ओली बन्दसत्र स्थल प्रवेश, जुटेन सहमति

KP_Oli
लोकपाटी न्यूज

सौराहा। नेकपा (एमाले)को जारी दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रस्थलमा प्रतिनिधि, कार्यकर्ता र पर्यवेक्षक नयाँ नेतृत्वको तीव्र प्रतिक्षा गरिरहेका छन्। बन्दसत्रस्थल सौराहामा प्रतिनिधिले सर्वसम्मत नेतृत्व हुनुपर्ने माग गरेका छन् भने शीर्ष नेताहरु आपसी छलफल र परामर्शमा व्यस्त रहेका छन्। सौराहामा सुरु हुन लागेको बन्दसत्रका प्रतिनिधिहरुले नाराबाजी गर्दै सर्वसम्मतको माग भइरहेको छ।

उनीहरुले पार्टीमा एकताबद्ध र सर्वसम्मत नेतृत्व हुनैपर्छ भन्दै नारा लगाइरहेका छन्। महाधिवेशनको बन्दसत्रमा मनोनीतसहित दुई हजार २७५ प्रतिनिधि छन्। बन्दसत्रले नयाँ नेतृत्व चयन गर्नेछ। सहमतिकै लागि विधान परिमार्जन गर्न गए राति सम्पन्न केन्द्रीय कमिटीको बैठकले २२५ सदस्यीयलाई ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव बन्दसत्रमा पेश गर्ने निर्णय गरेको थियो। तर, केन्द्रीय कमिटी बैठकले पदाधिकारी थप गरेपनि आकांक्षीहरूबीच सहमति नजुट्दा बन्दसत्रमा ढिलाइ भएको छ।

एमाले अध्यक्ष केपी ओली केही बेरा अगाडि मात्र बन्दसत्रस्थलमा प्रवेश गरेका छन्। उनी बिहानदेखि आफू बसेको रिसोर्टमा निकट नेताहरूसँग छलफलमा जुटेका थिए। एमालेमा वरिष्ठ उपाध्यक्ष र महासचिवमा बढी सकस देखिएको छ। वरिष्ठ उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ र ईश्वर पोखरेलले दाबी छाडेका छैनन्। महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलको दाबी छ। आफ्नै समूहका आकांक्षीले अडान नछाड्दा ओलीलाई सकस भएको हो। सहमति नजुटेपछि अध्यक्ष ओली बन्दसत्रस्थलमा पुगेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्