आजै सानाे आकारकाे मन्त्रिपरिषद् बनाउँदै मुख्यमन्त्री राई, काे-काे बन्दैछन् मन्त्री ?

लोकपाटी न्यूज

काठमाडाैं। एकीकृत समाजवादीका नेता राजेन्द्र राई आज प्रदेश १ सरकारको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८ (२) अनुसार राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

आज दिउँसो १ बजेसम्मका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समयसीमाअनुसार सोमबार नै राईले ४९ जना सांसदको समर्थनसहित आफ्नो दावी पेश गरेका थिए । उक्त समयावधि सकिएसँगै प्रदेश १ को मुख्यमन्त्रीको रुपमा राईलाई नियुक्त गरिएकाे हाे।

यसैबीच मुख्यमन्त्री राईले आजै सानाे आकारमा मन्त्रिपरिषद् बनाउने बुझिएकाे छ। तर पाँच दलीय गठबन्धनबीच मन्त्री छान्न भने सकस भएको छ । बिराटनगरको एक होटलमा मन्त्री छान्ने र मन्त्रालय बाँडफाडका लागि गठबन्धनको छलफल जारी छ ।

गठबन्धनको जारी छलफलमा जनता समाजवादी पार्टीका नेता जयराम यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय दिने सहमति भएको छ। यसबाहेक अरु मन्त्रालयको विषयमा गठबन्धनभित्र सहमति भइनसकेको एक संसादले बताएका छन्।

कांग्रेसबाट केदार कार्कीले भौतिक पूर्वाधार विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय उपनेता हिमाल कार्कीले पाउनुपर्ने अडान कांग्रेसले राखेकाे छ।

यस्तै माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोलाई आर्थिक मामिला मन्त्रालय दिने बिषयमा छलफल भएकाे बुझिएकाे छ।  यसैगरी एकीकृत समाजवादीका प्रदेश सांसद खिनुलङ्बा लिम्बूलाई सामाजिक विकास मन्त्रालय दिने सम्भावना छ ।

पहिलो चरणमा सानो आकारको मन्त्रिमण्डल निर्माणका लागि सहमतिको प्रयास भइरहेको हाे। यसबाहेक मुख्यमन्त्रीसहित नेकपा (एकीकृत समाजवादी) बाट उपेन्द्र घिमिरे र सरिता थापामध्येबाट एकजनालाई मन्त्री बनाउने बुझिएकाे छ।

त्यसैगरी गठबन्धनको ठूलो दल नेपाली कांग्रेसबाट दलका उपनेता हिमाल कार्की, प्रमुख सचेतक केदार कार्की बाहेक शिवनारायण गनगाँई, सुयर्माराज राई र शेखरचन्द्र थापाको नाम पनि मन्त्रीका लागि चर्चामा रहेको छ । यस्तै नेकपा (माओवादी केन्द्र) बाट दलका नेता इन्द्र आङ्बोसहित रामकुमार राई, झलक बहादुर मगर, उमिता विश्वकर्मा र सिता थेबे मध्येबाट मन्त्री हुने चर्चा छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्