एकतावद्ध भएर नयाँ कार्यदिशा संश्लेषण गर्छौं : नारायणकाजी श्रेष्ठ (सम्वोधनको संक्षेप)

लोकपाटी न्यूज

गत श्रावण ३१ गते सम्पन्न केन्द्रीय समितिको ऐतिहासिक बैठकको संश्लेषण र निर्णयअनुसार हामी यो सम्मेलनमा जुटेका छौं। यो सम्मेलन संगठनात्मक सुदृढीकरणको अभियान मात्र होइन, संगठनात्मक रूपान्तरणको महाअभियान पनि हो। विषयलाई यसरी बुझेर मात्र हामीले सम्मेलनको ऐतिहासिक कार्यभार आत्मसात गर्न सक्छौं। नेपाली क्रान्तिको कार्यदिशाको संश्लेषण नै आजको मुख्य कार्यभार हो। हामीले राष्ट्रिय सम्मेलनमा यही कार्यभारको वरिपरि रहेर बहस र अनुसन्धान गर्नेछौं। यो कार्यभारमा सिंगो पार्टी एकतावद्ध भएर होमिन आवश्यक छ।

हामीले क्रान्तिको नेतृत्व कम्युनिस्टको हातमा राखिराख्ने लक्ष्य लिएका थियौं। नेपाली जनताको जीवनमा परिवर्तन, सामाजिक न्यायसहितको समृद्धि, राजनीतिक परिवर्तनलाई माध्यम बनाएर साम्राज्यमाथि रूपान्तरण, नागरिकका आधारभूत आवश्यकताका समस्याहरूलाई समाधान गर्ने र समाजवादका आधार तयार गर्न हामीले कम्युनिस्टहरूलाई एकतावद्ध गर्ने उद्देश्य राखेर पार्टी एकता गरेका थियौं। हामीले जारी गरेको संविधानको सफल कार्यान्वयन, देशले प्राप्त गरेका राजनीतिक परिवर्तनलाई संस्थागत गरेर नेपाली नागरिकको जीवनमा परिवर्तन गर्नका निम्ति राज्यको नेतृत्व हामीले गर्नु आवश्यक थियो। त्यसअन्तर्गत हामी एकतामा गएका थियौं।

हामी कम्युनिस्ट क्रान्तिकारी पनि हौं। त्यसकारण हामी सामाजिक न्यायसहितको समृद्धिमा मात्र सीमित हुन सक्दैन थियौं। हामी समाजवादी क्रान्ति पूरा गर्ने रणनीति तयार गरेर अघि बढ्न चाहन्थ्यौं। हाम्रो एकताको केन्द्रबिन्दुमा यो लक्ष्य थियो। तर विदेशी शक्ति केन्द्रको संलग्नता र एमाले अध्यक्ष केपी ओलीको आत्मव्यक्तिवादको कारणले कम्युनिस्ट शक्ति एकीकृत गरेर हामीले राखेको लक्ष्य पूरा हुनतिर अघि बढ्न दिइएन। जसअनुरूप हामीमाथि प्रतिगामी प्रहार भयो। हिजो प्राप्त गरेका राजनीतिक परिवर्तनलाई खतरामा पार्ने काम भयो। अर्कातिर नेकपा विभाजित गरेर नेपाली कम्युनिस्ट आन्दोलनमाथि आक्रमण गरियो।

कम्युनिस्टहरुको एकताले ऐतिहासिक अवसर र सम्भावना देखा परेका थिए। नेपालमा एक्कासौं शताब्दीमा नयाँ मोडेलबाट समाजवादी क्रान्तिलाई अघि बढाउने सम्भावना थियो। यी सम्भावनाहरूलाई ध्वस्त पार्न विश्वभरिका प्रतिक्रियावादीहरू लागि परे। हामीमाथि प्रतिगामी आक्रमण गरियो। हामी त्यो चुनौतीलाई सामना गर्ने गरी अहिले अघि बढिरहेका छौं। हामीले प्रतिगमनका विरुद्ध संघर्ष गर्‍यौं र त्यो सफल पनि भयो। यद्यपि आज पनि हामी प्रतिगामी खतराप्रति सजग हुनपर्नेछ। अर्कोतिर नेपाली कम्युनिस्ट आन्दोलनले देखाएका अवसर र सम्भावनाहरूलाई साकार पार्नेतिर पनि हामी अगाडि बढ्नुपर्नेछ। सबै किसिमका आक्रमणहरूलाई परास्त गर्दै हामीले नयाँ क्रान्तिकारी पार्टीको रुपमा स्थापित गर्नेतिर जानुपर्नेछ। आज हामी त्यो ठाउँमा आइपुगेका छौं।

