पुँजीवादको वर्तमान चरण : सैन्यकृत एकाधिकारवादी राष्ट्रिय पुँजीवाद

Pujibad
लोकपाटी न्यूज

पुँजीवादको वर्तमान सैन्यकृत राष्ट्रिय एकाधिकार पुँजीवादी स्वरूप एक्काइसौं शताब्दीले बीसौं शताब्दीबाट पाएको उत्तरदान हो। पुँजीवादको क्रमिक विकास र यसमा वेला वेलामा गरिएका संरचनागत परिवर्तनको परिणाम हो। मार्क्सले आफ्नो महान कृति ‘पुँजी’ र ‘अतिरिक्त मूल्यको सिद्धान्त’को रचना गर्दा त्यो स्वतन्त्र प्रतिस्पर्धात्मक पुँजीवादी उत्पादन प्रणालीको चरणमा थियो। लेनिनले आफ्नो समयमा यसलाई पुँजीवादको उच्चतम साम्राज्यवादी चरण भनी व्याख्या गरे र त्यसलाई ‘मरणोन्मुख’ अवस्था भन्नुभयो। लेनिनका त्यस भनाइको अर्थ तत्काल मर्न लागेको भन्ने अर्थमा बुझ्नु गलत हो, जस्तो धेरैले भन्ने गरेका छन्। यो भनाइ पुँजीवाद आफ्नो अन्तिम चरणमा प्रवेश गरेको छ र यो त्यसका निषेधको चरण हो भन्ने अर्थमा थियो। पुँजीवाद आज त्यसभन्दा बढी विकसित र जटिल अवस्थामा छ। तर, समयसँगै यसको वर्तमान स्वरूप निषेधित हुने छ। यो सामाजिक विकासको शाश्वत नियम हो।

पुँजीवादका विकासको प्रक्रिया हेर्ने हो भने अठारौं शताब्दीको उत्तरार्द्धमा आधुनिक पुँजीवादको प्रारम्भ भएको मानिन्छ भने आजका मोनोपोली, सिण्डिकेट र कार्टेलिङका चरणको सुरुवात १८७३ को पुँजीवादी संकटबाट औद्योगिक क्षेत्र दबाह भएपछि यस संकटबाट पार पाउन पुँजीपतिहरूले उत्पादन र बजारीकरणका क्षेत्रहरू परस्परमा बाँडफाँड गरी कार्टेलिङ् सुरु गरेपछि सुरु भएको थियो। स्वतन्त्र पुँजीवादी प्रतिस्पर्धा र असमान विकासको चारित्रिक विशेषताको अध्ययन गर्दै मार्क्सले पहिले नै स्वतन्त्र प्रतिस्पर्धात्मक पुँजीवाद एकाधिकार पुँजीवादमा परिणत हुनेतर्फ संकेत गरी सकेका थिए। त्यस वेलासम्म एकाधिकार गर्भावस्थामै थियो। सन् १९००-०३ को आर्थिक संकटपछि लेनिनको जीवनकालमा यिनै कार्टेलस्हरू पुँजीवादी राष्ट्रिय अर्थतन्त्रको एकाधिकारवादी चरित्रको जन्मदाता साबित भए र पुँजीवाद स्वतन्त्र प्रतिस्पर्धाको युगबाट एकाधिकार पुँजीवादको चरणमा प्रवेश गर्‍यो। यससँगै पुँजी, उत्पादन र वितरण एकाधिकारवादीहरूको हातमा केन्द्रीकृत हुँदै गयो। यस अवस्थालाई मध्यनजर गर्दै लेनिनले लेखे ‘औद्योगिक पुँजीवादी देशहरूमा एकाधिकारवादीहरूले समाजको हरेक क्षेत्रको नेतृत्व लिइसकेका छन् र एकाधिकार पुँजीवाद राष्ट्रिय एकाधिकार पुँजीवादमा विकसित भएको छ।’ (लेनिन, पार्टीको सार्तौ सम्मेलन १९१७।

