अनेमसंघ (क्रान्तिकारी) कर्णाली प्रदेशले गरायो पार्टीको ध्यानाकर्षण

pic
लोकपाटी न्यूज
0 Shares

सुर्खेत। नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कर्णाली प्रदेश समितिले प्रदेश सरकारमा महिला सहभागिताको लागि पार्टीको ध्यानाकर्षण गराएको छ। शनिबार सम्पन्न प्रदेश समितिको बैठकले सरकारमा महिला सहभागिताको अनिवार्यताका लागि पार्टीलाई ध्यानाकर्षण गराउने निर्णय गरेको हो।

आइतबार पत्रकार सम्मेलन गरेर अनेमसंघ (क्रान्तिकारी)  प्रदेश समितिले प्रदेश सरकारमा अनिवार्य महिला सहभागिताका लागि जोड दिएको जनाएको छ। प्रदेश इञ्चार्ज बिमला केसीले सरकारमा पार्टीबाट महिला सहभागिता अनिवार्य गर्नुपर्छ भनेर ध्यानाकर्षण गराइने बताइन्।

प्रदेश सरकारमा हालसम्म माओवादी केन्द्रबाट दुई जना महिला मन्त्री भइसकेका छन्। कांग्रेस नेतृत्वको प्रदेश सरकारमा पनि महिला सहभागिता गराउन पहल गरिने उनले जानकारी दिइन्। मन्त्रालयमा भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन। अहिले माओवादी केन्द्रबाट एक जना मात्रै मन्त्री भएका छन्। आर्थिक मामिला तथा योजनामन्त्रीमा बिन्दमान विष्ट मात्रै नियुक्त भएका हुन्। माओवादी केन्द्रले चार वटा मन्त्रालय माग गरेको छ। यसमा अनिवार्य महिला सहभागिता हुनुपर्ने उनको भनाई छ।

इञ्चार्ज केसीले पार्टी भित्र पनि कार्यकारी पदहरुमा महिलाहरुको प्रतिनिधित्व बनाउने कुरामा केही सीमाहरु देखिएकाले आगामी दिनहरुमा अझै व्यवस्थित ढङ्गले पहल लिने बताइन्। सात प्रदेश मध्ये न्यूनतम ३ वटा प्रदेशमा पार्टी कमिटीको अध्यक्षतामा महिलाको नेतृत्व सुनिश्चित गर्नका लागि महिला संगठन केन्द्रीय कार्यालयलाई सुझाव दिने निर्णय गरेको उनले जानकारी दिइन्।

बैठकले प्रदेश सम्मेलन र राष्ट्रिय सम्मेलनमा प्रभावकारी महिला सहभागिताका लागि योजनाबद्ध रुपमा संस्थागत पहल लिने निर्णय गरेको छ। यस्तै अनेमसंघ क्रान्तिकारीको कर्णाली प्रदेश सम्मेलन फागुन २४ गते हुने भएको छ। प्रदेश समितिका संयोजक हरिमाया शर्माले यही मंसिर २८ र २९ गते गर्ने भनिएको प्रदेश सम्मेलन व्यवहारिक कठिनाई भएकाले स्थगित गरेर फागुन २४ गते गर्ने बैठकले निर्णय गरेको जानकारी दिइन्।

सम्मेलन अघिसम्म माघ ३ गतेसम्म तीन लाख सदस्यता नविकारण र विस्तार गर्ने , इकाई , टोल इकाई गठन गरि सक्ने उनले जानकारी दिइन्। फागुन ७ गते बाँकी रहेका वडा सम्मेलन, १४ गते पालिका सम्मेलन र २४ गते प्रदेश सम्मेलन उद्घाटन गर्ने उनले बताइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्