काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सूर्तीजन्य पदार्थको सेवनको रोकथाम र नियन्त्रणमा पहल गरिने जानकारी दिएका छन्। स्वास्थ्य पत्रकार मञ्च नेपाल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, एक्सन नेपाल, एपीक्याट र द युनियनको सयुक्त रुपमा आज यहाँ आयोजित ‘सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन’ सम्बन्धी बहुपक्षित पैरवी बैठकमा उनले जुनसुकै उपाय अपनाएर भए पनि सूर्तिजन्य पदार्थको सेवनमा रोकथाम र नियन्त्रण गर्न पहल गरिने बताए।
सूर्तिजन्य पदार्थको सेवनबाट बार्षिक रुपमा ठूलो संख्यामा मानिसको मृत्यु भएको जान्दा जान्दै पनि मानिस यसको कुलतबाट बाहिर निस्कन नसकेको जनाउँदै उनले अब चिकित्सक तथा स्वास्थ्यकर्मीले कुनै डर सिर्जना गरेर भएपनि यसको सेवनलाई निरुत्साहित गर्नेपर्ने बताए। उनले सूर्तीजन्य पदार्थको नियन्त्रणका लागि बनेका ऐनलाई प्रभावकारी कार्यन्वयन गर्ने समेत बताए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले नसर्ने रोगको प्रकोप भयावह रुपमा बढदै गएको जनाउँदै यसलाई रोकथाम गर्नका लागि पनि सुर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्नुपर्ने बताए। उनले अन्तरक्रियाबाट निस्कने निष्कर्षलाई हेरेर आवश्यक परेमा मन्त्रालयबाट थप कदम चाल्ने समेत प्रतिवद्धता जनाए।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले सूर्तीजन्य पदार्थको रोकथाम र नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारीको विशेष पहलमा सूर्तीजन्य बनेका ऐन, कानूनलाई कडाइका साथ लागू गर्नुपर्ने जानकारी दिए। उनले मासिक रुपमा कम्तीमा दुई अर्व रुपैयाँ नेपालीले चुरोटको धुवामा उडाउने गरेको जनाउँदै त्यो भन्दा बढी मानवीय क्षति पुर्याउने बताए। परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले सूर्तीजन्य सेवनबाट बर्षेनी हजारौं मानिसको अकालमा नै मृत्यु हुने गरेको बताए। यसको रोकथामका लागि नीतिमा थप संसोधन आवश्यक पर्न सक्ने जनाउँदै त्यसअघि अनुसन्धानको पाटोलाई अघि बढाउनु पर्ने बताए।
सो अवसरमा उनले परिषदले सूर्तिजन्य पदार्थ र नसर्ने रोगको नियन्त्रणका लागि गरेका अध्ययन् अनुसन्धानका बारेमा जानकारी दिए। कार्यक्रममा शहीद गंगालाल हृदय केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारीले सूर्तीजन्य पदार्थको सेवनबाट धेरैनै मानिसलाई हृदयघात हुने गरेको बताए। उनका अनुसार विगत १० वर्षमा हृदयघात हुने संख्या ४६ प्रतिशतले बढेको उल्लेख गर्दै हृदयघात हुने सबैभन्दा बढी सूर्तीजन्य पदार्थको सेवन गरेको युवा रहेको जानकारी दिए। उनका अनुसार सबैभन्दा बढी हृदयघाट चुरोट सेवनबाट हुने गरेको छ।
कार्यक्रममा द युनियन एसिया प्यासेफिक क्षेत्रीय निर्देशक डा तारासिंह बमले सूर्तिजन्य पदार्थ नियन्त्रण सम्वन्धी कानून राम्रो भएपनि सरकारले त्यसको कार्यान्वनय राम्ररी गर्न नसकेको बताए। उनले कानून कार्यान्वयनका लागि व्यक्तिगत सामुहिक र राजनीतिक रुपमा समेत प्रतिवद्धता आवश्यक रहेको बताए। एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले डव्लुएचओ एफसीटीसीको पक्षराष्ट्र भएको मुलुकले कानून सोही अनुसार नै बनाएपनि कार्यान्वयन तह फितलो भएको बताए। नेपाल सूर्तिजन्य पदार्थमा सबैभन्दा कम कर लगाउने दक्षिण एसियामै पहिलो भएको र कम करका कारण सूर्तिजन्य पदार्थको मूल्य सस्तो भएको र आम गरीव जनतामा यसको प्रयोगदर उच्च भएको बताए। उनले राज्यले बनाएको ऐन तथा निर्देशिकाले सूर्तिजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चित्र छाप्ने व्यवस्था भएको भएपनि बर्षौ देखि स्वदेशी उद्योगले त्यसको कार्यान्वनय गर्न अटेरी गरेको जानकारी दिए।
स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष रामप्रसाद न्यौपानेले नसर्ने रोगको प्रमुख कारक सूर्तिजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्न नेपालका सञ्चारमाध्यमले सकारात्मक भूमिका खेल्दै आएको जनाउँदै राज्य पक्षबाट पनि यस्तै अपेक्षा राखेको बताए। उनले मञ्चले विभिन्न समयमा विभिन्न संघसंस्थासंग सहकार्य गरी अन्तरक्रिया तथा ओरिन्टिेसन कार्यक्रम गरेको जानकारी दिए। -रासस