देउवाको गृहजिल्ला डडेल्धुरामा एकलौटी अधिवेशन, सभापतिमा साउद विजयी

Bhim_Saud
लोकपाटी न्यूज

डडेल्धुरा। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा जिल्ला सभापतिमा भीमबहादुर साउद विजयी भएका छन्। सोमबार सम्पन्न भएको जिल्ला अधिवेशनबाट परशुराम नगरपालिकाका मेयरसमेत रहेका साउद विजयी भएका हुन्।

साउदले सात सय ३४ मत पाए भने ठकुराठीले ७६ मत पाए। जिल्ला निर्वाचन समितिकाअनुसार साउदले सभापतिका प्रत्यासी चूडामणि ठकुराठीलाई ठूलो मतान्तरले पराजित गरेका छन्। ठकुराठीले जम्मा ७६ मत मात्रै ल्याएका थिए। यस्तै सचिवमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भएका छन्। उपसभापतिमा लक्ष्मीप्रशाद अवस्थी र डिल्लीराज जोशी, सहसचिवमा प्रेमराज महर र गोबिन्दराज बोहरा सोमबार नै निर्विरोध सर्वसम्मत भइसकेका थिए।

डडेल्धुरामा विवादका बीच पनि जिल्ला अधिवेशन भएको थियो। वडा अधिवेशनदेखि नै यहाँ विवाद छ। क्रियाशील सदस्यतामा देखिएको विवादपछि जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले अधिवेशनमा भाग नै लिएको थिएन। संस्थापन इतरको विरोध हुँदाहुँदै सभापति देउवाको गृहजिल्लामा एकपक्षीय अधिवेशन गरिएको हो। पालिका, प्रदेश, प्रदेशसभा क्षेत्र हुँदै प्रतिनिधिसभा क्षेत्र र जिल्ला अधिवेशन पनि सभापति देउवा पक्षले एकलौटी हिसाबले सम्पन्न गरेका छन्।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिमा एकलौटी अधिवेशन भएकोले खारेज गरी नयाँ अधिवेशन गर्न माग गर्दै उजुरी परेको छ। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले डडेल्धुरामा एकलौटी हिसाबले अधिवेशन भएकोले रोक्न माग गरेका छन्। सात दिनदेखि जिल्ला सभापति मल्लसहित कार्यकर्ता सानेपामा रिले अनशनमा बसेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्