पुँजीवादको स्वतन्त्र प्रतिस्पर्धात्मक चरणमा उत्पादनको क्षेत्रमा औद्योगिक निजी पुँजी मात्र थियो र मालको मात्र निर्यात हुने गर्थ्यो। तर, आर्थिक संकटहरूबाट औद्योगिक क्षेत्रलाई उकास्न औद्योगिक निजी पुँजीलाई सहयोग गर्न बैंक पुँजी उत्पादन क्षेत्रमा प्रवेश गरेपछि औद्योगिक र बैंक पुँजीको सम्मिलनबाट जन्मिएको फिनान्सियल ओलीगार्कीपछि मालसँगै पुँजीको निर्यात पनि सुरु भयो। लेनिनले यस चरणलाई एकाधिकार पुँजीवादको साम्राज्यवादी चरणमा प्रवेशको विन्दु भनेका छन्। इटालीका प्रसिद्ध मार्क्सवादी अर्थशास्त्रीका अनुसार १९३० को आर्थिक संकटपछि जब पुँजीवादी पुनरुत्पादनको सहज अवस्था रहेन र औद्योगिक क्षेत्रमा मात्र होइन कृषि क्षेत्र लगायत सामाजिक जीवनका सबै क्षेत्रमा अराजकता र अन्तर्द्वन्द्व तीव्र हुन पुग्यो। त्यस अवस्थामा आर्थिक पुनरुद्धारका लागि राजसत्ता, एकाधिकार र सम्पूर्ण राष्ट्रिय अर्थतन्त्र एक अर्कोसँग जोडिन पुगे। दोस्रो विश्वयुद्धको समाप्तिपछि यस प्रक्रियाले झन् तीव्रता पायो र पुँजीवाद राष्ट्रिय एकाधिकार पुँजीवादमा पूर्ण रूपले स्थापित भयो। (अन्टोनियो पेसेन्टी – मैनुयल औफ पौलिट इकोनोमी १९७० रोम)। अहिले साम्राज्यवाद राष्ट्रिय एकाधिकार पुँजी, ती देशका हतियार निर्माता एकाधिकारीहरु र सेना तथा समरीकृत विज्ञान र ‘मिलिटरी इण्डष्ट्रीयल कम्प्लेक्स’ तथा प्रशासकीय व्यूरोक्य्रासीबीचको गठबन्धनसहित झन् बढी जटिल, व्यापक र आक्रामक रूपमा अगाडि आएको छ। यी कम्प्लेक्सहरू आफ्ना एकाधिकार पुँजीपतिहरूको स्वार्थ संरक्षणका लागि निरन्तर सक्रिय रूपमा काम गर्दै छन्।

