प्रचण्ड विरुद्ध किन भ्रम फिँजाइन्छ ?

Prachanda-3-1000
लोकपाटी न्यूज

पदम भण्डारी/काठमाडाैं। नेपाली समाजमा पहिल्यैदेखि चलिआएको उखान छ, ‘हावा नचली पात हल्लिँदैन । उखानले हल्लाको पछाडि केही न केही वस्तुगत आधार हुन्छ भनेर पुष्टि गरेको छ । तर वस्तुगत आधार नभईकन पनि हल्लाहरु हुँदा रहेछन् र त्यसले झुटको साम्राज्य फैलाउँदो रहेछ भन्ने हामीले देखिरहेका छौं र भोगिरहेका छौं ।

हल्ला भनेको सत्य होइन । एउटा गलत चिन्तन बोकेको शासकको झुटले सत्यलाई कसरी विस्थापन गर्छ भन्ने कुरा र उसका पछाडि दौडेर जयजयकार गर्नेहरुले नेपाली समाजको आधारभूत गलत चरित्र देखाएको छ । यसले के देखाउँछ भने आज पनि नेपाललाई हल्लै हल्लाको देश हो भन्दा कुनै अतिशयोक्ति हुँदैन ।

लेखक : पदम भण्डारी

हल्लाहरुभन्दा तथ्य बलियो हुन्छ, बेईमानी भन्दा ईमान बलियो हुन्छ, अनुशासनहिनता भन्दा योग्यतासहितको अनुशासित बफादारिता नै टिकाउ हुन्छ भन्ने सत्यताको मनन सर्वत्र हुने, निष्ठा सहितको स्वच्छताले मात्रै शिर उठाएर हिँड्न दिन्छ भन्ने सत्य हो । तर कुनै अवस्था यस्तो आउँदोरहेछ की झुटको खेती गर्नेहरु क्षणिक समयको लागि सफल जस्ता देखिँदा रहेछन् । राजनीतिमा यसलाई गोएबल्स शैली भन्ने गरिन्छ । जोशेफ गोएबल्स (सन् १८९७-१९४५) जर्मनीका नाजी नेता एडोल्फ हिटलरका प्रचारमन्त्री थिए । उनले झुटलाई पनि पटक/पटक भन्नुपर्छ, जसले गर्दा त्यो साँचोमा बदलिन्छ भनेका थिए । उनको के मान्यता थियो भने कुनै पनि कुरालाई सयौं चोटी दोहोर्याएर भनियो भने झुट नै भए पनि त्यो सत्य ठहरिन्छ ।

एउटा घटना १९४० नोभेम्बर को हो, हिटलर एउटा समारोहमा आफ्नो भाषणलाई बिचमै रोकेर बाहिरिए । उनी बाहिरिने वित्तिकै उक्त परिसरमा बिष्फोटन भयो । बिष्फोटनमा परेर उनको आफ्नै नाजी पार्टीका समर्थक अनि धेरै कार्यकर्ताहरु मारिए । हिटलरले भने यो घटनालाई यसरी ब्याख्या गर्दै सहानुभूति जताए-“नियतिले मलाई बचायो । शायद ईश्वरको यही इच्छा छ कि म आफ्नो मिशनलाई पूरा गरुँ।” यद्यपि बिष्फोटनको गुरुयोजना हिटलरकै निर्देशनमा तय गरिएको थियो ।

बिष्फोटनबाट आफू बल्ल बल्ल बाँचेको देखाएर जर्मन जनताको सहानुभूति बटुल्ने योजना बमोजिम गरिएको यो षड्यन्त्रलाई प्रचारमन्त्री जोशेफ गोयबल्सले हिटलरलाई देवत्वकरण गर्दै उनले व्यक्त गरेको “नियतिले मलाई बचायो” भन्ने महाबाणीलाई सयौंचोटी आफू नियन्त्रित सञ्चार माध्यममा प्रसारण गरे । नभन्दै त्यो सफल पनि भयो । जर्मनमा हिटलर साँच्चै भगवान नै हुन् कि भन्ने एकखालको भावना जागृत गरायो।

हिटलरका प्रचारमन्त्री गोयबल्सले भनेजस्तै पटकपटक झुट प्रचार गरेर सत्य स्थापित हुने विचारलाई अनुशरण गरेर नेपालमा पनि केही निजी स्वार्थ भएकाहरुको भ्रमपूर्ण प्रचारबाट आफ्नो जित सम्झनेहरुले युग पुरुष पुष्पकमल दाहाल ‘प्रचण्ड’बारे अनावश्यक भ्रमहरु फैलाएर मुतको न्यानो महसुस गरिरहेका छन् ।

नेपाली राजनीतिमा प्रचण्डले कहिले उपलव्धीहरु हासिल गर्न लडे भने कहिले प्राप्त उपलव्धीहरु खतरामा परेको भन्दै उपलव्धी रक्षाका लागि लडाईं लडे । उनको जीवनमा संघर्ष बाहेक अर्को चिज रहेन। प्रचण्डलाई बुझ्न नसक्नेहरु र बुझेर पनि बुझपचाउनेहरुको गोयबल्स शैलीका कारणले पनि उनको जीवन संघर्षपूर्ण रहेको छ।

