रामचन्द्र शर्माकाे लेख : पर्यटनमा अबको नेपाली बाटो

ramchandra sharma
पर्यटन व्यवसायी रामचन्द्र शर्मा
लोकपाटी न्यूज
  • रामचन्द्र शर्मा

प्रारम्भ
आध्यात्मिक, भौतिक, साँस्कृतिक र आर्थिक पक्षहरु हरेक मानिसका जिवनचार्य का मुख्य अतर्बस्तुहरु हुन्। पछिल्लो समय यिनीहरुको केन्द्रीय संयोजन गर्नको लागि राजनीतिक शब्द मुख्य नेतृत्वमा स्थापित भएको छ। समाज विकासको कालखण्ड, युग विकास क्रमको शिलशिलामा मानिसको जीवन निर्बाहको लागि गरिएको निरन्तर संघर्षमा आधारित रहेर नै आज सम्मको समाज बन्यो । विकासको दौरान नै तमाम मानिसहरुका इच्छा, आकांक्षा र आवश्यकताहरु असीमित ढंगले सृजना भए । तिनको परिपूर्तिको लागि मानिसहरु जबर्जस्त खोज, अनुसन्धान र जिउनको लागि संघर्ष गर्नुपर्ने अवस्था थियो।

त्यसको लागि एकै ठाउँ एवम् थाकथलोमा मात्र रहेर सम्भब थिएन। बाध्यताको प्रतिफलस्वरूप एक ठाउँका मानिसहरु अर्को ठाउँमा, अर्को ठाउँका मनिसहरु नयाँ ठाउँमा हुँदै बसाइँसराइ र घुमन्ते जीवनको शृंखला शुरु गर्न आकर्षित भएको देखिन्छ। ऐतिहासिक तथ्यहरुको आधारमा हेर्दा पर्यटन शब्दको भ्रुण पैदा भएको बुझ्नु पर्दछ। सैद्धान्तिक हिसाबले समाज विकास र आर्थिक परिचालन, विकास र परिवर्तन साथै विज्ञानको खोजि र आविस्कारको प्रस्थापन बिन्दु नै पर्यटन हो। पर्यटनको अर्थ नै खोज, अनुसन्धान , विकास र आमसन्तुष्टी हो। यहाँसम्म यात्राको ठोस आधार नै पर्यटनको सघन विकास र उपयोग हो भन्ने कुरामा प्रस्ट हुनु पर्दछ ।

नयाँ-नयाँ चिजको आवगमन र प्रवेश नै पर्यटन हो। जुन पूर्णतया आधुनिक बिज्ञानसँग अन्योन्याश्रित सम्बन्ध राख्दछ। समग्रतामा विकासको प्रस्थापन गराउने मुख्य सुचालक कार्यक्रम र गतिबिधि नै पर्यटनको परिभाषा भित्र कैद छ। जसको केन्द्रिकृत अभिव्यक्ति आजको सामाजिक, साँस्कृतिक र आर्थिक अवस्था हो। जसले संधै परिवर्तन र विकासको माग गरिरहेको छ। किनकी पर्यटन शब्द आफैँले निरन्तर नयाँ र परिबर्तनको चाहना प्रकट गर्ने चरित्र बोकेको हुने गर्दछ । यस आलेख मार्फत् बिस्तृत डाटा प्रत्यक्ष प्रस्तुत नगरी सारांश सूचांकमा आधारित विश्लेषणकाे रेफ्रेंशमा ऐतिहाशिक पृष्ठभूमि र विकासको समीक्षा आधारसहित पर्यटनका आयामहरुको प्रस्तावनाको रुपमा चर्चा गर्न खोजेको छु।

सार सक्षेप
आज अन्तरास्ट्रिय पर्यटनको प्रवृति हेर्दा कोभिड महामारी पूर्वको अवस्था प्रत्यक्ष रुपमा संसार भरको कुल निर्यातको मुख्य हीस्सा समूह र सेवा निर्यातको झन्डै १ तिहाइ हीस्साको नेतृत्व पर्यटनले गरेको थियो भन्नेकुरा यससँग सम्बन्धित संस्थाहरुले आफ्नो रिपोर्टमा राखेका छन्। त्यो औपचारिक तथ्यांकमा मात्र आधारित छ। तर, यसको अनौपचारिक तथ्यांकसमेत सलग्न गर्ने हो भने अवस्था निकै माथि पुग्ने देखिन्छ। १८५ देश र २५ वटा स्वायत्त क्षेत्रहरुले योजनाबद्ध रुपमा पर्यटनलाई आफ्नो देशको कुल ग्रहास्थ उत्पादनको मुख्य क्षेत्र र अंग मान्दै आएको अवस्था छ। यसकारण पनि कोभिड महामारीको कारण यसको प्रभावसमेत त्यतिकै नकारात्मक रुपमा यस क्षेत्रमा परेको विद्यमान अवस्था छ।