पुँजीवादी उत्पादन प्रणाली त्यसका पूर्ववर्ती सामाजिक-आर्थिक संरचनाहरूका उत्पादन प्रणालीभन्दा भिन्न, श्रम र ज्यालाको विनिमयका निश्चित सम्बन्धहरूमा आधारित प्रणाली हो। यसमा जतिसुकै संरचनागत परिवर्तन गरे पनि पुँजीवादको यो आधारभूत चरित्र परिवर्तन हुन सक्दैन। किनभने श्रम बजार विना पुँजी बजार बाँच्न सक्दैन। पुँजीवादको चारित्रिक भिन्नता वा पहिचान भनेको नै स्वतन्त्र श्रम शक्तिको खरिद र विक्री हो। यी सम्बन्ध स्थापित गर्न सामन्तवादी विभिन्न बन्दमा बाँधिएका किसानहरूको श्रम शक्तिलाई त्यस बँधुवा अवस्थाहरूबाट मुक्त गरी स्वतन्त्र श्रम बजारमा उभ्याउन आवश्यक थियो, जहाँ जीविकोपार्जनका लागि साधन श्रोत विहीन व्यक्ति श्रम बजारमा स्वतन्त्रतापूर्वक आफ्नो श्रम बेच्ने स्वतन्त्रता पाओस्। यसका लागि पहिलो काम दासता, भू-दासता, करिया, बेठ बेगर आदिजस्ता सामन्ती वैधानिकता बन्धनहरूबाट, जसले श्रमिक वर्गलाई उसको आफ्नो श्रम शक्तिमाथि निजत्वको अधिकारबाट वञ्चित गरिराखेको थियो। श्रमिकलाई मुक्त गर्नु थियो। यी दुइटै काम पुँजीवादी क्रान्तिहरूले तथा सामन्ती संरचनाको क्षयीकरण र पुँजीवादको क्रमिक विकासले सम्पन्न गर्‍यो। दोस्रो काम श्रमलाई पुँजीको दासत्वमा ल्याउन उत्पादकलाई उत्पादनका साधन श्रोतहरूबाट अलग्याउनु र आफ्नो श्रम शक्तिको विक्रयका माध्यमबाट मात्र श्रमका साधनहरूसम्म उसको पहुँच हुनसक्ने अवस्था सृजना गर्नु थियो। यो अवस्था साधन विहीन श्रम शक्ति बजारमा पुगेको अवस्थाले सृजना गर्‍यो। तेस्रो काम, श्रम शक्तिलाई एउटा सामाजिक व्यक्तिको रूपमा नभई पुँजीपतिका पुँजी लगानीको एउटा हिस्सको रूपमा परिणत गरेर पुँजीकै एक हिस्सा बनाई सामाजिक उत्पादन प्रक्रियामा सरिक गर्नु थियो। यो काम पुँजीवादको विकाससँगै क्रमिक रूपमा सम्पन्न गरियो। त्यस कारण पुँजीवादमा श्रम प्रक्रिया श्रमिकद्वारा आफ्नो श्रम शक्ति विक्री गर्ने र पुँजीपतिद्वारा उसको श्रम शक्ति क्रय गर्ने सम्झौताहरूबाट सुरु हुन्छ।

सम्पत्ति र साधन श्रोतबाट वञ्चित श्रमिक सामु जीविकोपार्जनका लागि अन्य कुनै विकल्प नभएको अवस्थामा यस्ता सम्झौतामा बाँधिनु उसका जीवनको बाध्यता हो भने पुँजीपतिका लागि आफ्नो पुँजीलाई गतिमान गर्न र पुँजीको वृद्धि गर्न तथा आफ्नो उत्पादन प्रक्रियालाई जीवित राख्न पुँजीको गतिमान उत्पादक हिस्साको रूपमा श्रम शक्ति नभई नहुने वाध्यात्मक अवस्था हो। यसका लागि उसले उद्योग सञ्चालनका लागि कच्चा पदार्थ र श्रमका औजारमा लगानी गरेजस्तै आफ्नो पुँजीको एक भाग श्रमिकको ज्यालामा पनि लगानी गर्दछ। यस वाध्यात्मक अवस्थाले श्रम र पुँजी एउटा निश्चित सम्बन्धमा बाँधिन्छन्। यो ज्यालादारी श्रम र पुँजीका बीच एकत्वको अवस्था हो भने श्रमको उत्पादन र श्रमिकले पाउने ज्याला बीचको असमानताबाट उत्पन्न हुने द्वन्द्व तिनका बीच निरन्तर संघर्षको अवस्था हो, जो वर्गसंघर्षको रूपमा प्रकट हुन्छ।

वर्तमान एकाधिकार पुँजीवादको चरणमा पनि पुँजीवादको यो चरित्र यथावत् छ। र, क्रय-विक्रयको यही सिद्धान्त अन्तर्गत एकाधिकार पुँजीवाद आर्थिक क्षेत्रमा मात्र होइन। राजनैतिक, सामाजिक, सांस्कृतिक, सूचना, सञ्चार, सेवा, गैर सरकारी संस्थाहरूको माध्यमबाट सामाजिक जीवनका सम्पूर्ण क्षेत्रहरूमा काम गर्दैछ। यसै अनुरूप पुँजी र उत्पादनको मात्र होइन बैंकिङ्ग र बजार प्रणालीको समेत अन्तर्राष्ट्रियकरण गरिएको छ। यसबाट लगानीकर्ता, उत्पादक श्रमिक, वितरक, उपभोक्ता तथा अन्तर्राष्ट्रिय एकाधिकार पुँजी एउटै सूत्रमा गाँसिएका छन् र विश्व बजार, उत्पादन, वितरण तथा वित्तीय श्रोतहरूमाथि सिण्डिकेट र एकाधिकार कायम गरिएको छ। यसबाट एकाधिकार पुँजीपतिहरू अभूतपूर्व रूपमा श्रम शोषण गरी विशाल नाफा आर्जन गर्दै छन्। साम्राज्यवादी देशहरूका हतियार निर्माता एकाधिकारीहरु, ती देशको सेना र समरीकृत विज्ञान तथा प्रशासकीय व्यूरोक्य्रासीको संयुक्त गठबन्धन निर्माण गरी एकाधिकार पुँजीको स्वार्थ संरक्षणका लागि सक्रियरूपमा काम गर्दै छन्। अहिले यिनले तेस्रो विश्वमाथि आफ्नो हैकम कायम गरेको छन् र ती देशका सरकार र व्यवस्थाहरूलाई साम्राज्यवादीहरूको इच्छा अनुरूप चल्न तथा तिनको हैकम स्वीकार्न बाध्य गरिँदै छ।

