प्रदेश १ : मुख्यमन्त्रीमा दावी पेश गर्न प्रदेश प्रमुखको आह्वान

लोकपाटी न्यूज

काठमाडाैं। प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दावी पेश गर्न दलहरूलाई आह्वान गरेका छन् । उनले मंगलबार दिउँसो १ बजेसम्मको समय दिएर नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि आफ्नो दावी पेश गर्न आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मंगलबार दिनको १ बजेभित्र मुख्यमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि दावी पेश गर्न आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आजै संसदमा बहुमत नपुग्ने निश्चित भएपछि एमालेका मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभामा राजीनामा दिएका थिए । गठबन्धनबाट नयाँ मुख्यमन्त्रीमा राजेन्द्र राई मुख्यमन्त्री बन्ने सम्भावना रहेकाे बुझिएकाे छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्