कोइरालामा आउला कांग्रेस नेतृत्व ?

koerala
लोकपाटी न्यूज

काठमाडौं। ‘हाम्रो मुलुक अयोग्य शासनले गर्दा अराजकता र अशान्तितिर ढल्किन लागेको छ। अब एउटा दरिलो, खँदिलो र बलियो सरकारले मात्र मुलुकलाई यस घातक स्थितिबाट जोगाउन सक्छ। यसैअनुसार प्रधानमन्त्रीज्यूलाई मन्त्रिमण्डलमा अहिले भएको संस्थाका सातजना मात्र सहयोगी राख्ने सल्लाह दिँदा उहाँहरूको नामावली पनि दिइयो तर त्यो सल्लाह प्रमज्यूले मान्नुभएन।

त्यसपछि पनि कार्यकारिणीद्वारा दिइएको त्यससम्बन्धी सल्लाह प्रमज्यूले नमान्नुभएकाले अब का.स.ले प्रमज्यूलाई आफ्ना अरू साथीहरूसहित सरकारबाट राजीनामा दिन आदेश दिन्छ।’ नेपाली कांग्रेसको २००९ साउन ६ गते बसेको कार्यसमितिको निर्णय हो यो। त्यति बेला नेपाली कांग्रेसका सभापति बिपी कोइराला थिए भने प्रधानमन्त्रीमा दाजु मातृकाप्रसाद कोइराला।

दाजुभाइबीचको शक्ति संघर्षको होडले बिपी कोइरालाले मातृकालाई सरकारबाट मात्र फिर्ता बोलाएनन्, पार्टी निर्णय नमानेको भन्दै कांग्रेसको साधारण सदस्यसमेत नरहनेगरी हटाइदिए। बिपी र मातृकाको विवादलाई नजिकबाट नियालेको इन्डियन नेसनले २२ जुलाई १९५२ मा लेखेको थियो, ‘नेपाली कांग्रेसका प्रमुख नेताहरूलाई यो थाहै होला कि उनीहरूको कुनै ठूलो मतभेद नेपाली कांग्रेसका निम्ति मात्र हानिकारक छैन,अपितु संस्था र देशमा अहिले चलेको प्रजातान्त्रिक प्रणालीको प्रयोगका निमित्त हानिकारक सिद्ध हुन्छ।’ ग्रीष्मबहादुर देवकोटाद्वारा लेखिएको ‘नेपालको राजनीतिक दर्पण’ पुस्तकले यो विषय समेटेको छ।

भाइ फुटे गवार लुटे भनेजस्तै बिपी र मातृकाको शक्ति संघर्षले स्थापनाको छोटो समयमै कांग्रेस विभाजन हुन पुग्यो भने १ सय ४ वर्ष लामो राणाशासन अन्त्यसँगै स्थापना भएको प्रजातन्त्र धर्मराउन पुग्यो। राजा त्रिभुवनले संविधानसभा निर्वाचन टार्दै गए। २०१५ सालमा अनेकौं दबाबपछि मात्र अर्का राजा महेन्द्रले आम निर्वाचन गराए। तर, त्यसपछि उनले २०१७ पुस १ गते आफ्नो हातमा सत्ता लिए। मातृका र बिपी कृष्णप्रसाद कोइरालाका दुई पत्नी मोहनकुमारी र दिव्याका सन्तान हुन्। दिव्यातर्फ बिपीका साथै अरू तीन छोरा केशवप्रसाद,तारिणी र गिरिजाप्रसाद हुन्।

बिपी र मातृकाबीचको झगडाका कारण पार्टीले विभाजन बेहोरेको झन्डै ७० वर्षपछि यतिखेर कोइराला परिवारको तेस्रो पुस्ता कांग्रेस नेतृत्वमा पुग्न तम्सिएको छ। १३औं महाधिवेशनको सम्मुखमा तत्कालीन सभापति सुशील कोइरालाको निधनसँगै कांग्रेसको मूल नेतृत्वबाट बाहिर परेको कोइराला परिवार १४औं महाधिवेशनमा नेतृत्वमा पुग्ने कसरतमा छ।
राणा शासनविरोधी आन्दोलनमा व्यापारिक पृष्ठभूमिका कृष्णप्रसाद कोइरालाको पनि योगदान थियो। र, उनीबाटै प्रेरणा पाएर मातृकाप्रसाद, विश्वेश्वरप्रसाद (बिपी), केशवप्रसाद, तारिणीप्रसाद र गिरिजाप्रसाद कोइराला राजनीतिमा होमिएका थिए।