आज साम्राज्यवादको सबभन्दा बडी युद्धपिपाशु तथा शोषक जमात विश्वव्यापी रूपमा आफू अनुकूल नभएका र आफ्नो खटनपटनमा नचल्ने सरकारहरूलाई अनेकौं हतकण्डा, सोझो हस्तक्षेप, आर्थिक नाकाबन्दी आदिका साथै तिनका विरुद्ध स्थानीय साम्राज्यवाद परस्त प्रतिक्रियावादी शक्तिहरूलाई आर्थिक, सामरिक र गुप्तचरी सहयोग गरी सैन्य गठबन्धन कायम गर्ने, चौतर्फी घेराबन्दी गरेर तिनको सत्ता पल्टाउने तथा साम्राज्यवाद विरोधी प्रगतिशील शक्तिहरू, मजदुर आन्दोलनहरू, राष्ट्रवादी शक्तिहरू, साम्राज्यवाद विरोधी प्रगतिशील शक्तिहरूलाई समाप्त गर्ने निरन्तर प्रयास गरिरहेका छन् र अझ बढी प्रयास गर्ने छन्। यसका लागि आफ्नो प्रभावमा ल्याउन सकिने व्यक्ति, समूह, पार्टी आदिमा अपार धन खर्च गर्ने, हातहतियार उपलब्ध गराउने, गुप्तचरी सहयोग दिने र तिनको माध्यमबाट जातीय, भाषिक, क्षेत्रीय तथा धार्मिक भावनाहरूलाई उचाली पारस्परिक भिडन्त गराउने जस्ता काम गर्दै छन्। सिरिया, लिविया, अफगानिस्तान, सुडान आदिजस्ता विभिन्न एसियाली, अफ्रिकी, दक्षिण तथा मध्य अमेरिकी देशहरूमा भइरहेका सैन्य भिडन्त तथा जातीय संघर्ष यसका उदाहरण हुन्। चीन, भियतनाम, क्युबा, उत्तर कोरिया जस्ता समाजवादी मुलुकलाई निशाना बनाएका छन्। अमेरिका आफ्ना सहयोगी नाटो राष्ट्र, साउदी अरविया, इजरायल आदिको सहयोगमा विश्वमा पुनः अशान्ति तथा युद्धको वातावरण निर्माण गर्ने प्रयासमा छ। अमेरिका जुनसुकै हालतमा पनि विश्व शक्ति समीकरण आफ्नो पक्षमा ढाल्ने प्रयासमा छ।