राजनीति कार्यभार र सांगठनिक कार्यभारका विषयमा हामी प्रष्ट हुनुपर्ने आवश्यकता छ। राजनीतिक कार्यभारका रूपमा हामीले नेपालमा उत्पीडित जाति, वर्ग, क्षेत्र, लिंग, सांस्कृतिक समुदाय र तराई, पहाड, हिमालको आन्तरिक राष्ट्रिय एकता सुदृढ गरेर राष्ट्रिय स्वाधीनताको रक्षा गर्नु हो। हाम्रो पहिलो कार्यभार यो हो। दोस्रो, प्रतिगामी कदमलाई असफल पारेका छौं। तर प्रतिगामी खतरा भने अझै बाँकी छ। संविधान र लोकतन्त्रको संस्थागत र सुदृढीकरण गरेर यो प्रतिनिधि सभाको कार्यकाल पूरा हुँदासम्म गठबन्धनलाई कायम राख्न हाम्रो तात्कालिक कार्यभार हो। हामीलाई थाहा छ एमसीसीलाई हतियार बनाएर प्रतिगमनविरुद्ध संघर्षका क्रममा जन्मिएको गठबन्धनलाई फुटाउने षड्यन्त्र भइरहेको छ। त्यो षड्यन्त्र असफल बनाउनु पर्नेछ। भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गरी समृद्धिको लक्ष्य पूरा गर्ने मूल कार्यनीति बनाएर अघि बढ्नुपर्ने अवस्था छ।

हाम्रा राजनीतिक कार्यभारलाई पूरा गर्नको निम्ति संघर्षका तीनवटै मोर्चालाई संयोजन गर्ने नीति लिएका छौं। हामीले सरकार, सदन र सडक तीनवटै मोर्चाको संयोजन गर्छौं। हामीले तीन वटा मोर्चालाई संयोजन गर्ने बेलामा कहीँ गल्ती गर्नु हुँदैन। यसक्रममा हामीले तीन वटा कार्यभार पनि पूरा गर्नुपर्नेछ। पहिलो हाम्रो पार्टीलाई क्रान्तिकारी पार्टीको रूपमा स्थापित गर्नुपर्नेछ, रूपान्तरण गर्नुछ, पुनर्गठन गर्नुछ। दोस्रो, गठबन्धनलाई आवश्यकताको हदसम्म कायम राख्नु छ। तेस्रो, वामपन्थी शक्तिहरूको बीचमा आवश्यकताअनुसार कार्यक्रमिक संयुक्त मोर्चा निर्माण गर्ने प्रक्रियामा अगाडि बढ्नुपर्छ। चौथो, विचार, सिद्धान्त र समाजवादी क्रान्तिको निम्ति विचार मिल्ने शक्तिसँग एकीकरणको प्रक्रिया अगाडि बढाउनुपर्ने आवश्यकता छ। यो सँगसँगै अगाडि बढाउनुपर्छ।

तर पहिलो कुरा भनेको हाम्रो पार्टी निर्माण हो। हामीले हाम्रो पार्टीलाई व्यवस्थित गर्नुपर्छ। पार्टीलाई संस्थागत विधिसम्मत ढंगबाट सञ्चालन गर्ने, गतिशील र सक्रिय बनाउनुपर्ने विषय नै हाम्रो मुख्य कार्यभार हो। हाम्रो पार्टी त्यो हो जसले अहिलेसम्म निर्वाह गरेको भूमिकाप्रति गौरव गर्न सक्छ। हाम्रो पार्टीको कारण अहिले नेपालमा राजनीतिक परिवर्तन भएको छ। जुन संविधान आएको छ। संघीयता, लोकतन्त्र, समावेशीकरण लगायतका लोकतन्त्रका एजेण्डा स्थापित भएका छन्। त्यो हाम्रो पार्टीको भूमिकाका कारण सम्भव भएको छ। हाम्रो पार्टीको नेतृत्वमा प्रतिगमनका खतराहरू असफल बनाइएको छ। राजनीतिक उपलब्धिको रक्षाको निम्ति अघि आएको पनि हाम्रो पार्टी मात्र हो। समाजवादी क्रान्तिको कार्यभार कसरी अघि बढाउने भन्ने विषयमा गम्भीर ढंगले लागिपरेको पार्टी पनि हाम्रो पार्टी मात्र हो। त्यसकारण पनि हाम्रो पार्टीमाथि गौरव गर्छौं।

हिजो जनयुद्धको नेतृत्व गर्ने, त्यसपछि शान्ति प्रक्रियाको नेतृत्व गर्ने, संविधान निर्माणको नेतृत्व गर्ने, संविधान कार्यान्वयन प्रक्रियाको नेतृत्व गर्ने, प्रतिगमन विरुद्ध संघर्षको नेतृत्व गर्ने र आज संविधान र लोकतन्त्रको संस्थागत सुदृढीकरण गर्दै समाजवादको दिशातिर जानुपर्छ भन्ने शंखघोष गर्ने घोषणा गर्ने प्रचण्ड हामीसामु हुनुहुन्छ। नयाँ ऐतिहासिक चरणको समाजवादी क्रान्तिको नेतृत्व गर्ने क्षमता र योग्यता हासिल गर्न सक्ने पार्टी भनेको माओवादी केन्द्र मात्र हो। तर त्यसो लागि हाम्रो पार्टीले आफूलाई विकसित गर्नुपर्छ। हाम्रो कमजोरी र समस्याहरूको पहिचान गरेर समाधान गर्ने र सच्याउने संकल्प गरेर हामी अगाडि बढ्नुपर्छ। त्यसैले हामीले भनेका छौं क्रान्तिकारी रुपान्तरण आजको आवश्यकता छ। त्यसपछि मात्र हामी समाजवादी क्रान्तिको नेतृत्व गर्ने र सामाजिक न्यायसहितको समृद्धि गर्न सक्ने पार्टीको रूपमा आफूलाई विकसित र रूपान्तरण गर्न सक्छौं। त्यही आजको नेपाली समाजको र नेपाली क्रान्तिको आवश्यकता हो।

