कस्तो हुन्छ फासीवादी चरित्र ? यस्ता छन् फासीवादका ३१ लक्षण

fasist
लोकपाटी न्यूज

पल स्ट्रीट/मैले चिनेका ‘वामपन्थीहरू’का भूमिगत कार्यकर्ता र अन्य वामपन्थीहरूले ट्रम्प र उनका पिछलग्गुलाई फोहोरी शब्दहरू र फासीवादी भन्दै वर्णन गर्छन्। के ट्रम्पहरू फासीवादी हुन्? यदि हामीले युक्तिसंगत परिभाषा दिने हो भने यसो भन्न सकिन्छ। फासीवाद एकल, सजिलै पहिचान हुने सिद्धान्त होइन, यसलाई (मनोविज्ञानमा झैं) विभिन्न लक्षणहरूबाट अभिव्यक्त राजनीतिक कारण र असरका रूपमा बुझ्नु पर्छ।paul_street

नेवर्ट भन्छन्- ‘लक्षणहरूलाई एक-एक गरी हेरिएमा ती मध्ये धेरैजसो लक्षणहरू अति नै साधारण लाग्छन्। तिनीहरू मध्ये केही … राजनीतिक क्षेत्रमा जहिले पनि देखिरहिएका हुन्छन्। यदि सबै लक्षणहरूलाई एकै स्थानमा राखेर हेर्ने हो भने एउटा सफा तस्बिर देखिने छ। त्यो तस्बिर नै फासीवाद हो।’ यो परिभाषा डेभिड नेवर्टको हो। जुन उनको २००९ मा प्रकाशित ‘सहांरवादीहरुः घृणायुक्त बोलीचालीले कसरी अमेरिकी दक्षिणपन्थीलाई कट्टरपन्थी बनायो’ नामक एक गहन पुस्तकभित्र छ। त्यसमा उनले फासीवादको प्रष्ट तस्बिर उतारेका छन्।

अब हामीलाई लाग्न सक्छ- फासीवादको तस्बिरलाई राम्ररी केलाउँदा के कस्ता लक्षणहरू होलान् ? यहाँ मैले ती फासीवादका ३१ वटा प्रमुख लक्षणहरू उल्लेख गर्दैछु। तथापि यी लक्षणहरूसम्बन्धी अवधारणा र भनाइमा मबाट उपज भएको मेरो दाबी छैन।

१. उदारवादका लम्पट विरोधीहरूको समाजवाद /साम्यवादका लम्पट विरोधी र पुरातनवाद विरोधीहरूसँगको गठबन्धन बनेको हुनु। यस्तो गठबन्धन फासीवादीहरु अन्य क्षेत्रहरूसँग, विशेषगरि पुरातनवादी पक्षसँग मिलेर अनुक्रिया गर्न इच्छुक हुन्छन् भन्ने बुझाई अनुसार बन्ने गर्दछ।

२. गम्भीर राष्ट्रिय र सामाजिक संकटहरु छन् जसको उदारवादी र पुरातनवादीका परम्परावादी उपायबाट प्रभावकारी सामना गर्न सकिँदैन भन्ने धारणा हुनु।

३. गौरवशाली राष्ट्रिय विगतलाई दुष्ट उदारवादी र कम्युनिष्ट सम्भ्रान्तहरूले धोका दिए- ‘पिठ्युँमा छुरा घोपे’ भन्ने मिथक कथ्नु र बदलापूर्ण भावना लिनु। राष्ट्रिय र/वा एक समयको प्रभुत्वशाली जातीय वा धार्मिक समूहको शक्तिमाथि उदारवादी र कम्युनिष्ट सम्भ्रान्तका कारणले भएका वर्गसंघर्ष, आमूल परिवर्तनकारी, उदार व्यक्तिवाद, बहु-संस्कृतिवाद र बाह्य/विदेशी प्रभावका ध्वंसात्मक असर परेको विश्वास हुनु।

४. ‘राष्ट्रको पुनर्जन्ममा विश्वास गर्ने उग्रराष्ट्रवाद’का आधारमा राष्ट्रिय पुनर्जन्म हुने विश्वास गर्नु। यसलाई इतिहासकार रजर ग्रिफिनले ‘राष्ट्रिय अपनत्व वा राष्ट्रिय पहिचानको उच्च भावनामा आधारित भएर देशको सामाजिक, आर्थिक र सांस्कृतिक जीवनको पुनरुत्थान गर्ने’ अभियान भनेका छन्।

५. आफ्नो विगतको प्रभुत्वशाली राष्ट्रिय, जातीय वा धार्मिक समूहलाई अन्यायपूर्वक पीडित बनाइएको प्रगाढ विश्वास हुनु।