मार्क्सले आफ्ना समयको पुँजीवादी उत्पादन प्रणाली, त्यसका उत्पादन सम्बन्धहरू र श्रम तथा पुँजीबीचका अन्तर सम्बन्ध र अन्तर्द्वन्द्वको विश्लेषण प्रस्तुत गर्दै आफ्नो विश्लेषणात्मक व्याख्यालाई पुँजीवादको शारीरिक संरचना भन्नुभयो। पुँजीवादसँगै जन्मिएको सर्वहारा वर्ग, जुन वर्ग त्यस बेलासम्म ‘आफैमा एउटा स्वतन्त्र सामाजिक वर्ग’का रूपमा स्थापित भइसकेको थियो। आफ्नो मुक्तिका लागि पुँजीवाद विरुद्ध तीव्र संघर्ष गर्दै थियो, त्यस वर्गलाई ‘पुँजीवाद आफैले जन्माएको आफ्नो काल’ भनी सर्वहारा वर्गलाई क्रान्तिको अग्रणी लडाकुका वर्गका रूपमा परिभाषित गर्नुभयो। यस संघर्षका लागि त्यस वर्गलाई राजनैतिक रूपमा संगठित गर्न र राजनैतिक संघर्षका लागि सैद्धान्तिक हतियारसहित संघर्षको स्पष्ट लक्ष्य, रणनीति र कार्य नीति आवश्यक थियो। मार्क्स र एंगेल्सले ‘कम्युनिष्ट घोषणापत्र’ मार्फत त्यही काम गर्नुभयो। जसको निचोड थियो सर्वहारा वर्गले राज्यसत्ता आफ्नो हातमा नलिएसम्म उसको मुक्ति सम्भव छैन। आफ्नो मुक्तिका लागि, सर्वहारा वर्गले सर्वप्रथम राज्यसत्ता आफ्नो हातमा लिएर ‘आफ्नो मुक्ति आफै गर्नु पर्दछ’।

मार्क्सद्वारा प्रस्तुत यी मूल प्रस्थापना आज पनि त्यत्तिकै सत्य छन् जति त्यस बेला थिए। सर्वहारा वर्गका आन्दोलनको सार अहिले पनि आफूलाई पुँजीको शोषण र साधन विहीनताको अवस्थाबाट मुक्त गर्नु हो। मार्क्स पछिको कालखण्डमा पुँजीवादको तीव्र विकास भए छ। तर, पुँजीद्वारा श्रमका शोषणको अवस्थामा कुनै सारभूत परिवर्तन भएको छैन, बल्की त्यसको सघनता र विस्तारमा अभूतपूर्व वृद्धि भएको छ। विगतमा सर्वहारा वर्गको सशक्त आन्दोलन तथा समाजवादी देशहरू र सशक्त समाजवादी शिविरको उपस्थितिका कारण सर्वहारा वर्गले एकपछि अर्को गरी कतिपय उपलब्धि हासिल गरेका थिए। तर, अहिले सोभियत संघ र समाजवादी शिविरको पतन पछि ती सुधार तथा सुविधा क्रमिक रूपमा खोसिँदै छन् र वर्गीय शोषणका केही नयाँ रूप, तरीका र माध्यम समेत अगाडि आएका छन्। ज्यालादारी श्रमको शोषण र अतिरिक्त मूल्य उत्पादन झन् सघन भएको छ। मार्क्सले भने जस्तै पुँजीवादी संरचनामा श्रम र ज्यालाका सम्बन्ध रहेसम्म श्रमको शोषणबाट अतिरिक्त मूल्यको उत्पादन र नाफा आर्जनको पुँजीवादी चरित्र स्वतःस्फूर्त रूपमा समाप्त हुन सक्दैन। त्यसका लागि यस सामाजिक-आर्थिक संरचनालाई नै परिवर्तन गर्नु पर्दछ। सारभूत रूपमा अवस्था आज पनि त्यही हो। उत्पादक शक्तिको विकाससँगै पुँजीवादको विकास, विस्तार र स्वरूपमा परिवर्तन आउनु विकास प्रक्रियाले उपस्थित गर्ने स्वाभाविक परिणाम हुन्। अहिले यस्ता परिवर्तन भएका छन् र भइनै रहने छन्। तर, जन्म-विकास-विन्यास द्वन्द्ववादको सार हो। पुँजीवाद एकतर्फ विकसित पनि भइरहेको छ भने अर्कोतर्फ उसभित्रै अन्तर्निहित द्वन्द्वका कारण आफ्नो अन्ततिर पनि गइरहेको छ। यो समाजका द्वन्द्वात्मक विकासको सार, गति र दिशाको सार्वभौम चरित्र हो।