विचारको अस्पष्टतालाई विकसित गर्ने, राजनीतिक कार्यदिशालाई विकसित गर्ने, पार्टीलाई विधि पद्धतिसम्मत चलाउने, सामूहिकतामा चलाउने, व्यक्तिवाद र गुटवादलाई अन्त्य गर्ने, आम अनियमितता र भ्रष्टिकरणलाई रोक्ने र श्रमिक वर्गसँगको सम्बन्धलाई थप बलियो बनाउन समीक्षा गरेर आफूलाई क्रान्तिकारीका रूपमा रूपान्तरण गर्नुछ। यी विषयहरू आजका हाम्रा समस्या हुन्। समस्याहरूको समाधान गरेर, यथास्थितिवादसँग सम्बन्ध विच्छेद गरेर क्रान्तिकारी रूपान्तरण र पुनर्गठनको लागि पहल गर्नुपर्छ। हामीले यो निष्कर्ष निकालेर अध्यक्ष कमरेडको नेतृत्वमा पूरा गर्ने संकल्प लिएका छौं।

हामी कहाँ एउटा भ्रामक धारणा छ। शान्तिपूर्ण प्रतिस्पर्धामा भाग लिएपछि व्यक्तिवाद, गुटवाद र भ्रष्टिकरण त स्वाभाविक हो नि। यहाँ आउने अनि स्वच्छताको कल्पना गरेर हुन्छ ? क्रान्तिकारीको परिकल्पना गरेर हुन्छ भन्ने छ। यो भ्रामक धारणा हो। हामीले शान्तिपूर्ण प्रतिस्पर्धामा भाग लिनुको अर्थ पूँजीवादसँग समर्पण गरेका होइनौं। पूँजीवादका सहयात्री भएका होइनौं। पूँजीवादको अन्त्य गर्नका निम्ति शान्तिपूर्ण प्रतिस्पर्धामा आएका हौं। यो कुरालाई आत्मसात गर्नुपर्‍यो।

तसर्थ, सांस्कृतिक रूपान्तरणको प्रक्रियालाई अगाडि बढाउनुपर्छ।  त्यसपछि मात्र नयाँ समाजवादी क्रान्तिको अभियानलाई सफल पार्न सक्छौं। यसका निम्ति सिंगो पार्टी नेतृत्व एक ढिक्का भएर अगाडि बढ्ने संकल्प हामीले गरेका छौं।

यही क्रममा कमरेड प्रचण्ड र मेरो विषयलाई जोडेर गलत प्रचार गरिएको छ। त्यो किन भएको छ भने, यो पार्टी मात्र नेपालको कम्युनिस्ट आन्दोलन र वैचारिक सांस्कृतिक समस्यालाई हल गरेर क्रान्तिको नेतृत्व गर्ने सम्भावना छ। त्यो सम्भावनालाई पक्रन अध्यक्ष कमरेडको नेतृत्वमा हामी अगाडि बढेका छौं। त्यसलाई भाँड्नको निम्ति देशी र विदेशी शक्तिहरू लागिपरेको छ। त्यसबाट हामी सचेत हौं। भ्रममा नपरौं। हामी एकतावद्ध भएर अगाडि बढौं।

अर्को कुरा, यो पार्टीमा जीवन्त बहस हुन्छ। नेता र कार्यकर्ताबीच द्वन्द्वात्मक सम्बन्ध हुन्छ। एकता भएर सबै समस्याको हल खोज्छ भनेर त्यस प्रकारको प्रचार गरिएको हुनसक्छ। जेसुकै भएपनि आज नेतृत्वबीचको एकता आवश्यकता हो। हामी एकतावद्ध छौं। हामीबीच मतभेद छ भने पनि लुकाउनुपर्ने आवश्यकता छौं। त्यसकारण कुनै भ्रममा नपरौं। हामी पार्टीको रूपान्तरणमा संकल्पवद्ध छौं। एकतावद्ध भएर नयाँ कार्यदिशाको संश्लेषण गर्नेछौं।

– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का ९ वटै प्रदेश सम्मेलनको एकीकृत उद्घाटन समारोह (२५ मंसीर २०७८) मा माओवादी केन्द्रका नेता कमरेड नारायणकाजी श्रेष्ठले गर्नुभएको दिशानिर्देशको संक्षेपीकरण।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्