मंसिर १० देखि भाषाविज्ञान सम्मेलन

linguistics-conference pic
लोकपाटी न्यूज

काठमाडौं। भाषाविज्ञान समाज नेपालले ४२ औं वार्षिक सम्मेलनको आयोजना गरेको छ। समाजको बयालिसौँ वार्षिक सम्मेलन मङ्सिर १० र ११ गते हुन लागेको हो।

यो सम्मेलन त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा (माक्रोसफ्ट टिम्स) सफ्टवेयरको प्रयोग गरी अनलाइन माध्यमबाट आयोजना गरिने समाजले जनाएको छ। समाजले विगत ४० वर्षदेखि अविछिन्न रुपमा हरेक वर्ष नोभेम्बर २६ र २७ तारिखमा वार्षिक सम्मेलन गर्दै आएको छ।

यस सम्मेलनमा हरेक वर्ष १० देखि १५ मुलुकका १५० जना जति भाषाविद्हरू सहभागी हुँदै आएको र करिब १०० वटा जति सम्मेलन पत्र प्रस्तुत हुने गरेकोमा कोभिड-१९ महामारीको कारणले यस वर्ष ९ देशको सहभागिता रहने र ७२ वटा सम्मेलन पत्रहरू प्रस्तुत हुने भाषाविज्ञान समाज नेपालका अध्यक्ष कृष्णप्रसाद चालिसेले जानकारी दिए।

उनले भने, ‘यस वर्ष भाषाविज्ञानका २१ वटा विभिन्न विधामा ३२ वटा भाषामा अनुसन्धान गरिएका अनुसन्धान पत्रहरू सम्मेलन पत्रका रूपमा प्रस्तुत गरिने र ती अनुसन्धान पत्रहरू माथि छलफल गरिने छ।’

अनुसन्धान पत्रहरूमा भाषाका वर्ण, ध्वनि, रूप, वाक्य र अर्थ व्यवस्थाका साथै भाषाका वक्ताको भाषिक स्थिति, अभिवृत्ति, पारस्परिक प्रभाव जस्ता समाजभाषिक र सांस्कृतिक विषयका साथै भाषा नीति र योजना, भाषासँग सम्बन्धित पहिचान, विचार, लैङ्गिकता, शक्ति, संस्कृति जस्ता भाषा संस्कृति र भाषा राजनीतिका विषयका साथै लोपोन्मुख भाषाहरूको संरक्षण, भाषिक शिक्षण र सिकाइ, क्लिनिकल भाषाविज्ञान, कम्प्युटर भाषविज्ञान जस्ता विषयहरू समेटिएको उनको भनाई छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्