सत्य हो, मार्क्सको समय भन्दा आज अवस्था परिवर्तन भएको छ। तर, हेर्नु पर्ने कुरा के हो भने आज पनि पुँजीवादी देशहरूमा वर्ग विभाजन छ कि छैन ? श्रमिक वर्ग श्रमका साधनहरूबाट वञ्चित रहेको अवस्था विद्यमान छ कि छैन ? पुँजीले श्रमको शोषण गरी सञ्चित गरेको अतिरिक्त उत्पादनमाथि कसको स्वामित्व छ ? समाजको वा व्यक्तिको ? मार्क्सले समाज विकासको प्रवृत्तिका सार्वभौम प्रस्थापना र वर्गसंघर्षको सिद्धान्त विगतदेखि त्यस समय सम्मका सिंगो वर्गीय उत्पादन प्रणालीको सार र निचोडको रूपमा प्रस्तुत गरेका आधारभूत प्रस्थापना हुन्। कुनै देश विशेष वा संरचना विशेषको चरित्रको आधारमा निकालिएका निचोड होइनन्। पुँजीवादी विकासको सिङ्गो चरणमा न कहिले वर्गविहीन अवस्था थियो न हुन सक्छ। न वर्गीय उत्पादन प्रणालीमा उत्पादनको सामाजिक चरित्र र उपभोगको व्यक्तिगत चरित्र नै समाप्त हुन्छ। यसको समाप्तिका लागि श्रमिक वर्गले हजारौं वर्षदेखि गर्दै आएको संघर्षमा अन्तिम विजय प्राप्त गरेपछि मात्र यो समाप्त हुने छ।

अहिले विज्ञान र प्रविधिको विकाससँगै उत्पादक शक्ति, विशेष गरी ज्यालादारी श्रमिक वर्गको पनि अभूतपूर्व विकास भएको छ र ज्यालादारी श्रमिकका नयाँ रूप र नयाँ क्षेत्र अगाडि आएका छन्। सूचना प्रणालीको विकासले संसारलाई परस्पर जोडेको छ। यी उपलब्धि र विकासको परिणाम केवल पुँजीवादको पक्षमा मात्र गएका भन्ने कुरा होइन, यसले त्यत्तिकै मात्रामा स्वयम् मजदुर वर्गको चेतनाको विकास, सांगठनिक क्षमताको विकास, ज्यालादारी श्रमका विभिन्न फाँट तथा श्रमजीवी वर्गका विभिन्न नयाँ तप्काहरूको जन्म र संख्यात्मक विकास पनि गरेको छ। परिणाम स्वरूप एकतर्फ मजदुर वर्गको आयतनमा वृद्धि भएको छ भने अर्कोतर्फ कार्यक्षेत्र र कामका अवस्थाहरूको विविधताले मजदुर वर्गको राजनैतिक चेतना, सांगठनिक क्षमता तथा कार्यकुशलतामा समेत विकास गरेको छ। अर्कोतर्फ पुँजी, उत्पादन र वितरण प्रणालीको अति केन्द्रीकरण तथा विज्ञान तथा प्रविधिमाथि पुँजीको आधिपत्यले श्रमको अभूतपूर्व शोषण भइरहेको छ। उत्पादन प्रक्रियाको यान्त्रीकरण र रोबोटाइजेशनले मजदुर वर्गका रोजगारीको अनिश्चितता बढेको छ। यस अवस्थाले एकतर्फ सर्वहारा वर्गको लडाकुपनमा कमी ल्याउन सक्ने अवस्था छ भने अर्कोतर्फ बेरोजगारीको चरम अवस्थाले जन्माउने ‘स्वतन्त्र श्रम सेनाको नयाँ अवस्थामा सशक्त र संगठित श्रमिक आन्दोलन संगठित गर्न सकिने त्यतिकै सबल आधार पनि निर्माण गर्दैछ।

