भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै

https://lokpati.com/wp-content/uploads/2018/09/narendra-modi.jpg
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपालको भ्रमण गर्ने बताएका छन् । कोप सम्मेलनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताको क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपाल आउने आशय व्यक्त गरेको देउवाले बताए ।

प्रधानमन्त्री देउवाले समकक्षी भारतीय प्रधानमन्त्रीसँग नेपाल भ्रमणबारे कुराकानी भएको र मोदी नेपाल आउन उत्सुक रहेको जानकारी दिए ।उनले भने, ‘मैले भारतीय प्रधानमन्त्रीलाई तपाईँ नेपाल आउनुस् हामी स्वागत गर्छौं भनेँ । नेपालका पशुपतिनाथ, मुक्तिनाथ घुम्न मैले आग्रह गरेँ, धार्मिक क्षेत्रहरुको भ्रमण पनि हुन्छ, आउनुस् भनेर मैले भनेको छु र उहाँले आफू नेपाल आउन तयार रहेको बताउनुभयो, मलाई पनि भारत भ्रमणमा आउनुस् भन्नुभएको छ ।’

प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी)का उपकार्यकारी प्रमुखसँग भएको भेटघाटका क्रममा नेपाल एमसीसीको पक्षमा रहेको र आवश्यक प्रक्रिया पूरा गरेर यसलाई चाँडै टुङगो लगाउने भन्ने विषयमा कुराकानी भएको जानकारी पनि दिए ।

उनले भने, ‘उहाँले एमसीसी कहिले पास हुन्छ भन्नुभएको थियो, मैले भने गठबन्धनसमक्ष छलफल गरेर हामी छिट्टै प्रक्रिया पुर्‍याएर निष्कर्षमा पुग्छौँ भनेको छु ।’