सर्वसम्मत नेतृत्वका लागि त्याग गर्न तयार छु : पण्डित

lalbabu-pandit
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमाले नेता लालबाबु पण्डितले १० औं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन्। सहमतिमा नेतृत्व चयन हुने अवस्था बने आफूले पदमा दाबी नगर्ने पनि उनले बताए। पण्डितले उपाध्यक्ष पदमा दाबी गरेका छन्। सहमतिमा नेतृत्व चयन गर्न कठिन हुने अवस्था आए आफूले यही पदमा हुनुपर्छ भनेर दाबी नगर्ने बताए।

सहमतिमै केन्द्रीय नेतृत्व चयन गर्न केन्द्रीय कमिटी सदस्य र पदाधिकारीको संख्या बढाइएको छ। नेताहरूले आ-आफ्नो दाबी नछाड्दा निर्धारित समयमा महाधिवेशनको बन्द सत्र सुरु हुन सकेको छैन। नेताहरूले पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयन गर्नका लागि प्रयास भने जारी राखेका छन्। बन्द सत्र स्थलमा प्रतिनिधिहरूले सहमतिमा नेतृत्व चयन गर्न नाराबाजी गरिरहेका छन्।

सोही क्रममा पण्डितले सहमति भए आफू त्याग गर्न तयार रहेको बताएका हुन्। प्रचार विभाग उपप्रमुख सूर्य थापाले अध्यक्ष केपी ओली सर्वसम्मतको प्रयासमा रहेको भन्दै उम्मेदवारी दर्ता गर्न हतार नगर्न आग्रह गरेका छन्। उनले नेतृत्व र नेताहरू सर्वसम्मत नेतृत्व चयनको गृहकार्यमा जुटेको बताए। अर्की नेतृ गंगा चौधरीले पनि आफूसहित सबैजसो प्रतिनिधि सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको बताइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्