केशवप्रसाद र तारिणीबाहेकका तीनैजना मुलुकको प्रधानमन्त्री पनि बने। तिनै बिपीका जेठा छोरा प्रकाश कांग्रेस राजनीतिमा सक्रिय रहे पनि २०६१ सालको शाही कदमपछि तत्कालीन राजा ज्ञानेन्द्रको अध्यक्षतामा बनेको सरकारमा वातावरण विज्ञान तथा प्रविधिमन्त्री बने।

त्यससँगै उनी कांग्रेस राजनीतिमा असान्दर्भिक साबित भए। माइला श्रीहर्ष सक्रिय राजनीतिमा खासै चर्चामा छैनन्।चिकित्सा पेसाबाट बिदा लिएर बिपीका कान्छा पुत्र शशांक अहिले कांग्रेस महामन्त्री छन्। कृष्णप्रसादका माइला छोरा केशव राजनीतिक कम, पारिवारिक व्यवस्थापनमा बढी सक्रिय थिए। उनका कान्छा छोरा हुन केन्द्रीय सदस्य शेखर, नेत्री सुजाता तत्कालीन कांग्रेस सभापति एवं माओवादीलाई शान्ति प्रक्रियामा सक्रिय गिरिजाप्रसाद कोइरालाकी छोरी हुन्। बिपी, केशव र गिरिजाप्रसादका कान्छा सन्तानहरू शशांक, शेखर र सुजाता अहिले कांग्रेस नेतृत्वको दौडमा छन्।

कोइराला परिवारको राजनीतिक बिरासत पार्टीको १४औं महाधिवेशनबाट आफूमा केन्द्रित गर्न उनीहरू सक्रिय छन्। आफूबाहेक वर्तमान सभापति शेरबहादुर देउवालाई अर्कोले पराजित गर्ने नसक्ने दाबी गर्दै आएका छन्। कोइराला परिवारबाट तीनमध्ये एक मात्र उम्मेदवार हुने भन्दै पार्टी नेता तथा कार्यकर्तामाझ उनीहरूले हार्दिकता देखाउने त गरेका छन तर उनीहरूबीचको शक्ति संघर्ष भने स्वाभाविक र सुमधुर नरहेको निकटहरू बताउँछन्।

कोइराला परिवारबाट पार्टी राजनीतिमा कसले स्थान बनाउने र कसलाई अघि बढाउने भन्ने होड र विवादले परिवारिक बेमेल र तिक्तता बाहिर नै पोखिने गरेको छ। उमेरले सबैभन्दा कान्छा तर कांग्रेस महामन्त्रीसमेत रहेका शशांक,उपप्रधानमन्त्रीसम्मको जिम्मेवारी सम्हालिसकेकी सुजाता र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति हुँदै हाल केन्द्रीय सदस्य शेखरबीच त्यही टकरावले कुनै समय उनीहरूबीच औपचारिक मात्र सम्बन्ध रहेको निकटहरूको दाबी छ।

अहिले तिनै तीन कोइरालालाई एक ठाउँमा उभ्याएर पार्टीको मुख्य नेतृत्वमा उनीहरूमध्ये एकलाई र्पुयाउने कसरतमा नेता तथा कार्यकर्ता जुटेका छन्। तर कोइरालाको गढ मानिएको प्रदेश १ को नेतृत्व कोइराला परिवारले गुमाएको छ। कृष्णप्रसाद कोइराला हुँदै बिपी, गिरिजाप्रसाददेखि शेखरसम्मको सानिध्य जोडिएको सो प्रदेशमा शेरबहादुर देउवाको समर्थन रहेका उम्मेदवार उद्धव थापा निर्वाचित भएका छन्।

नेता कृष्णप्रसाद सिटौलानिकट थापाले राष्ट्रिय राजनीतिमा आफ्नो बलियो स्थान बनाएका पार्टी केन्द्रीय सदस्य गुरुराज घिमिरेलाई पराजित गरेका छन्। त्यति मात्र होइन, कोइराला परिवारको समर्थन सर्वमान्य नेता गणेशमान सिंहको लिगेसी रहेको वाग्मती प्रदेशमा पनि उनीहरूले गुमाएका छन्।

जबकि प्रदेश १ र वाग्मती प्रदेशमा शेरबहादुर देउवासहित अहिलेको संस्थापन पक्ष कमजोर रहेको चर्चा गरिँदै आएको थियो। निर्वाचन भएका ६ मध्ये चार प्रदेशको नेतृत्व संस्थापनको हातमा पुगेको छ। प्रदेशसम्मको अधिवेशनले कोइराला परिवार मात्र होइन,इतर पक्षका सबै आकांक्षीलाई एकजुट हुन सन्देश दिएको छ।

