जापानमा विदेशीलाई प्रवेश निषेध गर्ने तयारी

japan Tokiyo
लोकपाटी न्यूज

काठमाडौं। जापानमा फेरि पनि विदेशी यात्रुलाई प्रवेश निषेध गर्ने तयारी भएको छ्। सिमानामा कडाइका साथ परीक्षण गर्ने व्यवस्था गर्न लागिएको प्रधानमन्त्री फुमियो किशिदाले सोमवार जानकारी दिए।

अफ्रिकी देशहरूमा कोरोना भाइरसको नयाँ संस्करणको रूपमा देखिएको ओमिक्रोन को महामारी आफ्नो देशभित्र प्रवेश नगरोस् भन्ने उद्देश्यले विदेशबाट आउनेहरूलाई जापान प्रवेशमा निषेध गर्न लागिएको हो।

गत नोभेम्बरको सुरुदेखि विदेशबाट आउनेहरुलाई प्रवेशमा खुकुलो बनाइएको थियो। नयाँ खुकुलो व्यवस्थाका आधारमा व्यवसायी, विदेशी विद्यार्थी र जापानको भिषा भएकाहरुलाई प्रवेश गर्न दिइएको थियो। टोकियोले गत शुक्रवार नै अफ्रिकी ६ मुलुकबाट जापान आउनेहरुलाई कम्तीमा १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गरेको थियो।

यस्तो नियम अन्य देशहरुबाट आउनेहरुलाई पनि बढाउदै लगिने प्रधानमन्त्री किशिदाले जानकारी दिए। “कोरोनाभाइरसको महामारीविरुद्ध जापान सधैँ कठोर रुपमा उभिएकै हो, अहिले ओमिक्रोनविरुद्ध पनि उत्तिकै कडा रुपमा उभिने छ,” प्रधानमन्त्री किशिदाले भने।