सोभियत समाजवादी प्रणालीले सिकाएका पाठ

lenin_October_Revolution
लोकपाटी न्यूज

 १. समाजवादी आर्थिक प्रणाली एकतर्फ समष्टिगत राष्ट्रिय उत्पादन-उपभोग- सञ्चितिबीच स्पष्ट सन्तुलन र अर्कोतर्फ उद्योग, कृषि आदि यावत उत्पादनका क्षेत्रहरू बीच स्पष्ट पारस्परिक निर्भरता र योजनाबद्ध सन्तुलित विकासको पद्धति हो। राष्ट्रिय माग र आपूर्तिबीचको सन्तुलन कायम रहने गरी योजनाबद्ध रूपमा उत्पादन र वितरण प्रणाली सञ्चालन गर्ने र तद्अनुरू बजार व्यवस्थापन गरी सुव्यवस्थित रूपमा वितरण कार्यान्वयन गरिने प्रणाली हो। समाजवादमा बजारका नियम कायम रहने भएकोले बजार र उत्पादन क्षेत्रबीच घनिष्ठ र जीवन्त पारस्परिक सम्बन्ध र आदान-प्रदान क्रिया रहनु अनिवार्य हुन्छ। सामाजिक आर्थिक संरचनामा आउने प्रत्येक उतार चढावसँग यिनको तादात्म्य कायम रहनु पर्छ। यो समाजवादी आर्थिक संरचनाको नाजुक पक्ष हो। उत्पादक शक्ति तथा उत्पादकत्वको वृद्धि, प्रविधिको विकास, उत्पादन क्षेत्रको विस्तार तथा विविधीकरणसँगै नयाँ अन्तर्द्वन्द्वको अवस्था पनि सृजना हुन्छन्, जसले त्यस अनुकूल नै उत्पादन, वितरण तथा सञ्चितिबीचका सम्बन्धहरूबीच सन्तुलन कायम राख्न समय समयमा संरचनागत नयाँ परिवर्तनको माग गर्छ।

समयमै तिनको पहिचान गरी निदानको बाटो खोज्नु आवश्यक हुन्छ। समाजवादी उत्पादन प्रणालीमा यी अन्तर्द्वन्द्व गैरशत्रुतापूर्णता अन्तर्द्वन्द्व रूपमा रहने हुँदा समयमै तिनको पहिचान गरी पार्टीका सचेत क्रियाकलापको माध्यमबाट समय र अवस्था सापेक्ष तिनको सम्यक समाधान गर्न सकिन्छ। सोभियत अर्थतन्त्रमा विकसित भएको अतिकेन्द्रीकृत योजना पद्धति अन्तरगत एकतर्फ बजार विनिमयका आम नियम कृत्रिम रूपमा नियन्त्रित गरिए भने अर्कोतर्फ माग अनुसार उत्पादन बजारमा पुग्न सकेन। यस नियन्त्रणबाट आवश्यकता-उत्पादन-आपूर्ति प्रणालीमा उत्पन्न असन्तुलनले सम्पूर्ण बजार प्रणालीको सन्तुलन नै विच्छिन्न हुन पुग्यो। सोभियत कम्युनिष्टहरूले समयमै यस यथार्थलाई आत्मसात् गर्न सकेनन्। लेनिन र मार्क्सको भनाइ रटाउँदै समस्यालाई थामथुम पार्नेमा आफूलाई सीमित गर्दै आए। अन्तर्द्वन्द्व चुलिँदै जाँदा व्यवस्था नै दुर्घटनाको सिकार भयो।

पूँजीवादका दीर्घ जीवनको एउटा कारण के पनि हो भने उसले सन् १९२९-३२ को महान् आर्थिक संकटपछि ठूलो पाठ सिक्यो र पूँजीवादमा केही संरचनात्मक परिवर्तन गर्‍यो, जसले गर्दा त्यो संकट मात्र टलेन अगाडिका संकटहरूको समाधान खोज्न समेत मार्ग निर्देशन गर्‍यो। त्यसपछि पूँजीवादमा आवधिक रूपमा दोहोरी रहने यस्ता संकटहरूको समाधान गर्दै नयाँ नयाँ आयाम सहित पूँजीवाद अगाडि बढ्दै आएको छ। आज पनि यस्ता संकटहरुबाट पार पाउन निरन्तर अभ्यासरत छ। तर, समाजवाद निर्माणको दौरान सोभियत कम्युनिष्ट पार्टीले यी पक्षहरूमा समुचित ध्यान दिइएन।

