‘काँग्रेसमा नयाँ पुस्ताको उदय, चुनौती र सम्भावना’

लोकपाटी न्यूज
  • अमर पाण्डे,

बुटवल। नेपाली काँग्रेसको हालै सम्पन्न १४ महाधिवेशनबाट मिश्रित परिणाम सार्वजनिक भएको छ। सभापतिमा शेरबहादुर देउवाले दोस्रो कार्यकालका चयन भएका छन्। तर, उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा भने प्रशस्त नयाँ अनुहार देखा परेका छन्। देशको सबैभन्दा पुरानो र लामो प्रजातान्त्रिक इतिहास बोकेको पार्टीको महाधिवेशनमा देशभरका काँग्रेस कार्यकर्ताको मात्र नभएर समस्त देश तथा प्रदेशमा बस्ने नेपालीको चासो थियो। युवा नेताद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको उम्मेदवारीले यसअघि नै नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको थियो।

धूमधामसँग मंसिर २४-२६ सम्म चलेको काँग्रेस महाधिवेशनको सम्पूर्ण मत परिणाम आउन अझै बाँकी छ। तर, पदाधिकारीहरूको नतिजा भने सार्वजनिक भएको छ। संसदमा आफ्नै पार्टी र सत्तासीन दलको गलत हर्कतको हुर्मत लिन सिपालु गगन र प्रवक्ताको भूमिकामा निकै चर्चित विश्वप्रकाशको उदयले अहिले नेपालको राजनीति र बौद्धिक वर्ग तरंगित भएको छ। कतिपय राजनीतिका पण्डितहरू काँग्रेसले पुस्ता हस्तान्तरण र नेतृत्व परिवर्तनलाई संस्थागत गरेको र यसले समग्र राष्ट्रिय राजनीति लाइनै प्रभाव पार्ने बताउँछन्।

युवा र नयाँ अनुहारको उदयले कांग्रेसजनमा जागेको नयाँ आशा

नेपाली काँग्रेस २०४६ यता गुट र उपगुट एवं आन्तरिक अन्तर्घातले थिलथिलो परेको थियो। पार्टीभित्र मौलाएको गुट र तिनै गुट अन्तर्गतका सहायक गुटले काँग्रेसको आन्तरिक लोकतन्त्र र राष्ट्रिय राजनीतिलाई चरम विकृत बनाएको प्रशस्त उदाहरण हामी माझ छन्। बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि जस्ता जनताले आँखा चिम्लेर भरोसा गर्ने पात्रहरूको उच्च नैतिक एवं राजनीतिक धरातलबाट अंकुरित भएको पार्टी कालान्तरमा निकै व्यक्तिवादी बन्दै गयो। तिनै महान् नेताको विरासत बोकेर उनीहरूले गरेको त्याग र संघर्ष देखाएर अहिले पनि काँग्रेसका नेताहरूले राजनीतिक रोटी सेकेको आरोप लाग्दै आएको छ।

अहिले महामन्त्रीमा निर्वाचित भएका दुई युवा अनुहारले आफ्नो उम्मेदवारी घोषणकै क्रममा अब काँग्रेसभित्र व्यापक रूपान्तरण र शुद्धीकरणको खाँचो रहेको र आफू विजय भए त्यसमा निरन्तर काम गरेर पार्टीलाई थिति र विधिमा चलाउने प्रतिबद्धता जनाइ सकेका छन्। काँग्रेस कार्यकर्तामा मात्र नभएर गैरकाँग्रेस माझमा पनि लोकप्रिय तथा भरोसाका पात्र बनेको विश्वप्रकाश र गगनको उदयले काँग्रेस अब रूपान्तरित हुने आसा बढाएर लगेको छ। उपसभापतिमा धनराज गुरुङ र महामन्त्रीमा गगन थापा तथा विश्वप्रकाश शर्माको दिग्विजयले काँग्रेस कार्यकर्ता उत्साहित छन्। विद्यार्थी राजनीतिबाट नै निकै सक्रिय विश्व र गगन पार्टीभित्र निकै सशक्त वाक क्षमताले प्रचलित छन्।

