निजीक्षेत्रले उठायो ब्याजदर र एमसीसीको कुरा, कसले के भने ?

लोकपाटी न्यूज

काठमाडाैं। निजी क्षेत्रका व्यवसायीहरु एमसीसी र व्याजदरकाे सम्बन्धमा बाेल्न थालेका छन्। बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले राजधानीमा आयोजना गरेको कार्यक्रममा निजी क्षेत्रका व्यवसायीहरुले साे सम्बन्धमा बाेलेका हुन्।

कार्यक्रममा बाेल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कोभिड १९ को प्रभावले मुलुकको अर्थतन्त्रमा समस्या पारेको बताएका छन्। उनले भने, ‘कोभिड १९ को प्रभावले मुलुकको अर्थतन्त्रमा समस्या पारेको छ । यसका लागि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत् सम्बोधन गरेको छ । तर, अहिले बजारमा तरलता (लगानीयोग्य रकम) अभावको समस्या देखिएको छ । यो समस्या बैंकले सम्बोधन गर्नुपर्छ ।’

उनले अगाडि भने, ‘सीडी रेसियोलाई छिटो भन्दा छिटो सम्बोधन गर्नुपर्ने देखिन्छ । अधिकांश बैंकहरुको सीडी रेसियो ९० प्रतिशत भन्दा माथि गरिसकेकाले थप लगानी गर्न नसक्ने अवस्थामा पुगिसकेका छन् । यसले निजी क्षेत्र प्रभावित हुन पुगको छ । व्यवसाय गर्नका लागि लगानीको अभाव हुन थालेको छ । यस तर्फ राष्ट्र बैंकको ध्यान जान जरुरी छ । सरकार र निजी क्षेत्र एकै रथको दुई पाङ्ग्रा भएर अघि बढ्न तयार छ । मुलुकको आर्थिक विकासका लागि सरकारसँग हातेमालो गर्न निजी क्षेत्र सधैं तयार छ ।’

त्यस्तै,  नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारीले  निजी क्षेत्रले मात्र होइन पछिल्लो समय सरकारले समेत आर्थिक पुनरुत्थानमा सक्रिय हुन नसकेकाे बताएका छन्। उनले भने, ‘निजी क्षेत्रले मात्र होइन पछिल्लो समय सरकारले समेत आर्थिक पुनरुत्थानमा सक्रिय हुन सकेन । जति गर्नुपर्ने थियो त्यति गर्न सकिएन । तर, मुलुकको आर्थिक पुनरुत्थानका लागि सार्वजनिक निजी साझेदारी अपरिहार्य छ ।’

उनले काेभिडकाे प्रभावमा नेपाल मात्र नभएर सबैजसाे मुलुक परेकाे र अधिकांश मुलुक विस्तारै आर्थिक उत्थानकाे चरणमा लागेका बताए। उनले भने, ‘कोभिड १९ प्रभाव नेपालमा मात्र होइन सबै जसो मुलुकहरुमा परेको छ । अधिकांश मुलुकहरु विस्तारै उत्थानको चरणमा छन् । यसलाई नेपालले पनि चुनौतीको रुपमा नभई अवसरको रुपमा लिनुपर्छ । सार्वजनिक निजी साझेदारीको रुपमा आर्थिक विकास तथा पुनरुत्थानमा लानुपर्छ । सरकारले निजी क्षेत्रलाई सहजीकरण गरिदियो भने, नीतिगत व्यवस्था गरिदियो भने, लगानीको वातावरण मिलाइदियो भने अर्थतन्त्र उत्थानमा समस्या हुँदैन, छिटै आर्थिक पुनरुत्थानमा जान सकिन्छ ।’

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले जब व्याजदर ४-५ प्रतिशतमा पुग्छ तब बैंकहरुमा पैसा सुक्न थाल्ने बताएका छन्। उनले भने, ‘जब ब्याजदर ४–५ प्रतिशत माथि पुग्छ तब बैंकहरुमा पैसा सुक्छ । तरलता समस्याको कुरा गर्नुपर्दा विदेशी लगानीलाई ल्याउन सकिएको छैन । नीतिगत समस्याका कारण रोकिएको अवस्था छ ।’

नेपालमा एमसीसीकाे चर्चा चलिरहेकाे बताउँदै उनले  नेपालका लागि एमसीसी आवश्यक रहेकाे बताए। उनले भने, ‘एमसीसी देशका लागि आवश्यक छ । यसले विकासमा भाइटल रोल खेल्न सक्छ । त्यसैले यसलाई रोक्न हुन्न स्वागत गर्नुपर्छ भन्ने मलाई लाग्छ ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्