जसको कारण नै ४ दशमलब ५ ट्रिलियन अमेरिकी डलरको आर्थिक घाटा र ६२ मिलियन रोजगारी गुमाउने अवस्थामा संसार पुगेको छ। साथसाथै संसारभर आन्तरिक आगन्तुक खर्च ४५ % ले घटेको छ भने अन्तरास्ट्रिय आगन्तुक खर्च ६९ दशमलब ४ % ले गिरेको छ। यस तथ्यांकबाट यो प्रस्ट हुन्छ कि पर्यटनको महत्व र असर कति दुरगामी प्रकारको छ। बिकासको गति बढाउन र अबरुद्ध गर्ने यसको क्षमता निर्णायक छ भन्ने देखाएको छ। नेपालको कुरा गर्ने हो भने प्राकृतिक हिसाबले अत्यन्तै सुन्दर र पर्यटकीय सम्भाबनाको हिसाबले समेत उत्तिकै प्रतिफलयुक्त गन्तब्य नेपाल हो। जुन कुरा अन्तरास्ट्रिय रुपमा नै नेपाललाई पर्यटकीय गन्तव्यको सूचिमा राखेको कुराले प्रमाणित गर्दछ। कोभिड महामारीभन्दा पहिला नेपालको समग्र पर्यटन क्षेत्रका हरेक इभेन्टमा औसत रुपमा ८० % को नजिक अकुपेंशी रेट र सोहीअनुसारको रिटर्न रहेको यससँग सम्बन्धित संस्थाहरुको रिपोर्टमा उल्लेखित गरेको पाइन्छ।

यस क्षेत्रले औपचारिक रुपमा नेपालको कुल ग्राहस्थ उत्पादनको ८ % को हाराहारीमा योगदान दिएको, १ मिलियन माथिको रोजगारी सृजना गरेको अवस्था थियो। अनौपचारिक र असंगठित पर्यटनको हिसाबकिताब र तथ्यांक खोज्ने हो भने स्थिति अझ बलियो अवस्थामा रहेको पाउने सुनिश्चित नै छ। दुःख साथ लिनु पर्दछ नेपाल यस्तो देश हो जहाँ कुनै पनि विषयवस्तुको ठोस र औपचारिक डाटा एबं तथ्यांक प्राप्त गर्न नै सकिँदैन। त्यो खालको मेकानिजम बनाउने गम्भीरता र जवाफदेहिता देशभित्र पटक्कै छैन। यसको कारण अनौपचारिक पर्यटन र आर्थिक गतिविधिलाई मूल प्रवाहमा हिसाबकिताब राख्न सकिएको छैन। यस्तो हिसाबको तथ्यांक खोज्ने हो भने कुल ग्र्हास्थ उत्पादनमा पर्यटन क्षेत्रको विविधीकरणले मात्र पनि धेरै माथि योगदान गरेको तथ्य प्रकाशित गर्न सकिनथ्यो। र, यस क्षेत्रको विकासमा रणनीतिक हिसाबले अगाडि बढ्न सकिन्थ्यो।

तर आज कोभिड महामारीको कारण सबै भन्दा सुस्त,  प्रताडित र प्रभावित यही क्षेत्र बन्न पुगेको छ। यसलाई उकास्न ठोस पहल नहुनु ठूलो विडम्बना भएको छ । जसको कारण हस्पिटालिटी, एयर लाइन्स , होटेल, रिसोर्ट, रेस्टुरेन्ट, एडभेन्चर लगायत पर्यटनसँग सम्बन्धित कुल इभेन्टहरुले औसत वार्षिक १६० बिलियन रुपियाँ क्षति बेहोरिरहेको तथ्यांक भन्छ। यसबाट पनि बुझ्न सकिन्छ पर्यटनको क्षेत्र र कारोबार भोल्युम बृहत छ। अझ धेरै अनौपचारिक कारोबार तथ्यांकले समेटेको छैन । यदि त्यो पनि खोजि गर्ने हाे भने अतुल्य खजना हामीसँग रहेछ भन्ने बुझ्न सकिन्छ। तसर्थ, यसले के देखाउँछ भने योजनाबद्ध खुल्ला सोच मात्र राख्ने गरि एउटा महान् विकास अभियानको रुपमा नेपाललाई पर्यटकीय एजेन्डामा मुख्य गरि केन्द्रित गरेर व्यवस्थित रणनीतिक कोर्श तयार पार्न जरुरत छ। यस मुताबिक अगाडि बढाउन खोज्ने हो भने पर्यटन क्षेत्रबाट मात्रको योगदान नेपालको कुल निर्यातको ५० % बढी हिस्सा ओगट्न योग्य बनाउने सम्भावना प्रसस्त देखिन्छ। हामी बैदेशिक पुँजी आर्जन नगरी धनि बन्न सकिँदैन। त्यो पुँजी निर्यातबाट मात्र सम्भब छ। नेपालको निर्यातको मुख्य भर्जिन क्षेत्र पर्यटन मात्र हुन सक्दछ। जोसँग अनेक निर्यात उद्योग समेत सहयोगीको रुपमा काम गर्न सक्दछन्।