२. प्रत्येक सामाजिक-आर्थिक संरचनामा सामाजिक, आर्थिक र राजनैतिक अवस्था समयको गतिसँगै निरन्तर परिवर्तन भइरहन्छन्। समय समयमा तिनले प्रस्तुत गर्ने नयाँ अवस्थाको वास्तविक रूप र चरित्रबारे कसैले पनि किटानीसाथ अग्रिम रूपमा न अन्तिम शब्द भन्न सक्छ, न समष्टिगत रूपमा तिनका निदानको नक्सा नै प्रस्तुत गर्न सक्छ। केवल सम्भाव्यताबारे पूर्वानुमान गर्न सकिन्छ र निदानको योजनाबारे विचार गर्न सकिन्छ। पहिलो समाजवादी व्यवस्था निर्माणको दौरान पनि कदम-कदमा यस्ता नौला अवस्था आइरहनु स्वाभाविक थियो, जसका समाधानको न विगत अनुभव थियो, न पूर्वानुमान गर्ने ठोस आधार। तर, आज हामीले त्यसबाट सिक्ने आधार छन्। तै पनि, प्रत्येक देशले समाजवाद निर्माणको प्रक्रियामा अगाडि आउने यस्ता समस्याहरूको समाधान समाजवादी लक्ष्य र तात्कालिक अवस्था सापेक्ष तत्काल तिनको समाधान आफ्नै अवस्था अनुरूप खोज्नु पर्ने अवस्था रहन्छ अन्यथा जटिलताहरूले असाध्य रोगको रूप लिन सक्ने अवस्था रहन्छन्। त्यसैले मार्क्स र लेनिनले सधैं जोड दिएका छन्- ‘कुनै पनि सामाजिक घटना र अवस्थालाई औसत रूपमा लिनुपर्दछ र समय सापेक्ष तथा ऐतिहासिक चरणका विशिष्टता सापेक्ष तिनलाई हेर्नुपर्दा छ।’ (मार्क्स- डूरिङ मत खण्डन)।

स्टालिनको मृत्युपछि शान्तिकालमा, जबकि सोभियत संघ औद्योगीकरण, कृषि लगायतका सम्पूर्ण उत्पादन क्षेत्र तथा विज्ञान र प्रविधिको क्षेत्रमा उच्च विकासको अवस्थामा पुगिसकेको र विश्व शक्तिको रूपमा स्थापित भइसकेको अवस्था थियो। पार्टीमा स्टालिनको समयमा रहेको अति केन्द्रीकरण तथा व्यक्तिवादको अवस्था समाप्त गरी पार्टीभित्र जनवादको अवस्थालाई बढाउँदै सम्पूर्ण पार्टी संरचनालाई पुनर्गठित गर्नु पर्ने, अर्थतन्त्र र सोभियत व्यवस्थामालाई पुनः गतिशील बनाउन पर्ने, माथिदेखि तलसम्म व्याप्त पार्टी ब्यूरोक्रेट्सको अन्त गरी जनवादीकरण गर्नुपर्ने जस्ता सुधारको आवश्यकता थियो, त्यो गरिएन। बल्की त्यसपछिका नेतृत्वले पनि एकपछि अर्को गर्दै तिनै गल्ती दोहोर्‍याउँदै गए। परिणाम स्वरूप रोग असाध्य हुनु पुग्यो र व्यवस्था नै समाप्त भयो। सार्वभौम सत्य के हो भने समाजवादमा पनि वर्ग रहन्छन्, बजारका नियम जीवित रहन्छन् र पुराना चिन्तन र संस्कारका अवशेष रहन्छन्। नयाँ अवस्थाहरू परिवर्तन भइरहन्छन्।

