यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

लोकपाटी न्यूज
0 Shares

काठमाडाैं। सरकारले महेश्वर काफ्ले र वामदेव अधिकारीलाई उपमहालेखा परीक्षकमा बढुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले महालेखा परीक्षकको कार्यालयमा रिक्त उपमहालेखा परीक्षक राजपत्रांकित विशिष्ट श्रेणीका पदमा काफ्ले र अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

त्यस्तै बैठकले नेपाली सेनाका उपरथी सरोजप्रताप राणालाई रथीमा बढुवा गरेको छ भने प्रधानसेनापति महारथी प्रभुराम शर्मा नेतृत्वको भ्रमण दललाई भारत भ्रमणको स्वीकृति दिने निर्णय पनि गरेको छ ।

त्यस्तै तीन शक्ति राष्ट्रका लागि तीन राजदूत नियुक्ति गर्नका लागि समेत सिफारिस गरेकाे छ। सरकारले डा. शंकर शर्मालाई भारत, ज्ञानचन्द्र आचार्य बेलायत र  श्रीधर खत्रीलाई अमेरिकाको राजदूत नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको हाे।

त्यस्तै सरकारले बेमौसमी बाढी पहिरो पीडितलाई राहत दिने निर्णय समेत गरेको छ । सरकारले धानबालीमा पुगेको क्षतिको मूल्यांकन गरेर राहत वितरण गर्ने निर्णय गरेको हाे। सरकारले बढीमा १० कठ्ठासम्म क्षति पुगेका साना किसानहरुलाई क्षतिको अधिकतम ६५ प्रतिशत, मध्यम अर्थात् ३ विघासम्म क्षति पुगेका किसानहरुलाई क्षतिको २० प्रतिशत र ३ विघाभन्दा माथि क्षति भएका किसानहरुलाई २० प्रतिशत क्षतिपूर्ति दिने निर्णय गरेको छ ।

त्यस्तै ग्लोबल क्लिन टु कोल्ड पावर ट्रान्जेक्सन सम्बन्धी वक्तव्यलाई सहमति जनाइ हस्ताक्षर गर्न सहमति दिने निर्णय पनि बैठकले गरेकाे छ।त्यस्तै बैठकमा सुनकोशी मरिन डाइभर्सन आयोजनाको प्रथम चरणका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय पनि भएकाे छ।