६. आफ्नो राष्ट्रिय, जातीय वा धार्मिक समूहका विरुद्ध घरेलु वा बाह्य शत्रुहरूले खडा गरेका चुनौतीहरूलाई निर्मूल पार्न कानूनी वा नैतिक सीमा नाघेर जेसुकै कामकारबाही गरे हुन्छ भन्ने विश्वाससहित आफ्नो समूहको अन्धभक्त हुनु।

७. ‘हामी र तिनीहरू’ भनी विभाजन गर्नमा अति नै पूर्वाग्रही हुनु। जसको कारण ठूलो हानि पुर्‍याएको दोषारोपण गर्दै दानविकृत गरिएका ‘तिनीहरू’लाई बलिको बोको बनाउने निरन्तर प्रयास गर्नु।

८. नश्लीय, जातीय, धार्मिक र सांस्कृतिक अन्यहरू (तिनीहरू) र राजनीतिक शत्रुहरूको अमानवीयकरण गर्नु। यो दानवीकरण गरिएका ‘तिनीहरू’ र शत्रुहरूले खडा गरेका चुनौतीहरू निर्मूल पार्न विगतका कानूनी र नैतिक मान्यताहरू त्याग्न उद्धत रहने तत्परतासँग घनिष्ठ सम्बन्ध राख्ने काम हो।

९. असल र ‘चुनिन्दा’ ठानिने मानिसहरूले खराब भनिएका ‘तिनीहरू’का मानिसहरूलाई दबाउने ‘अधिकार’ हुन्छ भन्ने मान्यता फैलाउनु। उक्त ‘अधिकार’ डार्बिनवादी र नैतिक श्रेष्ठता प्रदत्त अधिकार हो भन्ने ठान्नु।

१०. समाजवाद र वामपन्थको उग्र र उत्ताउलो विरोध गर्नु। जुन समाजवादी, कम्युनिष्ट र/वा वामपन्थी अराजकतावादी क्रान्तिको वास्तविक वा कथित त्रासको अविरल खेती हो।

११. उदारवादीहरू र ‘वामपन्थको’ ठिमाहा विचारसहित उदारवादीहरूका काल्पनिक कमजोरीहरूको प्रलापपूर्ण प्रचार गर्नु र उग्र वामपन्थीहरूलाई ‘देश कब्जा गर्नबाट रोक्न’ उदारवादीहरू ज्यादै कमजोर छन् भन्ने निरन्तर आरोप लगाइरहनु।

१२. विश्वस्तरीय महानगरहरूलाई दानवीकृत ‘तिनीहरू’को दुर्गन्धित गर्भगृह ठान्दै तिनीहरू प्रति त्रसित हुनु, शंका गर्नु र घृणा गर्नु: ‘तिनीहरू’ भनेका नश्लीय र जातीय अल्पसंख्यक, प्राज्ञिक, उदारवादी, वामपन्थी, महिलावादी, श्रमिक सकृयकर्मीहरु, नागरिक र मानव अधिकार आन्दोलनहरू, ‘यौन अल्पसंख्यकहरु’ र जातीय समिश्रणकर्ताहरु हुन्।

१३. देशी विदेशी गोप्यरुपमा मुलुक र घटनाहरूलाई नियन्त्रण गर्छन् भन्ने जस्ता सनकी, आक्रामक र खतरनाक षड्यन्त्रका सिद्धान्तहरू चौतर्फी फैलाउनु।

१४. प्राज्ञिकहरू, विज्ञहरू र तार्किक सार्वजनिक छलफलहरू माथि निरन्तर आक्रमण गर्नु।

१५. सत्य विरुद्ध निरन्तररुपमा सांस्कृतिक र भ्रामक प्रचार युद्ध छेड्नु: जनताको वास्तविकता बुझ्ने क्षमता माथि निरन्तर प्रहार गरिराख्नु।

१६. पहिले सामान्य मानिएको बुर्जुवा स्वतन्त्र सञ्चार (प्रेस) लाई (उच्च नश्लका) जनताको शत्रु करार गर्दै दानवीकरण र अपमानित गर्नु। र सूचनालाई ‘उदारवादी’ र ‘परिवर्तनकारी वामपन्थी’को टाढा र पहुँच बाहिर पुर्‍याउन फासीवादीहरुको आधारसम्म सजिलै पुग्ने प्रोपागान्डा र सत्य विरोधी समाचार र उद्घोषण गर्ने छुट्टै सञ्चार-अखाडा बनाउनु।

१७. क्रान्तिकारी र रूपान्तरणकारीको कलेवरमा परम्परागत सामाजिक र राजनीतिक पदको खुड्किला बनाउनु र महिमा गान गाउनु।

