‘एक घर एक धारा’ गण्डकी प्रदेशको नीति

CM_Krishnachandra_Pokharel_nepali
लोकपाटी न्यूज
0 Shares

नवलपुर। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ‘एक घर एक धारा’ अवधारणा अनुरूप जनतालाई सफा पानी वितरण गर्ने प्रदेश सरकारले नीति लिएको जानकारी दिएका छन्।

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा रहेको जलुके खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २०औँ वार्षिक साधारण सभाको शनिवार शुभारम्भ गर्दै उनले प्रदेशभित्र एक हजार ५०० खानेपानीका आयोजना सञ्चालनमा रहेको र ती मध्ये ४२२ आयोजना सम्पन्न भइसकेको बताए।

गण्डकी प्रदेशमा अहिले तीन अर्ब ६८ करोड लागतका खानेपानी आयोजना सञ्चालन भइरहेका छ। सो अवसरमा मुख्यमन्त्री पोखरेलले सुन्दरपुर डाँडामा रहेको संस्थाको एक लाख लिटर क्षमताको ओभरहेड ट्यांकीको उद्घाटनसमेत गरेका थिए।

कार्यक्रमका गैँडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कँडेलले सुरक्षित खानेपानीको सन्दर्भमा उत्कृष्ट काम गरेको जलुकेले सरसफाइका क्षेत्रमा समेत थप कार्यक्रम गर्न सुझाव दिइन्।

साधारण सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष पार्वती शर्मा लम्सालले आर्थिक वर्ष २०७७/७८ मा संस्थाले ५५ लाख ८४ हजार १६६ बचत गर्न सफल भएको बताए। चालु आव २०७८/७९ मा संस्थाले दुई करोड २० लाख ११ हजार आम्दानी गर्ने लक्ष्य राखेको उनले जानकारी दिए। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्