सङ्कटमा मानव जाति : विनाश रोक्न १० वर्षभन्दा कम समय बाँकी (५ तथ्य)

लोकपाटी न्यूज

एजेन्सी। ग्लासगोमा जलवायु परिवर्तनसम्बन्धी सीओपी काेप–२६ सम्मेलन आइतबारदेखि सुरु भइरहँदा विश्वका नेताहरूसामु मानवसिर्जित तापक्रम वृद्धिबाट हुने भयानक परिणामलाई नियन्त्रण गर्ने अन्तिम अवसर हुनेछ । विभिन्न अध्ययनले मानिससँग जलवायु परिवर्तनको विनाशकारी असरहरू सुरु हुन अब बढीमा ९ वर्षमात्र बाँकी रहेको र त्यसलाई नियन्त्रण गर्न असम्भव हुने बताइरहँदा एकीकृत वैश्विक कदमका लागि समय नै सबैभन्दा महत्त्वपूर्ण कडी रहेको छ ।

‘मानवसिर्जित जलवायु परिवर्तनको असरहरू देखिन सुरु भएका छन् । समयसँगै यसलाई पुनः परिवर्तन गर्न असम्भव हुनेछ र आगामी दशकमा यो झनै भयानक हुँदै जानेछ,’ अमेरिकी स्पेस एजेन्सी ‘नासा’ले भनेको छ । सीओपी–२६ सम्मेलन सुरु भइरहँदा हामीले जलवायुको सङ्कटबारे यी पाँच बुँदा ध्यान दिन जरुरी छ :

‘विनाशकारी’ तापक्रम वृद्धि अहिलेसम्मकै खत्तमः कार्बोनडायोअक्साइड, मिथेन र नाइट्रस अक्साइडजस्ता ग्रिनहाउस ग्यासहरुले तापलाई पृथ्वीको सतहनजिकै अड्काएर राख्छ । यसको मात्रा धेरै भएपछि विश्वको तापक्रम वृद्धि (ग्लोबल वार्मिङ) हुन थाल्छ । सन् २०१५ को ऐतिहासिकपेरिस जलवायु सम्झौतामा विश्वभरका राष्ट्रले तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने प्रतिबद्धता जनाएका थिए । यो तापक्रमलाई सन् १७६० को ताका युरोप र अमेरिकामा औद्योगिक क्रान्ति सुरु हुनभन्दा अघिको समयसँग तुलना गरिएको थियो ।

तर, औद्योगिक क्रान्तिभन्दा अघिको तापक्रमको तुलनामा विश्वको तापक्रम अहिले नै १ डिग्री सेल्सियसले वृद्धि भइसकेको छ । जसको परिणाम मौसमसम्बन्धी प्रकोपहरू रहेका छन् । संयुक्त राष्ट्रसंघका अनुसार तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियभन्दा कम राख्नका लागि विश्वका देशहरूले सन् २०५० सम्ममा ग्यास उत्सर्जनलाई शून्यमा झार्नुपर्नेछ । तर ग्रिनहाउस ग्यासको उत्सर्जनलाई रोक्ने विषय पेरिस सम्झौतापछि नराम्रोसँग बिग्रिएको छ ।

मौसमसम्बन्धी प्रकोपहरूलाई रोक्ने हो भने विश्वभरको ग्रिनहाउस ग्यास उत्सर्जनलाई सन् २०३० भित्र कम्तीमा ४५ प्रतिशतले कम गर्नुपर्ने वैज्ञानिकहरू बताउँछन् । तर, अहिलेको राष्ट्रिय प्रतिबद्धतालाई हेर्दा सन् २०१० को तुलनामा यो सन् २०३० मा १६ प्रतिशतले वृद्धि हुने देखिएको छ ।

