एमाले महासचिव पदमा सुरेन्द्र पाण्डेको दाबेदारी

Surendra_Pandy
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महासचिवभन्दा सानो पदमा उम्मेदवारी नदिने बताएका छन्। १० औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक समेत रहेका पाण्डेले महासचिव नपाए कुनै पदाधिकारीमा नउठ्ने बताएका हुन्।

महासचिव नपाए पनि सबै पदाधिकारीलाई मिलाएर लैजाने उनले दाबी गरे। शुक्रबारदेखि सुरू हुन लागेको महाधिवेशनमा सहभागी हुन चितवन रहेका उनले महासचिव पदमा दाबेदारी प्रस्तुत गरेका हुन्। महाधिवेशनको सम्मुखमा आइपुग्दासम्म मुख नखोलेका नेताहरू महाधिवेशन स्थल नपुग्दै धमाधम उम्मेद्‌वारी घोषणा गर्न थालेका छन्।

१० औँ महाधिवेशनमा उपाध्यक्ष भीम रावलले मात्र अहिलेसम्म औपचारिक रूपमा उम्मेद्‌वारी घोषणा गरेका छन्। सचिव योगेश भट्टराईले पनि चितवन पुगेर सचिवमा दोहोरिने इच्छा व्यक्त गरेका छन्। उनले आफूसँग अझै १५ वर्ष सक्रिय राजनीति गर्ने सुविधा रहेको भन्दै अहिले सचिवमै दोहोरिन चाहेको बताए।

भरतपुर विमानस्थलवाटै केन्द्रीय सदय महेश बस्नेत र केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले पनि सचिवमा उम्मेद्‌वारी दिने बताइसकेका छन्। उता, एमाले कर्णाली प्रदेश सहसंयोजक यामलाल कँडेलले पनि सचिवमै उम्मेदवार बन्ने चाहना चितवन पुगेर पनि दोहोर्याएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्