बजेट फ्रिज हुन नदिन खेलकुद मन्त्रीको निर्देशन

लोकपाटी न्यूज

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले विकास निर्माणका लागि आएको बजेट फ्रिज नगरी तीव्रताका साथ कार्यान्वयन गर्न बाँके जिल्ला कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

बुधबार जिल्ला प्रशासन कार्यालय बाँकेको सभा हलमा सम्पन्न जिल्ला कार्यालयका प्रमुखहरूसँगको बैठकमा मन्त्री गहतराजले निर्माण कम्पनीहरूले ठेक्का पाइसकेपछि काम नगर्ने तथा ढिलासुस्ती गर्ने प्रचलनले काममा ढिलाइ हुने गरेको बताए ।

उनले भने, ‘काममा लापरबाही र ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीहरूलाई सम्बन्धित कार्यालयले निरन्तर अनुगमन गरिरहने र जनतालाई पनि दवाब सृजना गर्न लगाउनुपर्छ।’  मन्त्री गहतराजले कुनै पनि कार्यालयलाई काम गर्न समस्या भए आफूले सहजीकरण गर्ने प्रतिबद्धता पनि जनाए ।

उनले जिल्ला भ्रमणको क्रममा सिक्टा सिँचाइँ आयोजना, हुलाकी सडकमार्ग, बाँकेमा पूर्ण बिद्युतीकरणलगायत जिल्लामा निर्माण हुनलागेका सडक, पुल तथा अन्य विकास निर्माणको कार्यान्वयनबारे सम्बन्धित कार्यालय प्रमुखरट्ठसँग प्रगति विवरणबारे जानकारी लिएका थिए ।

विकास निर्माणमा आइपरेका समस्या र समाधानको उपाय खोजी गर्ने उद्देश्यले आयोजना गरिएको बैठकमा करिब एक दर्जन कार्यालय प्रमुखहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्