काठमाडाैं। सोभियत संघको अधीनमा रहेको पूर्वी जर्मनीबाट अमेरिकी सम्राज्यवादको प्रभाव रहेको पश्चिम जर्मनीमा मानिसहरुलाई जानबाट रोक्न बनाइएको बर्लिन पर्खाल ढलेको मंगलबार ३२ वर्ष पूरा भएको छ । सन् १९६१ मा निर्मित पर्खाल १९८९ मा भत्काउन थालिएको थियो । १५५ किलोमिटर लामो पर्खाल भत्किएको एक वर्षपछि जर्मनीको एकीकरण भएको थियो । पर्खालको तीन किलोमिटर अंश अझै बाँकी छ ।
दोस्रो विश्वयुद्धको अन्त्यपछि विश्व परस्पर रुपमा दुई धारमा विभाजित थियो । एउटा अमेरिकी नेतृत्वको पूँजीवादी धार र अर्काे तत्कालिन सोभियत संघले नेतृत्व गरेको साम्यवादी धार । सोभियत संघको अधीनमा रहेको पूर्वी भाग सन् १९४९ मा जनवादी गणतन्त्र जर्मनी घोषणा भएको थियो । छुट्टै मुलुक बने पनि प्रशासन, सेना र गुप्तचरका गतिविधि सोभियत संघकै इसारामा चल्ने गर्दथ्याे।
तर, विकासका दृष्टिले पश्चिम जर्मनीभन्दा पूर्वी जर्मनी धेरै पछाडि थियो । त्यसपछि पूर्वी जर्मनीबाट पश्चिमतर्फ बसाईं सर्नेको होड चलेको थियो । पर्खाल बनाउनु अघि ३० लाख मानिस पूर्वबाट पश्चिम जर्मनी पुगेको अनुमान गरिएकाे छ । पश्चिमी जर्मनीको विकासबाट अत्तालिएको पूर्वी जर्मनीले सन् १९६१ बाट सीमा पूर्ण रुपमा बन्द गरी बर्लिनमा पर्खाल लगाउन थालेको थियो । सन् १९६५ देखि १९७५ को बीचमा दुई सहरलाई छुट्टाउन विशाल पर्खाल लगाइयो । १५५ किलोमिटर लामो सो पर्खालको उचाई साढे तीन मिटर रहेकाे थियो ।
पर्खाल लगाएपछि पूर्वबाट पश्चिम सहरमा मानिसहरु जान केही कमी भयो । सन् १९८९ सम्म करिव पाँच हजार जनाले पर्खाल नाघ्ने कोसिस गरेका थिए । नाघ्ने क्रममा २०० जनाको मृत्यु पनि भएको थियो । त्यसपछि पर्खालको चौतर्फी विरोध भयो । पूर्वी जर्मनीका नागरिकहरुले विद्रोह गरे । र, सन् १९८९ को नोभेम्बरमा पूर्वी जर्मनका शासकले पर्खाल भत्काउन बाध्य भएका थिए ।
भनिन्छ, त्याे पर्खाल भत्काउन मात्रै तीन वर्ष लागेको थियो । सन् १९९२ मा पर्खाल पूर्ण रुपमा भत्काइएको थियो । पर्खाल भत्काएको एक वर्षपछि पूर्वी र पश्चिमी जर्मनीको एकीकरण भएर हालको जर्मनी भएको थियो ।