१८. ‘परम्परागत’ दमनकारी लैंगिक भूमिका, महिलामाथिको हेपाई र महिला अधिकार माथि आक्रमण गर्नका लागि उग्र-पुरुषवादी पुरुष प्रधानतालाई बढवा दिनु।

१९. कानूनी राजमाथि अविश्रान्त आक्रमण साथै कानून र व्यवस्था कायम गर्ने नाममा प्रहरी र सैनिक राज्य कायम गर्नु: कानून र व्यवस्थाको नाममा कानूनको उपहास गर्नु।

२०. संवैधानिक र संसदीय नियन्त्रण तथा सन्तुलन अस्वीकार गर्नु र एक दलीय शासन व्यवस्था कायम गर्ने चाहना राख्नु।

२१. विजय कि हार, वृद्धि कि असफलता, सामर्थ्य कि दुर्बलता र ‘महानता’ कि लघुताभास जस्ता सवालमा चित या पोट जस्तै एक पक्षमा सामेल हुनै पर्ने सामाजिक डार्विनवादीको जस्तो अडान लिनु ।

२२. अश्वेतहरू सहित वृद्ध, अपांग र दुर्वलहरुलाई खिज्याउनु र ‘तिनीहरू’लाई ‘कमजोर’ र चाँडो मृत्यु स्वाभाविक ठान्नु।

२३. धोका दिइएको र पीडित राष्ट्र/ चुनिएका जनताको महानता पुनर्स्थापना गर्न सक्ने जन्मजात, सदा पुरुष नेता हुनुपर्ने मान्यतालाई सम्झँदै महामानवका रूपमा कसैलाई चित्रित गर्नु।

२४. तर्क र बौद्धिक छलफल भन्दा अन्त:प्रेरणा र इच्छाशक्ति श्रेष्ठ हुनेमा विश्वास गर्नु र अरूको सहज ज्ञान र अमूर्त तर्कको तुलनामा नेताको सहज ज्ञान र इच्छाशक्ति उत्तम हुन्छ भन्ने विश्वास गर्नु।

२५. आपत्तियोग्य निरङ्कुशता, जातिवाद, सैनिकवाद, साम्प्रदायिक, यौनभेदवादी लक्ष्यहरूलाई पर्दाले ढाक्न लोकतन्त्र (जन चाहना) र सामाजिक सद्भाव जस्ता बहुसंख्यकले स्वीकारेका आदर्शहरूको निरन्तर रट लगाइरहनु।

२६. सेना, अति सैनिकिकरणको जयजयकार गर्नु र हिंसालाई प्रश्रय दिनु।

२७. राजनीतिक प्रतिद्वन्द्वीहरू र आलोचकहरू विरुद्ध हिंस्रक हुनु।

२८. अभियानात्मक तामझाम, नाटकीय भेला, बारम्बार भइरहने रिस उठ्दा घृणा जुलुसहरू आयोजना गर्नु। यसैगरी राष्ट्र र/वा आफ्ना भाटहरू र पीडित मानिएका नश्लीय, जातीय, राष्ट्रिय र/वा धार्मिक समूहहरूप्रति महानताको भाव प्रदर्शन गर्न विशाल तामझामहरू गर्न लालायित हुनु।

२९. मन परेका/ चुनिएका राष्ट्र/ समूहहरूको प्रतिरक्षामा र दानवीकरण गरिएका ‘तिनीहरू’ र ‘जनताका शत्रुहरू’को भर्त्सना गर्न भावनात्मक रूपले (सदा सर्वश्रेष्ठ, सर्वथा खराब, गजब डरलाग्दो , घिनलाग्दो, यस्तै यस्तै भाषामा) अतिरञ्जित र उग्र वक्तव्य वाजी गर्नु।

३०. महान नेता र उनको पार्टी प्रति इमान्दार नरहेका ठानिकाहरुको बारम्बार पजनी गर्नु।

३१. झुटो पपुलिष्ट आवरणमा गुप्तरुपमा पुँजीवादी सम्भ्रान्तहरू र पुँजीवादको सेवा गर्नु र उनीहरूसँग साँठगाँठ गर्नु। कमरेडहरू, यिनै हुन् फासीवादीका ३१ लक्षणहरू।

अन्तमा तपाईंहरुसँग मेरो अनुरोध छ- सामाजिक न्याय, लोकतन्त्र, र पर्यावरणीय दिगोपनाको लागि गरिने आफ्ना आन्दोलनहरू र फासीवादी राष्ट्रवादबीचको भिन्नता छुट्याउन सिक्नुहोस्। यसो गर्न मेरो सूची उपयोगी हुनसक्छ हरदमसँगै राख्नुहोस्। यी ३१ वटा लक्षणहरू सबैलाई पहिचान गर्न र त्याग्न हरदम तयार हुनुहोस्, तर ग्रहण कहिल्यै नगर्नु होस्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्