सकियाे सर्वाेच्चकाे पू्र्ण बैठक, के भयाे निर्णय ?

Sarbochcha_Adalat
लोकपाटी न्यूज

काठमाडाैं। सर्वोच्च अदालतको फुलकोर्ट बैठकले मंसिर १५ गतेबाट गोलाप्रथा विधिबाट पेसी तोक्ने निर्णय गरेको छ । बिहीबार बसेको पूर्ण बैठकले करिब एक साताको समय राखेर गोलाप्रथा गर्ने मिति तय गरेको हो ।

बिहीबार अपरान्ह बसेको साे बैठकले मंसिर १५ गते सम्म सम्पूर्ण तयारी पूरा गर्ने र त्यसपछि गोलाप्रथा विधिबाट पेसी तोक्ने कार्य थालनी गर्ने निर्णय गरेको हो । सर्वोच्च स्राेतका अनुसार संशोधित नियमावली अनुसार नै पेसी व्यवस्थापन निर्देशन समितिबाट पेसी तोकिने छ ।

सर्वोच्च अदालतका सबै न्यायाधीश सहभागी भएर बस्ने पूर्ण बैठक (फुलकोर्ट)ले प्रधानन्यायाधीशको अध्यक्षतामै अन्य दुई जना वरिष्ठतम् न्यायाधीश रहने पेसी व्यवस्थापन निर्देशन समितिबाटै पेसी तोक्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीशविरुद्ध आन्दोलनमा उभिएका असन्तुष्ट न्यायाधीशहरुले तीन सातापछि गत बुधबार फुलकोर्ट बैठक राखेर सर्वोच्च अदालत नियमावली संशोधन गरेका थिए ।

तत्कालीन नियमावलीमा प्रधानन्यायाधीशले पेसी तोक्ने व्यवस्था रहेकामा नियमावली संशोधन गरी पेसी व्यवस्थापन निर्देशन समितिले गोलाप्रथा विधिबाट पेसी तोक्ने व्यवस्था गरिएको थियो । तर गोलाप्रक्रियाका लागि केही प्राविधिक कठिनाई हुने त्यसको व्यवस्थापन गर्नुपर्ने भएकाले मंसिर १५ गतेबाट लागू गर्ने गरी गोला प्रक्रियाको मिति तोकिएको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्