एउटा प्रसङ्गमा प्रचण्डबारे डा. बाबुराम भट्टराईले भनेका छन्-“वस्तुगत घटनामा हुने विकासको तीब्रता र चेतनाको विकासको गतिमा अन्तरविरोध पैदा गर्छ । जसले वस्तु विकासको गतिसँगै चेतना दौडाउँछ, त्यही अन्तरविरोधको हल गर्ने नेता हुन्छ । त्यो क्षमता प्रचण्डमा छ। प्रचण्ड धर्ती हेरेर हिंड्छन् । म अन्तरिक्ष हेरेर हिंड्छु र भुईंमा लड्छु । क. प्रचण्ड २१औँ शताब्दीका लेनिन हुन् ।”

आमूल परिवर्तनको सपना बोकेर नेपाल कम्युनिष्ट पार्टी माओवादीले हतियार उठाउँदै देखि नेपाली समाजमा प्रचण्डका बारेमा टीका टिप्पणी हुन थालेको थियो । धेरैजसो सकारात्मक टिप्पणी भन्दा नकारात्मक टिप्पणीहरु हुने गर्थ्यो । पछिल्लो समयमा प्रचण्डको बुई चढेर नेपाली राजनीतिमा हैसियत बनाउनेहरु पनि प्रचण्डको नकारात्मक खेदो खन्न पछि परेनन् । त्यसले गर्दा नेपाली समाजले विशेष गरि नयाँ पुस्ताले प्रचण्डलाई नकारात्मक रुपमै बुझ्यो ।

प्रचण्ड एउटा यस्ता पात्र हुन् जस्लाई काँधमा नबोक्दासम्म नेपाली राजनीतिले नयाँ मोड लिँदैन । सत्ता परिवर्तनको खेलका लागि होस् या संविधान निर्माण र संशोधनका मुद्दामा होस्, सदैव प्रचण्डको मूख्य भूमिका रहँदै आयो । प्रचण्डले साथ दिएर हैसियत बनाउनेहरु सकारात्मक जस लिएर हिरो बने तरपनि प्रचण्डले यी सबै कुराको नकारात्मक अपजस मात्र पाए ।

प्रचण्डले कहिले सत्र हजारको हत्यारा हो भन्ने आरोप खेपे त कहिले देश टुक्र्याउने लेण्डुपे हो भन्ने आरोप खेपे । कहिले लम्पसारवादीको आरोप खेपे त कहिले भारतीय दलालको आरोप खेपे । त्यतिमात्र होईन उनलाई कहिले नातावादमा फँसेको आरोप लगाईयो त कहिले अकुत सम्पत्ति कमाएको आरोप लगाईयो । जति आरोप लागेपनि प्रचण्ड कहिल्यै बिचलित भएनन् । प्रचण्ड उही बाटोमा हिंडिरहे जुन बाटो उनैको “प्रचण्डपथ”को नाम दिएर खनिएको थियो । उनको विचार र व्यक्तित्वलाई देखेर सम्पूर्ण देशवासीले प्रचण्डलाई सलाम गरेका छन् । यतिबेला मैले पनि उनलाई मनैदेखि सलाम गरेको छु ।

केही पेशेवर साइबर स्यालहरु आफ्ना हजारौं अपराध, भ्रष्टाचार, ज्यादती र मनपरि अनियमितता ढाकछोप गर्न र अर्काको हुर्मत लिन घुँडा धसेर लागेका छन् । बाहिर एउटा परिचय अनि भित्र छद्म नाम राखेर अनेक भ्रम एवं नियोजित अफवाह फैलाउन त्यो आपराधिक झुण्ड कम्मर कसेर लागेको छ । फटाहा र खुराफाती पितपत्रकारिता गर्ने साईबर स्यालहरुले गरेको तथ्यहीन र तुक नभएको समाचारले सर्व साधारणमा भ्रम सृजना गरेको छ । तिनीहरु प्रचण्डको क्षमतालाई जित्न नसकेर चरित्रहत्या गर्न लागेका छन् । अरु कुनै कमजोरी नभेटेपछि चरित्र हत्या गर्न खोज्छन् पिचाशहरु ।

राम्रो गर्दा राम्रो भन्न सक्ने खुबी नभएका हुतियाराले लेख्ने नै यस्तै बिना आधारको समाचार त हो नि । यस्ता अनलाइनहरुलाई खोजी खोजी कारबाही गर्नुपर्ने हो । भ्रमित र कपोकल्पित समाचार सम्प्रेषण गर्नेहरुलाई कारवाही गर्ने संयन्त्र पनि प्रभावकारी छैन । यस्ता खाले झुट समाचार सम्प्रेषण गरि जनतामा भ्रम छर्ने गिरोहलाई आवश्यक छानबिन गरि कारवाहीको दायरामा ल्याउन संबन्धित पक्षको ध्यानाकर्षण हुनुपर्छ ।

अझै पनि प्रचण्डलाई सिध्याउन पाए हुन्थ्यो भन्ने कैयन् मान्छेहरु छन् । तर पनि यति कुरा ख्याल राखौं, न प्रचण्ड सिद्धिन्छन् न नेपाली राजनीति उल्टो गतितिर फर्किन्छ। प्रचण्डले आफूविरुद्ध फैलाइएका भ्रमहरुबारे त्यति चासो दिँदैनन्, किनकी उनलाई राम्ररी थाहा छ चन्द्रमामा पनि कहिलेकहीँ ग्रहण लाग्छ । नेपाली जनताले अनि मिडियाले चिने पनि-नचिने पनि प्रचण्डजस्तो राष्ट्रिय नेता नेपालीहरुले पाउन गाह्रो छ । प्रचण्डबारे फैलाइएका भ्रमहरुबाट नेपाली राजनीति र समाजलाई मुक्त पार्नु आजको आवश्यकता हाे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्