१६ प्रतिशतको वृद्धिले यो शताब्दीको अन्त्यसम्म ग्लोबल वार्मिङ २.७ डिग्रीसेल्सियसले वृद्धि हुनेछ । यसको अर्थ अर्बौँ मानिसका लागि पृथ्वीमा जीवन विनाशकारी हुनेछ । अमेरिकासहित धेरै देशले सन् २०५० वा २०६० सम्ममा ग्रिनहाउस ग्यासको उत्सर्जनलाई शून्य बनाउने प्रतिबद्धता जनाएका छन् । तर, गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघले जारी गरेको रिपोर्टले देशहरूको प्रतिबद्धता कमजोर हुँदा यो शताब्दीको अन्त्यमा तापक्रम २.७ डिग्री सेल्सियसले वृद्धि हुने देखाएको थियो ।

यस्तो भयो भने अहिले नै देखिएका बाढी, नियन्त्रणबाहिरका डढेलो र भीषण आँधीबेहरी जस्ता प्रकोपहरूभन्दा अझै खतरनाक परिणाम ल्याउनेछन् । ‘विश्व अहिले २.७ डिग्री तापक्रम बढ्ने विध्वंसकारी पथमा रहेको छ,’ राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भनेका छन् ।

द्रुत कदम बिना डरलाग्दो भविष्यः विश्वभरले मौसमसम्बन्धी प्रकोपहरू झेलेको ठीक एक वर्षपछि सीओपी–२६ बैठक बस्दैछ, जसमा अमेरिका, युरोप र चीनमा भीषण बाढी, ग्रीस र टर्कीमा विनाशकारी डढेलो र समुद्री आँधी छन् । यदि ग्रिनहाउस ग्यासको उत्सर्जनलाई शून्यमा नझार्ने हो भने भविष्य योभन्दा पनि डरलाग्दो हुनसक्छ । विश्व बैंकका अनुसार सन् २०५० सम्ममा २१.६ करोड मानिस आफ्नो थातथलो छाड्न बाध्य हुनेछन् र मौसमसम्बन्धी शरणार्थी करार गरिनेछन् ।

जलस्रोतको कमी सबैभन्दा टड्कारो समस्या बन्ने छ जसले बालीको उत्पादनमा कमी ल्याउनेछ भने समुद्रको जलसतहमा पनि वृद्धि हुनेछ । एक अध्ययनका अनुसार खराब अवस्थामा चेन्नाई, मुम्बई, जकार्ता, ग्वानझाओ, तियान्जिन, हङकङ, होची मिन, सांघाई, लागोस, बैंकक र मनिलाजस्ता धेरै जनसख्या भएका सहरहरू सन् २०५० मा बस्नका लागि अयोग्य बन्ने प्रक्षेपणसमेत गरेको छ ।

बढ्दो तापक्रमले मानिसको जीवनमा कहर बर्साउनेछ । विश्वको ३५ प्रतिशत जमिन र मानिसको बसोबास भएको ५५ प्रतिशत क्षेत्रमा वर्षको २० दिनभन्दा बढी अत्यधिक गर्मीको चपेटामा पर्ने अध्ययनमा भनिएको छ ।

जलवायु अनुकूलन अब अपरिहार्यः ग्रिनहाउस ग्यासको उत्सर्जनमा कमी ल्याउने वैज्ञानिकहरूको दीर्घकालीन लक्ष्य छ । तर, वास्तविकतामा मानिसहरूले अब बदलिँदो विश्वको प्रभावसँग बाँच्न सिक्नुपर्ने देखिएको छ । जलवायु परिवर्तनको असर लामो समयसम्म रहने देखिन्छ र मानिसहरूले योसँग जुझ्न सिक्नुपर्नेछ । मौसमसम्बन्धी प्रकोपबाट समाजलाई बचाउने प्रयास यतिबेला विश्वभर जारी छ । ‘अनुकूलनका प्रक्रियामा बाढी बच्ने व्यवस्था, समुद्री आँधीबारे पूर्व जानकारी, सरकारी नीतिमा परिवर्तनलगायत छन्,’ राष्ट्रसंघको मौसम परिवर्तनसम्बन्धी एजेन्सीले जनाएको छ ।

