‘संसद् अधिवेशन बोलाऔं, जबरामाथि महाअभियोग लगाऔं’

लोकपाटी न्यूज

काठमाडौं। पेशागत संघ संस्थाहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग लगाउन माग गरेका छन् । नेपाल बार एसोसिएसनलगायत विभिन्न संघसंस्थाहरुले संयुक्तरुपमा प्रधानन्यायाधीश जबराविरुद्ध राजधानीमा मार्चपासपछि आयोजित कार्यक्रममा साे माग गरेका हुन्।

उनीहरुले यथाशीघ्र संसद बोलाएर प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन सांसदलाई आग्रह गरे। बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले लोकतन्त्र, मानव अधिकार, संवैधानिक सर्वोच्चका लागि बार सदैव प्रतिवद्ध रहेको बताए । उनले न्यायिक विचलनमा भूमिका खेलेका जबरालाई महाअभियोग लगाउनुपर्ने बताए । उनले भने, ‘जबराले न्यायाधीश नियुक्तिदेखि प्रधानन्यायाधीश हुँदासम्म भ्रष्टाचार गरे। कार्यपालिकाले गरेको भ्रष्टाचारको संरक्षण गरे । गरिबले न्याय पाउन सकेको छैन।’

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानुन व्यवसायी करिब ४ हप्तादेखि आन्दोलित छ। जबराले राजीनामा नदिएसम्म बहस पैरवी नगर्ने घोषणा गरेको बारले आन्दोलनको चौथो चरणको कार्यक्रम घोषणा गर्दै आन्दोलित छ। सोही कार्यक्रमअनुसार बार र विभिन्न पेशागत संगठनहरुले संयुक्तरुपमा जबराविरुद्ध महाअभियोग लगाउन माग गर्दै राजधानीमा मार्चपास गरेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्