पदबाट राजीनामा दिएकी हुन् ।

उनले छोटो समयमा आफूलाई केही उपलब्धिमूलक काम गर्न सबै पक्षबाट सहयोग भएको भन्दै सबैलाई धन्यवादसमेत व्यक्त गरिन्। प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुनु अघि उनले राजीनामा दिएकी हुन् ।

उनले संस्कारयुक्त बनौँ, आपसी द्वन्द्वलाई कम गरौं भन्ने मनसायले नै आफूले ‘मार्ग प्रशस्त’ गर्ने निर्णय लिएको उनले बताइन् । उनले संविधानको धारा १६९ को उपधारा १ (क) मा भएको व्यवस्था अनुसार आफूले ‘मार्ग प्रशस्त’ गर्ने उनले प्रदेशसभा बैठकलाई जानकारी दिइन् ।

प्रदेशसभामा हाल एमालेका ४३, माओवादी २३ र कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३, विवेकशील साझा दलका तीन, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एक गरी एक सय नौ सांसद छन् ।