कम्युनिष्ट पार्टीले यसको समयमा वस्तुनिष्ठ आंकलन गर्दै सन्तुलित रूपमा तिनको समाधान खोज्नु पर्छ। यहाँ ध्यान दिनु पर्ने कुरा के हो भने, पूँजीवादी संरचना र समाजवादी संरचनामा तात्विक अन्तर छ। पूँजीवादमा निजी स्वामित्व र बढी नाफाको लालचमा अनियन्त्रित अतिरिक्त उत्पादन तथा पूँजीको केन्द्रीकरणबाट उत्पन्न हुने असन्तुलन र असमान विकासको अवस्थाले यिनको अन्तिम समाधान सम्भव हुँदैन। तर, समाजवादी व्यवस्थामा सामूहिक स्वामित्व रहने हुँदा उत्पादन र उपभोगबीच सन्तुलन कायम गर्दै योजनाबद्ध रूपमा नियोजित र निर्देशित रूपले चल्न सकिन्छ र यस प्रणालीमा यिनको समाधान सम्भव छ। तर, उत्पादन र उपभोग तथा माग र आपूर्ति बीचको सन्तुलन गुमेमा त्यसले निश्चित रूपमा समाजवादमाथि संकट निम्त्याउँछ। यो अवस्था विगतमा सबै समाजवादी मुलुकहरूले यो अथवा त्यो रूपमा बेहोरेका हुन्। सोभियत संघको पतनपछि बाँकी रहेका देशहरू त्यसबाट पाठ सिकी समय र अवस्था सापेक्ष आ-आफ्नै किसिमले सुधारका प्रक्रिया सहित अगाडि बढ्दै छन्।

३. मानिसको अस्तित्व सामाजिक उत्पादन प्रक्रियासँग जोडिएको छ। यस प्रक्रियामा न त सामाजिक उत्पादन प्रक्रिया जड रहन सक्छ, न मानिसका चाहना नै। मार्क्सवादीहरूले यसलाई मध्यनजर राखी लक्ष्य प्राप्तिका लागि परिवर्तित अवस्था सापेक्ष आफ्ना राजनैतिक गतिविधि, साधन, शक्ति तथा संगठनलाई समय सापेक्ष परिमार्जित गर्दै रहनु पर्ने हुन्छ। यो जडसूत्रवादीहरुले भन्ने गरे जस्तो ‘संशोधनवाद’होइन, मार्क्सको शिक्षा अनुसार गरेको समसामयिक परिमार्जन र सही चिन्तन र कार्य प्रणाली हो। त्यसबाट नै सफलता प्राप्त हुने छ। तर, साठीको दशकदेखि मार्क्स र लेनिनका भनाइ सोभियत नेतृत्वका लागि सुगारटानको विषय त रहे तर समय र अवस्था सापेक्ष तिनलाई कार्यहरू दिन काम गरेनन्। फल स्वरूप मार्क्सवाद जडसूत्र हुन पुग्यो।

४. कम्युनिष्टहरूले समाज विकासको गतिसँगै हिँड्नु पर्छ भन्ने कुरा मार्क्स, एंगेल्स, लेनिनले आफ्ना रचनाहरूमा पटक-पटक दाहोर्‍याएका छन्। मार्क्स र लेनिन पछिको काल खण्डमा माओत्सेतुङले चीनको सन्दर्भमा त्यहाँको क्रान्ति विकासको दौरान चीनको अवस्था सापेक्ष केही सृजनात्मक नयाँ पक्ष प्रतिपादित गरे। भियतनाम, क्यूवा, कोरियाका सफल क्रान्तिहरूले आ-आफ्नै किसिमका नयाँ व्यवहारिक पक्ष प्रस्तुत गरे। नवस्वाधीन तथा विकासोन्मुख देशहरूका कम्युनिष्ट आन्दोलनका जय-पराजयले नयाँ पाठ सिकाए। तर, त्यस सम्पूर्ण कालखण्डमा बदलिएको विश्व परिस्थितिलाई मध्यनजर राखी समय सापेक्ष आफूलाई परिवर्तन गर्न नसक्नु सोभियत कम्युनिष्ट पार्टीको अर्को कमजोरी रहेको हो। कम्युनिष्टहरूले यसबाट पाठ सिक्नु पर्छ।

५. मार्क्सवादीहरूका लागि समाजवादी लक्ष्य अपरिवर्तनीय कुरा हो। तर, त्यसमा जाने बाटो र संघर्षको बाटो तथा अवस्था सधैं एकनास हुँदैनन्। ‘मार्क्सवादको सृजनात्मक विकास वा प्रयोग’ भनाइले मात्र पुग्दैन। यसका लागि समयको गतिसँग मेल खाने सोच र त्यसको व्यवहारिक प्रयोग हुनु पर्दछ। यस पक्षमा सोभियत कम्युनिष्ट पार्टीमा कमजोरी रहेका हुन्। गतिशील सिद्धान्तका अनुयायीहरूले परिवर्तनको गतिसँग पाइला मिलाउन सकेनन् र तद्अनुरुप समाजवाद निर्माणको दिशामा निर्बाध अगाडि बढ्न समय सापेक्ष विधि र प्रक्रियामा आवश्यक परिमार्जन गर्न सकिएन भने त्यसबाट समाजवादी रूपान्तरणको प्रक्रिया मात्र बोधित हुँदैन बल्की सत्तासीन कम्युनिष्ट पार्टीले जनताको विश्वास र नेतृत्वकारी क्षमता दुइटै गुमाउँछ। राजनैतिक नाराको रूपमा त्यो समाजवाद भनिए पनि सारमा समाजवाद रहन सक्दैन। सोभियत संघको विघटनबाट सिक्नु पर्ने यो महत्त्वपूर्ण पाठ हो।