तर आलोचकहरुले भने यसमा अझै धेरै गर्नुपर्ने बताउँछन् । जलवायु अनुकूलनका लागि हाल १६.७ अर्ब डलर खर्च गरिरहेका छन् जुन अनुमानित ७० अर्ब डलरको सानो हिस्सा मात्र हुन आउँछ । सन् २०३० सम्म यो खर्च बढेर ३०० अर्ब डलर पुग्ने अनुमान गरिएको छ ।

समय द्रुत गतिमा सकिँदैछः वैज्ञानिकहरूले लामो समयदेखि मानिसको गतिविधिले वातावरणमा ग्रिनहाउस ग्यास जम्मा गरिरहेको चेतावनी दिँदै आइरहेका छन् । तर, यसबारे केही वर्ष अघिदेखि मात्र ठोस कदम चाल्न थालिएको हो । अब विश्वको बढ्दो तापक्रमको विनाशकारी परिणामलाई मानिससँग १० वर्षभन्दा पनि कम समयमात्र बाँकी रहेको विश्वका शीर्ष वैज्ञानिकहरूले चेतावनी दिएका छन् । आगामी १० देखि २० वर्ष यस ग्रहमा मानव प्रजातिको अस्तित्वका लागि महत्त्वपूर्ण हुनेछ । ७० देशले सन् २०५० सम्ममा कार्बन तटस्थता हासिल गर्ने प्रतिबद्धता जनाएका छन् । तर विश्वभरको ८० प्रतिशत ग्यास उत्सर्जनमा विश्वका ठूला अर्थतन्त्र जिम्मेवार छन् । र, उनीहरूले यो प्रयासको नेतृत्व गर्नुपर्छ ।

आशाका कारणहरूः मौसमसम्बन्धी आपत्कालको चित्र स्पष्ट भइरहँदा यसका खराब परिणामहरूलाई अझै पनि रोक्न सकिने आशा भने बाँकी नै छ । ‘इन्टरगर्भमेन्टर प्यानल अन क्लाइमेट चेन्ज (आईपीसीसी) ले हालै जारी गरेको रिपोर्ट मानव सभ्यताका लागि ‘खतराको रातो बत्ती’ थियो । तर, यसले पेरिस सम्झौता अनुसार १.५ डिग्रीको लक्ष्य भेट्नका लागि अझै ढिला नै भइनसकेको पनि स्पष्ट पारेको छ । ‘हामीसँग उक्त लक्ष्य भेट्टाउने उपकरणहरू पनि छन् । तर, समय भने द्रुत गतिमा सकिँदैछ,’ गुटेरेसले भने ।

जलवायु कार्य योजनाहरूमा तुरुन्त र कठोर सुधार धेरै देशबाट हुन अत्यन्तै आवश्यक छ । शून्य उत्सर्जनको लक्ष्य भेट्टाउनका लागि ती उपकरणहरू प्रविधिको विकाससँगै सस्तो पनि बनेका छन् । सोलार र विन्ड फार्मजस्ता नवीकरणीय ऊर्जा इन्धनभन्दा सफामात्र होइन, कहिलेकाहीँ सस्तो पनि बनेका छन् । विद्युतीय सवारीसधानको उत्पादन बढाउने योजनाहरु अघि बढाइएको छ । जुन सकारात्मक समाचार हो । ग्रिनहाउस ग्यासलाई घटाउने ‘प्रकृतिमा आधारित समाधान’ हरूलाई बढाउने प्रयास सुरु गरिएको छ । कार्बनलाई नियन्त्रण गर्ने प्रविधि पनि केही ठाउँमा सुरु गरिएको छ भने अन्यमा पनि यो सुरुवात हुँदैछ ।

अब हरित अर्थतन्त्रमा बदल्ने कुरा विश्वभरका नेताहरूले हातमा छ । ‘अब पनि विज्ञानलाई बेवास्ता नगरौँ । विश्वभरका मानिसहरूको मागलाई बेवास्ता नगरौँ,’ गुटेरेसले भने, ‘अब नेताहरूले उभिएर परिणाम दिनुपर्छ नत्र विश्वभरका जनताले दुखद मूल्य चुकाउनुपर्नेछ । स्रोतः अलजिरा

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्