माओवादी केन्द्र अब क्रान्तिकारी धारमा अघि बढ्छ : प्रचण्ड

prachanda
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रक्रियावादी, अवसरवादी, संशोधनवादी, प्रतिक्रान्तिकारी सबैले माओवादी आन्दोलन र त्यसको नेतृत्वलाई तारो बनाएको बताएका छन्। पार्टीको ७५३ पालिका सम्मेलनलाई शनिवार भर्चुअल सम्बोधन गर्दै प्रचण्डले माओवादी र त्यसको नेतृत्वलाई तारो बनाएकाले परिवर्तनका उपलब्धि रक्षाका निम्ति सबै एकजुट हुनुपर्ने बताए।

‘कुनै न कुनै रूपमा माओवादी आन्दोलनले स्थापित गरेका मान्यताहरू र यसले अगाडि ल्याउन खोजेका समाजवादी आन्दोलन, समाजवादी अभियानलाई निस्तेज पार्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तत्त्वहरू लागेका छन्। यसलाई चिर्ने चुनौती पनि छ। यो एउटा अवसर र चुनौती दुवै हाम्रासामु खडा छ’ प्रचण्डले भने, ‘हामी एकतावद्ध भएर जाँदा यो सामना गर्न सकिन्छ। यसमा हामी सबै एकजुट भएर लागौं।’

प्रचण्ड अब पार्टी क्रान्तिकारी धारमा अघि बढ्ने बताए। उनले मार्क्सवाद, लेनिनवाद र माओवादी विचारधारालाई आत्मसात् गर्दै अघि बढ्न निर्देशन दिए। उनले नेकपाकालपछि पार्टीलाई पुनः अघि बढाउँदा नेताहरूमा क्रान्तिकारिता नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरे। पार्टी अहिले विचार र संगठनलाई पुनर्गठित गर्दै अघि बढेको उनले बताए। प्रचण्डले राष्ट्रिय सम्मेलनलाई वैचारिक सम्मेलन बनाउन पार्टी हेडक्वार्टरलाई सुझाव दिन आग्रह गरे। फरक प्रसंगमा उनले एमालेको १०औं महाधिवेशनमा विचारलाई निषेध गरिएको टिप्पणी गरे।

‘तपाईँहरूले देख्नु नै भएको छ कुम्भमेलामा विचारलाई कुनै महत्त्व नै छैन,’ उनले भने, ‘यसरी पनि महाधिवेशन हुने रहेछ। हाम्रो राष्ट्रिय सम्मेलन अरू पार्टीको महाधिवेशनसँग तुलना नै हुन सक्दैन।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्