अहिले मजदुर वर्गमा यी दुइटै प्रवृत्ति र अवस्था देखिएका छन्। यसका साथै लेनिनले सर्वहारा वर्गको निकटस्थ सहयोगी भनी परिभाषित गरेको र मार्क्सले कृषक वर्ग भनी सम्बोधन गरेको कृषक वर्ग आज त्यही रूपमा छैन। कृषि क्षेत्रको पुँजीवादीकरणले कृषि मजदुर नयाँ वर्गको रूपमा परिणत भएको छ। यस अवस्थामा कृषक वर्गलाई श्रमिक आन्दोलनको अङ्ग बनाउन किसान आन्दोलनलाई नयाँ रूपमा परिभाषित गर्नु पर्ने आवश्यक छ। सेवा क्षेत्र, सञ्चार, बैंकिग क्षेत्र तथा विज्ञान र प्रविधिको क्षेत्रमा अस्तित्वमा आएका नयाँ ज्यालादारी श्रमिक वर्गको मनोविज्ञान आम सर्वहारा वर्गभन्दा भिन्न छ। यस अवस्थामा यी सम्पूर्ण फाँटमा कार्यरत श्रमजीवी वर्ग तथा साम्राज्यवाद विरोधी मानवतावादी बौद्धिक वर्ग तथा अभियानहरूलाई वर्तमान साम्राज्यवाद विरोधी संघर्षको एउटै मञ्चमा उभ्याउन आवश्यक छ। तर, यसका लागि साझा कार्यनीति र नारा ठम्याउन आफैमा भने जति सजिलो काम छैन।

आफ्नो रचना ‘कम्युनिज्मका सिद्धान्त’मा सर्वहाराको परिभाषा दिँदै एंगेल्सले लेखेका छन्- ‘सर्वहारा समाजको त्यो वर्ग हो जसले आफ्नो जीवन यापनका लागि चाहिने सम्पूर्ण आवश्यकताहरू एक मात्र आफूसँग भएको श्रम विक्री गरी खरिद गर्दछ।’ आज सर्वहाराको यस परिभाषा अन्तरगत केवल हिजोका कारखाना मजदुर (सर्वहारा) मात्र रहेनन् बल्की कारखानाहरूमा काम गर्ने हिजोका ह्वाइट कलर मजदुर, व्यवस्थापक समूह, विज्ञान तथा प्रविधिको क्षेत्रमा ज्यालादारी श्रम गरिरहेको बौद्धिक श्रमिक तपका तथा सेवा क्षेत्रमा श्रम बेचिरहेका ज्यालादारी श्रमिकका विभिन्न समूह थपिएका छन्। श्रमजीवी वर्गका यी तमाम तप्काहरू पनि पुँजीको शोषणको त्यही मारमा छन्। जस्तो मारमा कारखाना, खानीहरू, निर्माण वा अन्य क्षेत्रमा शारीरिक श्रम बेच्ने श्रमिक वर्ग छ। अतः आज सर्वहारा वर्गको हिजोको परिभाषा र सीमालाई पुनर्परिभाषित गर्नु पर्ने आवश्यकता छ। पुँजी बजारमा आफ्नो शारीरिक र मानसिक श्रम बेची बाँची रहेका श्रमिकहरूको समष्टि नै आजको सर्वहारा वर्ग हो। आजको कम्युनिष्ट आन्दोलनले पनि आफ्नो परिभाषा र कार्यक्षेत्रलाई पुनर्परिभाषित गर्नुपर्ने आवश्यकता छ। मजदुर वर्गका यी तमाम तप्काहरूलाई संयुक्त मजदुर आन्दोलनको दायराभित्र समेट्न कम्युनिष्ट पार्टीहरू हिजोको परिभाषा अनुसारको ‘सर्वहारा वर्गको अग्रणी दस्ता’मात्र भएर यस नयाँ चरणमा श्रमिक वर्गको मुक्ति आन्दोलन हाँक्न सक्दैनन्। अबको कम्युनिष्ट आन्दोलनले सम्पूर्ण श्रमजीवी, शोषित पीडित तथा सीमान्तकृतहरूको र सम्पूर्ण साम्राज्यवाद विरोधी शक्तिहरूको ‘अग्रणी दस्ता’को रूपमा आफूलाई स्थापित गर्न सक्नु पर्दछ। यो नयाँ अवस्थाले प्रस्तुत गरेको माग हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्