तर, संस्थापन इतरबाट सभापतिका सबै आकांक्षी होइन, अहिलेसम्म कोइराला परिवारबाट पनि एउटा मात्र उम्मेदवार हुनेमा ढुक्क हुने अवस्था छैन। नेतृत्वका आकांक्षी तीनैजनाले आफू मात्र बलियो रहेको जिकिर गर्दै आएका छन्।बिपी पुत्र शशांक आफूमा कोइराला परिवारको लिगेसी रहेको र महामन्त्रीका रूपमा पनि काम गरिसकेको दाबी गर्छन्। दाजु शेखरलाई पार्टीका नेता तथा कार्यकर्ताले केन्द्रीय सदस्यबाट एकैपटक सभापतिमा स्वीकार नगर्ने निकटहरूसँग बताउँदै आएका छन्। आफूबाहेक अरूले देउवाको विकल्प दिन नसक्ने बताउँदै आएका छन्।

सहमतिका लागि उनले लचिलो हुने संकेत भने गरेका छन्। चार वर्षदेखि देशभरिका पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गरेको दाबी गर्दै सभापतिको उम्मेदवारबाट पछि नहट्ने बताउँदै आएका छन्। महामन्त्रीका रूपमा शशांकले भूमिका देखाउन नसकेको र नेता रामचन्द्र पौडेलले पनि अब त्याग गर्नुपर्ने दाबी गर्दै आएका छन्।

आफूलाई सबैले सभापतिमा स्वीकार गर्नुपर्ने जिकिर गर्दै आएका शेखरले प्रधानमन्त्री, राष्ट्रपतिसहितका पदमा पावर सेयरिङको प्रस्ताव अघि सार्दै आएका छन्। नेत्री सुजाता शेखर र शशांकभन्दा केही लचिली देखिएकी छन्। तर, संस्थापन इतर समूहबाटै सभापतिको आकांक्षी प्रकाशमान सिंह अहिलेसम्म शेखर वा शशांकलाई नेतृत्व स्वीकार गर्ने पक्षमा देखिँदैनन्। आफूले सधैं त्याग गर्दै आएको तर आफ्नै समूहबाट सहयोग नपाएको गुनासो गर्दै आएका गणेशमान पुत्र प्रकाशमानले १४औं महाधिवेशन नेतृत्वको प्रतिस्पर्धामा उत्रिने दाबी गर्दै आएका छन्।

प्रकाशमान शेखरलाई पार्टी र सत्ता राजनीतिमा कनिष्ठ ठान्दछन् भने शशांकले महामन्त्रीमा आफ्नो योग्यता देखाउन नसकेको उनको बुझाइ छ। उनले २०७४ सालको निर्वाचनपछि भएको संसदीय दलको निर्वाचनमा शशांकले सहयोग नगरेको निरन्तर गुनासो गर्दै आएका छन्।

संस्थापन इतरबाट सभापतिका अर्का आकांक्षी छन् रामचन्द्र पौडेल। १३औं महाधिवेशमा तत्कालीन संस्थापन पक्षको प्रतिनिधित्व गर्दै नेतृत्व प्रतिस्पर्धामा उत्रिएका पौडेलले १४औंमा साझा उम्मेदवार निर्माण गर्न बाधक नहुने बताउँदै आएका छन्।

आफूबाहेक अर्को उम्मेदवार हुँदा देउवाको विकल्प दिन नसकिने जिकिर गर्दै आएका पौडेल साझा उम्मेदवार नभएको अवस्थामा प्रतिस्पर्धामा उत्रिनेछैनन्। तर, पौडेलले मात्र उम्मेदवारी नदिँदैमा पार्टी स्थापनाको ७५ वर्षमा झन्डै ५० वर्ष बिपी,मातृका, गिरिजा र सुशीलको वरिपरि घुमेको कांग्रेस नेतृत्व १४औं महाधिवेशनबाट कोइराला परिवारमै फर्काउन त्यति सहज देखिँदैन।

यद्यपि उनीहरूले प्रकाशमान, शशांक मात्र होइन, पार्टी उपसभापति एवं नेता महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र निधिसहितको त्रिपक्षीय भेटघाट र छलफललाई समेत अघि बढाउँदै आएका छन्। देउवाको विकल्प दिन भन्दै इतर पक्षका नेताहरूले पनि छलफल छाडेका छैनन्। आजको नागरिक दैनिकमा समाचार छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्