६. समाजवाद समाजलाई सर्वांगीण प्रजातान्त्रिक परिपाटी र राज्यसत्ता सञ्चालन र नियमनमा आम श्रमिक जनताको सहभागिता सुनिश्चित र विकसित गर्दै साम्यवादी अवस्थामा संक्रमणका पूर्वाधार निर्माण गर्न संक्रमणकालीन व्यवस्थाको रूपमा परिकल्पना गरिएको संक्रमणकालीन व्यवस्था हो। यसको प्रत्येक कदमले त्यो दिशा समात्नु पर्छ। तर, सोभियत संघ तथा त्यसपछिका यावत समाजवादी मुलुकहरूमा यसको विपरीत नेतृत्व वर्गको अति सीमित घेरा अथवा एक व्यक्तिको चाहना अनुसार जनता हिँड्न पर्ने परिपाटी निर्माण गरिए। यसबाट जनता शासक बन्दै जानु पर्ने ठाउँमा निरीह श्रमका औजारको रूपमा परिणत हुँदै गए। समाजको विकाससँगै विकसित हुने सामाजिक चेतनाले यसको प्रतिकार गर्छ नै। तर, अभिव्यक्ति स्वतन्त्रता तथा राय बझाउनु पाउने अधिकारको अभावमा असन्तोष गुम्सिन्छन् र विस्फोट हुन्छन्। प्राज्ञिक तथा वैचारिक स्वतन्त्रता बिना सर्वोच्च प्रजातान्त्रिक अधिकार सहितको समाजवाद निर्माण गर्न सकिँदैन। प्रतिक्रान्तिको खतरा रहुन्जेल यस्ता प्रतिबन्ध आवश्यक हुन सक्छन् तर श्रमिक वर्गको सत्ता सुदृढीकरणसँगै क्रमिक रूपमा यो अवस्था समाप्त गर्दै लैजानु पर्छ। अन्यथा यसबाट दुष्परिणाम मात्र निस्कन्छन्। यो विगतको पाठ हो।

७. जनवादी केन्द्रीयताका सिद्धान्तको गलत व्याख्या, अप्रजातान्त्रिक अधिनायकवादी कार्यशैली, सर्वहारा वर्गका नेतृत्वको नाममा नयाँ शासकीय तप्काहरूको निर्माण गर्ने जस्ता प्रवृत्ति तथा सर्वहारा वर्गको नाममा पार्टी ब्यूरोक्रेसीको सत्ता कायम गर्ने प्रवृत्ति र पार्टी शासक र जनता शासित हुन पुग्ने अवस्थाको सृजना मार्क्सको सिद्धान्त तथा समाजवादको चरित्र विपरीत, नकारात्मक प्रवृत्ति हुन्। मार्क्सवाद-लेनिनवादका आधारभूत मान्यताहरूमा यस्ता चरित्र र व्यवहारको लागि कुनै स्थान छैन। यस्ता व्यक्तिवादी चरित्र र व्यवहार सर्वोच्च शासक बन्ने निम्नपूँजीवादी प्रवृत्ति र सामन्ती संस्कारका उपज हुन्। राज्यसत्ता सञ्चालन र पार्टी नेतृत्वका क्रियाकलापहरूमाथि श्रमजीवी वर्गको सशक्त हस्तक्षेप र नियन्त्रण कायम गर्न नसकिएको अवस्थामा यस्ता गलत प्रवृत्ति मौलाउने अवस्था सधैं रहिरहन्छन्। यी प्रवृत्ति लेनिनपछिको सोभियत कालदेखि आजका दिनसम्म पनि देखिँदै आएका छन्। यसमा कहाँ कमजोरी छन्, सैद्धान्तिक रूपमा नै त्यसको उत्तर खोज्नु पर्ने र त्यसको निराकरणका व्यवहारिक उपाय खोज्नु पर्ने आवश्यकता छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्