थम्मन थापा/बागलुङ, ९ मंसिर। पछिल्लो समय जन्मदिनलाई एउटा पर्वको रुपमा मनाउन थालिएको छ। दिनहुँ सामाजिक सञ्जालमा आजकल जन्मदिनका पोष्टहरु निकै देखिन्छन्। प्रायले आफनो जन्मदिनलाई तडक भडक रुपमा मनाउने, फजुल खर्च गर्ने समेत गरेको पाईन्छ।
गलकोट नगरपालिका ७ मल्म, आँगाखेत अहिले जापानमा कर्म गरिरहेका एक युवाले भनें आफनो छोराको जन्मदिनमा गाउँको एउटा विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्। गलकोट समाज जापान क्षेत्रिय समिती नागोयाका अध्यक्ष समेत रहेका रामु थापा काजीले उक्त परोपकारी कार्य गरेका हुन्।
दलित र विपन्न विद्यार्थीको बाहुल्यता रहेको मल्म स्थित सिरबारे प्राथमिक विद्यालयमा उनले छोरा आयुष थापाको जन्मदिनको अवसरमा नगद रु २० हजारको शैक्षिक अक्षयकोष स्थापना गरेका छन्।
विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीको शैक्षिक प्रगति होस भन्ने उद्येश्यले उक्त कार्य गरेको अक्षयकोषकर्ता थापाले बताए। जन्मदिनमा फजुल खर्च गर्नुभन्दा परोपकारी कार्य गरौं भन्ने हेतुले जेहेन्दार र विपन्न विद्यार्थीलाई लक्षित गरि आफूले शैक्षिक अक्षयकोष स्थापना गरेको थापाको भनाई छ।
रकम सानो भएपनि यसको महत्व ठुलो रहेको र शैक्षिक जगतमा थोरै भएपनि सहयोग पुग्ने उनले उल्लेख गरे। उक्त रकमको वार्षिक ब्याज मार्फत विद्यार्थीले शैक्षिक सामाग्री पुरस्कार स्वरुप प्राप्त गर्ने सिरबारे प्राथमिक विद्यालय गलकोट नगरपालिका ७ मल्म, सिरबारेका प्रधानध्यापक कल्पना गौतमले जानकारी गराइन्।
अक्षयकोष रकम विद्यालयमा आयोजित कार्यक्रममा गलकोट नगरपालिका वडा नं ७ का वडा सदस्य लोक बहादुर थापा र सामाजिक संस्था घुम्टे युवा परिवारका सदस्य भूमिराज थापाले संयुक्त रुपमा विद्यालयलाई हस्तान्तरण गरेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष छबिलाल दर्जीले बताए।
कार्यक्रममा बोल्दै वडा सदस्य थापाले अक्षयकोष रकमको ब्याज बाट प्राप्त हुने पुरस्कारले विपन्न र जेहेन्दार विद्यार्थीलाई शैक्षिक गतिविधीमा थप आकर्षण गर्न सहयोग पुग्ने बताए। यस्ता कार्यले समाजमा शिक्षाको महत्व झल्काउने उनको विश्वास छ।
गलकोट नगरपालिका वडा नम्बर ७ मल्म स्थायी घर भई जापानमा कर्म गरिरहेका युवा समाजसेवी रामु थापा काजीले समय समयमा विभिन्न संघ संस्थाहरु सँगै समाजमा यस्तै परोपकारी कामहरु गर्दै आईरहेका छन्।
उक्त विद्यालयमा गत वर्ष गलकोट समाज जापान क्षेत्रिय समितीले नागोयाले नगद रु ५० हजारको शैक्षिक अक्षयकोष स्थापना गरेको छ। संस्थाका अध्यक्ष थापाले रु २० हजार रकम अक्षयकोष स्वरुप सहयोग गरेपश्चात विद्यालयमा अक्षयकोष रकम रु ७० हजार पुगेको छ।