वरिष्ठ उपाध्यक्ष पदमा नउठ्‍न नेम्वाङलाई ओलीको दबाब

लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वमा सर्वसम्मत गर्नका लागि प्रयास जारी राखेका छन्। शनिबार बिहानदेखि आफूनिकट नेताहरूसँग छलफल गरिरहेका छन्। विधान महाधिवेशनबाट पारित गरेको विधान संशोधन गरेर पदाधिकारीको संख्या बढाए पनि सहमति नयाँ नेतृत्व चयन उनले प्रयास जारी राखेका छन्। मुख्य गरी एमाले तीन पदमा सहमति जुटाउन सकस देखिएको छ।

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष तथा महासचिवमा आकांक्षी नेताहरुले आफ्नो दाबी नछोड्दा सहमति जुट्न सकेको छैन। अध्यक्षमा उम्मेवारी दिने घोषणा गरेका नेता भीम रावलले आफू पछि नहट्ने बताउँछन्। यस्तै, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवास नेम्वाङले दाबी गरिरहेका छन्। उनीहरु दुवै पछि हटेका छैनन्। यस्तै महासचिवमा शंकर पोखरेल र विष्णु पौडेलको दाबी छ, उनीहरु पनि आफ्नो दाबीबाट पछि हटेका छैनन्।

मुख्य पदमा सहमतिको प्रयास भए पनि कठिन देखिएको छ। जसकारण बन्दसत्रमा ढिलाइ भएको छ। सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद नछाडेपछि ओलीले उनीसँग छलफल गरेका थिए। ओलीले नेम्वाङलाई उपराष्ट्रपति बन्न प्रस्ताव गरेको चर्चा छ। स्रोतका अनुसार नेम्वाङलाई एमालेले भविष्यमा प्राप्त गर्न सक्ने राष्ट्रपति, उपराष्ट्रपति, सभामुख जस्ता पदमा सिफारिस गर्ने गरी मनाउने प्रयास ओलीले गरेको भएपनि उनी त्यसमा राजी भएका छैनन्।

‘आफ्नै समूह व्यवस्थापनमा चुनौती देखिएको छ। आकांक्षी धेरै भएकाले सबैलाई समेट्न कठिन छ तर, भोलि पार्टी सरकारमा गए विभिन्न राजकीय पदमा व्यवस्थापन गर्नेगरि मिलाउने प्रयत्न भइरहेको छ,’ एमाले स्रोतले भन्यो। ओली समूहभित्र नै पद व्यवस्थापनमा सकस हुँदा महाधिवेशनको बन्द सत्र सुरु गर्न ढिलाइ भएको छ। शनिबार बिहान १० बजेदेखि बन्द सत्र सुरु गर्ने भनिए पनि अझैसम्म सुरु भएको छ। ओलीले आफू बसेकै होटेलमा नेताहरुसँग परामर्श गरिरहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्