मेघौलीका मुसहर भन्छन् : मेयर दाहाल भगवान हो

लोकपाटी न्यूज

सुनिल पराजुली/भरतपुर। भरतपुर महानगरपालिकाले पक्की घर बनाइदिएपछि वडा न. २७ र २८ मेघौली दद्रेनीका मुसहरहरु खुसी भएका छन् । भरतपुर महानगर प्रमुख रेणु दाहालको पहलमा आर्थिक बर्ष २०७७/०७८ को २३ लाख ५७ हजारको कुल बजेटमा दद्रेनीमा ६ वटा घर निर्माण भएको हो ।

जसमा एउटा भान्सा कोठा, दुई वटा सुत्ने कोठा र एउटा शौचालय रहेको छ । आज भएको कार्यक्रममा महानगरको तर्फबाट मुसहरको लागि खाद्यन्न पकाएर खाने भाँडाकुडाँ र जाडोको लागि ओड्ने सिरक र डसना समेत सहयोग भएको छ ।

आवास निर्माण भएको स्थलमा एक कार्यक्रमका बीच बुधबार मेयर दाहाले सामूहिक आवास मुसहरलाई हस्तान्तरण गरेकी छन्। कार्यक्रममा मेयर दाहालले गत वर्षको वर्खाको समयमा स्थलगत अनुगमन गर्दा मुसहरहरुको दयनीय अवस्था देखेर आवास निर्माणमा जुटेको बताइन् ।

उनले महानगर भित्रका विभिन्न वडाका अति विपन्न गरिबको घर महानगरले बनाएर हस्तान्तरण गर्ने पक्रियामा रहेको बताइन्। उनले भनिन्, ‘हाम्रो उद्देश्य भनेको महानगरलाई खरको छानामुक्त बनाउनु हो । यो छिट्टै पूरा गर्नेछौं ।’

महानगरले घर बनाइदिएपछि त्यहाँका मुसहरहरु खुसी भएका छन् । नयाँ घर पाएपछि ३५ बर्षिय दीपक मुसहर भन्छन्, ‘खरको छानामा कष्टसँग रात बिताउन बाध्य हाम्रो लागि पक्की घर बनेको छ। मेयर दाहाल भगवान हो।’

यस्तै, २५ वर्षिय सुनिता मुसहर भन्छिन्, ‘खरकाे घरमा दुःख गरेर गुजारा गरेको हामीले यसरी पक्की घरमा बस्न पाउँछौं भनेर कहिल्यै सोचेको थिएनौं । बर्खाको समयमा दिनभर काम गरेर फर्कियो रातभर पानी परेर सुत्न पाँदैनथ्यो। अब ढुक्क छौं जति थकाइ लागे पनि आनन्दले सुत्न पाइन्छ। मिठो निन्द्रा लाग्छ।’ त्यस क्षेत्रका स्थानीयले मेयर दाहालको प्रशंसा गर्दै बल्ल स्थानीय सरकार भएको महसुस भएकाे बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्