महाधिवेशनबाट निर्वाचित १३ पदाधिकारी सहित ८ जना सभापतिको प्यानलकै आएता पनि अहिले सभापतिलाई मनमौझी गर्ने छुट पार्टीमा पक्कै हुनेछैन। किनकि, कार्यकारीको हिसाबले काँग्रेसमा सभापतिपछि सबैभन्दा शक्तिशाली पद महामन्त्री मानिन्छ जसमा दुई जना फरक स्कुलिङ र धरातलबाट आएका युवाहरू निर्वाचित भएर आएका छन्। झापाका विश्वप्रकाश र काठमाडौंका गगन थापाको जितले पार्टी मात्र नभएर देशभर रूपान्तरण र सुदृढीकरणको अपेक्षा आम जनमानसले गरेका छन्। विद्यार्थी राजनीतिबाट नै सहकर्मी भएर काँग्रेसको पार्टी राजनीतिमा आएका गगन र विश्वप्रकाशका धेरैजसो मुद्दा र विचारमा समानता पनि देखिन्छ।

काँग्रेसमा विजयी युवा नेताहरूका चुनौती र सम्भावना

निरन्तर पार्टीभित्र रूपान्तरण र व्यापक शुद्धीकरणको नारा बोकेर १४ औं महाधिवेशनमा होमिएका काँग्रेसका नवनिर्वाचित महामन्त्री दुई विश्वप्रकाश र गगनलाई भनेजस्तै पार्टीभित्र शुद्धीकरण र पद्धति बसाल्न त्यति सजिलो भने पक्कै हुनेछैन। देउवालाई विश्वासमा लिएर आफ्ना विचार र अवधारणा स्थापित गर्नु उनीहरूको मुख्य चुनौती हुनेछ। आसन्न तिनै तहका निर्वाचनमा काँग्रेसलाई ठूलो दल बनाएर सरकारमा जाने बाटो तय गर्नु पनि उनीहरूको प्रमुख चुनौती नै हो। पार्टीभित्र विद्यमान गुट र भागवण्डाको प्रचलन तोड्दै पार्टीलाई एक ढिक्का बनाएर लैजानु पनि उनीहरूको भावी चुनौती नै हो। विधानको मर्म र भावनाको समुचित प्रयोग गर्दै पार्टीलाई विधान सम्मत तवरले सञ्चालन गर्नु पनि उनीहरूका निम्ति पहाड जत्तिकै चुनौतीपूर्ण कार्य हो।

पार्टी प्रतिनिधिले नयाँ अनुहारहरूलाई ठूलो मौका दिएका छन्। यस पटक उनीहरूलाई चुक्ने छुट पटक्कै छैन। राष्ट्रिय राजनीतिमा देखिएको उथलपुथल र व्याप्त राजनीतिक खिचातानीलाई सन्तुलित राख्दै पार्टीको माध्यमबाट सम्पूर्ण देशलाई एउटा नयाँ युगमा पदस्थापन गर्ने सुनौलो र विशिष्ट अवसर अहिले काँग्रेसका नयाँ निर्वाचित युवा नेताको काँधमा आएको छ। यसको भरपुर सदुपयोग गर्दै देशलाई संविधानको उच्चतम कार्यान्वयनमा उनीहरूले कस्तो भूमिका खेल्छन्, त्यो भने हेर्न बाँकी नै छ। आपसी बेमेल र महाधिवेशनमा बनेका गुटलाई भत्काएर गुट विहीन पार्टी निर्माण गर्दै समग्र राष्ट्रको उत्थान र गतिशील काँग्रेस निर्माणमा उनीहरूको रणनीति र क्रियाकलाप भावी दिनले अवश्य देखाउला।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्