सिकाइ चौतारीको शुभारम्भ, कक्षा १ देखि १२ सम्मका पुस्तक अब अनलाइनमै

लोकपाटी न्यूज

काठमाडाैं। कोभिड–१९ को प्रभावलाई मध्यनजर गर्दै सिकाइ चौतारीको शुभारम्भ गरिएको छ । बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले साे चाैतारीकाे शुभारम्भ गरेका हुन्।

कोरोनाका कारण विद्यालय जान नपाएर घरमै भएका विद्यार्थीलाई मध्यनजर गर्दै पढ्न र हेर्न सकिने गरि तयार गरिएको सिकाइ चौतारीको शुभारम्भ गरिएको हाे । शुभारम्भ गर्दै मन्त्री पौडेलले दुरदराजका विद्यार्थीलाई लक्षित गरि कार्यक्रमलाई सहज, सरल ग्रहणशील हुनुपर्ने बताए।  ‘शहरमा प्रविधिको विकास भइसकेको छ,’ मन्त्री पौडेलले भने’, ‘यो गाउँका कुना कन्दराका विद्यार्थीले सहजै चलाउन सकुन् ।’

मन्त्री पौडेलले चौतारीबाट सिकेका कुरालाई परिपक्कताका साथ अगाडि बढाउन थप आकर्षक एवम् पठनशील हुनुपर्नेमा जोड दिए।  उनले भिडियोको प्रस्तुती रोचक र आकर्षक भए मात्रै विद्यार्थी सिकाईका लागि आकर्षक हुने बताए। ‘सबै विद्यार्थीले बुझ्ने सरल, सहज, प्रविधिमैत्री, र ग्रहणशील हुनुप¥यो, यसलाई मध्यनजर गर्दै थप विकसित गर्नुहोस्’ उनले भने।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहयोगमा तयार गरिएको सिकाइ चौतारी पोर्टलमा कक्षा १ देखि १२ कक्षासम्मका पाठ्य पुस्तक पढ्न र हेर्न सकिने बनाइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधकुमारी यादवले कोभिड–१९ का कारण सिकाई केन्द्रको शुरुआत भएकोमा खुसी व्यक्त गरिन्। उनले भनिन् ‘वैकल्पिक शिक्षाको विषयमा यसले काम गर्ने अपेक्षा लिएको छु। विद्यार्थीको थप आकर्षण हुने विश्वास लिएको छु । ’

सिकाई चौतारी चलाउँदा न्युनतम प्रविधिको प्रयोग हुने र यो सबैको पहुँचमा पुर्याउन पोर्टल थप व्यवस्थित बनाउने काम भइरहेको रेडियो इन्जिनियर सन्तकुमार महर्जनले जानकारी दिए। सोही पोर्टलमा कक्षा कोठामा विद्यार्थीलाई खेल खेलाउन सकिने, डिस्नेरीबाट शब्द खोज्न सकिने, गाह्रो विषयलाई भिडियोमार्फत् हेर्न सकिने गरि विकास गरिएको छ ।

इन्जिनियर कविन्द्र मानन्धरले लामो समयको कसरतपछि यो कामले सफलता पाएको बताए । ‘हामीले अमेरिकन नागरिक तथा अन्य विज्ञसँगको छलफल पछि यो पोर्टलको शुभारम्भ गरेको छौं’ यसलाई विकास गरि सबैको पहुँचमा पुर्याउँने हाम्रो लक्ष्य छ ’ उनले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्