मैले गुमाएको एउटा संसार

लोकपाटी न्यूज

चाहात बास्काेटा/चितवन। सानो सपना अनि थोरै आशा बोकेर हिँड्ने यी आँखा बिलिन हुँदै थिए, भरिँदै थिए। शरीर त्यसै गलिरहेको थियो। पसिनाले निथ्रुक्क भिजेको थिएँ त्यसरी, जसरी बर्षायामको पानीले माटोलाई भिजाउँछ र गलाउँछ। मन लामाे रेशको घोडाभन्दा बढी रफ्तारमा कुदिरहेको थियो, मानौं उसलाई सबैभन्दा पहिले पुग्नुछ ।

पाइलाहरु धर्मराउँदै थिए। एक-एक पाहिला चाल्न पनि मलाई निकै गाह्राे महसुस भइरहेको थियो । मुटुको धड्कन बेस्सरी चलिरहेको थियो। शरीर थरथर काँपिरहेको थियो। अघि भरिएका ती आँखाहरु अब धुमिल हुँदै थिए। श्वास फेर्न नसकेझैं, शरीर ढल्न लागेझैं। बबरमहलदेखि  थापागाउँ सम्मको यात्रा पनि गोसाईंकुण्डको उकालो जस्तै लाग्न थाल्यो। हुन त म बानेश्वर झर्नुपर्ने तर कुन हालतमा बबरमहल पुगें, पत्तो भएन। एक्कासी खलासीले बबर्महल भन्दा झसङ्ग भएँ। हातमा बाँधिरहेको घडी पिलिक्क बल्यो, रातको ८:३२ भएछ। त्यसपछि नचाहेर नै रुमको बाटो लागेँ।

पाइलाहरु अझै काम्दै थिए ।बाटोमा हिँड्नेहरुको हल्ला थाहा भएन तर मेरो मन मस्तिष्कमा निकै होहल्ला भइरहेको थियो । दिल र दिमागबीच घमसान युद्ध चल्दै थियो। दिमाग भन्दै थियो जीत मेरो हुँदै छ, दिल भन्दै थियो म हार्दै छु । उफ् ! चुप लाग तिमीहरु । बेस्सरी चिच्याएँ । मलाई पत्तो भएन कस्ले कसरी हेर्यो । जित दिल र दिमाग जस्को भए पनि हार्दै म थिएँ । जिन्दगीमा कहिलेकाहीँ यस्तो परिस्तिथि पनि आउँदो रहेछ, जहाँ आफ्ना अनि आफन्तहरुसँग जोडिएका सारा गुनासाहरु सकिँदा रहेछन्। र रहँदाेरहेछ केवल शून्यता। कति हदसम्म आँखा चिम्लेर हामी कसैलाई विश्वास गर्छाैं। कसैको मायामा कतिसम्म भरोसा गरिन्छ। तर हामीलाई थाहा हुँदैन हामीले गरेको विश्वास कहाँसम्म पुग्छ भन्ने कुरा ।

म अब हारेको छु, थाकेको छु, गलेको छु । कहिल्यै नउठ्ने गरि लडेको छु । हो, म हारें ! हारेँ म त्यही मान्छेसँग जसलाई मैले हदभन्दा बढी माया अनि भरोसा गरेको थिएँ। उ अब मेरो थिएन । अहँ, थिएन । उ त अरु कसैको संसार भइसकेको रहेछ। मैले हेर्ने उसका आँखामा अरु कोही प्रतिविम्बित भइसकेछ। मैले समाउने उसका हातले अरु कसैका हात सामाउन पुगिसकेछन् । म बस्ने उस्को दिलमा अरु कोहीले ठाउँ ओगटिसकेछ। त्यही मान्छे, जसलाई आँखा बन्द गरेर ‍विश्वास गरेको थिएँ।

थाहा छैन, जिन्दगीले कति बेला साथ छोड्छ, त्यही पनि जिन्दगीदेखी थाकेको छु। सायद, मेरो जिन्दगीमा दु:ख होइन, दु:खमा मेरो जिन्दगी भएर होला। गुनासो पनि छैन अब कसैसँग, गुमाउनलाई पनि केही बाँकी रहेन…। रह्यो त केबल यो भतभती जलेको मन…, न त पानीले भिजाउन सक्छु, न त निकालेर फाल्न सक्छु। सायद, आगोले पोलेको भए बरफ, पानीले निको बनाउन सक्थेँ होला। तर त्यसै पाेलेको मनलाई कसरी बुझाउँ ? कुन नदीमा लगेर डुबाउँ ? पींडा नै पींडा भरिएकाे जिन्दगीमा एकमाथि अर्को पींडा थपिन कति समय लाग्थ्यो र ? कसैलाई गुमाउनुको पींडा केवल गुमाउनेलाई मात्र थाहा हुन्छ। थाहा छैन, उसलाई चाहनु मेरो नियत खराब कि उसलाई पाउन नसक्नु मेरो किस्मत्…!

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्