पर्यटन र यसले खेल्ने भूमिका
नेपाल पर्यटनको उर्वर भूमि हाे। याे माथि चर्चा गरिएको कुराले प्रस्ट पार्दछ। नेपालको आत्मनिर्भर हुने र निर्यात गर्ने मुख्य क्षेत्र कृषिसँग जोडिएको बृहत्तर क्षेत्र पर्यटन नै हुनु पर्दछ। पर्यटन क्षेत्रको बर्गिकरण, लगानीमा विविधिकरण र परिणाममा एकीकरण हाम्रो दीर्घकालिन रणनीति हुनु पर्दछ। यस्तो खालको रणनीतिले मात्र पर्यटनका ठूला-ठूला पुर्बाधार बन्ने आधार तयार हुन्छ। लगानीको बहसलाइ आमन्त्रण गर्न सक्दछ। हामीसँग प्राकृतिक कोणबाट अत्यन्तै राम्राराम्रा स्थलहरु छन्। जुन अतुल्य पनि छन् । मुख्य बुझ्न पर्ने कुरा यो हुनु पर्दछ, प्राकृतिक स्थलको उपलब्धताले मात्र दीर्घकालसम्म देशको पर्यटन क्षेत्र अगाडि बढ्न सक्दैन र त्यो दिगो पनि हुँदैन।

एक दिगो विकास रणनीतिको विकास गर्नको लागि बृहत्तर उद्योग निर्माणको आधार खडा हुनु पर्दछ। जसले संधै आर्थिक गतिबिधिलाई प्रोत्साहन गर्न सक्दछ । औधोगिक लगानी र संस्कृति नै रणनीतिक हिसाबले हरेक आर्थिक र सामाजिक संरचनाको सम्पादन गर्ने प्लाटफर्म हो।यसले गर्ने हरेक आर्थिक गतिबिधि नै समाज विकास र न्यायको उचित विचारधारा निर्माण गर्ने कुंजी हो। बुझ्नु पर्ने नै कुरा के हो भने अब हामीसँग प्राकृतिक सुन्दरता जुन छ। त्यो हेरेर रमाएर मात्र पुग्दैन। त्यो त खाली एक उद्योगको कच्चा पदार्थ हो। त्यसलाइ गुणात्मक नयाँ स्वाद र अनेकौं ब्रान्डमा प्रस्तुत गर्ने गरि बृहत्तर उत्पादन सूची निर्माणको लागि उद्योगहरु निर्माण अनिबार्य हुनु पर्दछ। बृहत्त सोचसहित प्राकृतिक सम्पदालाइ सम्बर्धन र प्रबर्धन गर्दै समुचित रुपमा मानब जीवनको हितमा प्रयोगमा ल्याउने उद्देश्य बोक्नु पर्दछ।

मानव हितको लागि, स्थानीयहरुको हितको लागि पर्यटनको समुचित औधोगिकीकरण गर्ने र अधिकतम प्रतिफल लिने रणनीति लिनु आजको आवश्यकता हो। यसले मात्र हाम्रो अवस्थामा परिबर्तन दिन सक्दछ। सुनको कटौरा लिँदैमा कसैलाई धनि भएको भन्न मिल्दैन। यसको प्रयोगबाट प्राप्त प्रतिफलले मात्र धनि बनाउने गर्दछ भन्ने बुझ्नु पर्दछ। कोभिड महामारीले थिलो परेको अर्थतन्त्र र पर्यटनतन्त्र पुरानो अवस्थामा ल्याउनको लागि हिजोको क्षतिसमेत अशुलउपर गर्ने गरि आर्थिक उपार्जनको रणनीतिलाई औसतिकरण गर्न जरुरत छ। यसको आधारमा हामीले योजना बनाउने र सँगसगै कार्यान्वयन समेत थाल्नु पर्दछ। प्रतिकुलताभित्र सँगसँगै अनुकुलताहरु पनि त्यत्तिकै विकसित भएर आएका हुन्छन्। अबको पर्यटन ट्रयाकमा हिंडाउनको लागि २०२२ मा देशभित्र न्युनतम ८ लाख बाह्य पर्यटक र त्यस्को तिन गुणा घरेलु पर्यटनको आवगमन हुन जरुरत छ। यसको बलमा २०२५ सम्म ३० लाख २०२६ बाट बार्षिक ५० लाख पर्यटक भित्र्याउने बृहत्तर कोर्ष तयार पार्नु पर्दछ।

कि त हामीले जित्नु पर्दछ या त सिक्न अगाडि बढ्नु पर्दछ। यो बाहेक हामीसँग बिकल्प छैन। हरेक पर्यटनलाइ आकर्षण गर्ने भनेको प्राप्त पुर्बाधारको विविधिकरणले नै हो। बिना पूर्वाधारको पर्यटनको आवगमनलाई पर्यटन उद्योग भन्न मिल्दैन। तसर्थ उद्योगहरु हामीलाई चाहिएको छ। अब उद्योगहरु स्थापनाको लागि पुँजीको प्रबर्धन र सम्बर्धनको जरुरत हुने गर्दछ। त्यो पुँजी राज्यले मात्र लगानी गर्न सम्भब छैन। व्यवस्थापन गर्न सक्ने पनि देखिँदैन। यसर्थ राज्यले पर्यटन प्रबर्धनको लागि आम मानिसहरुलाई आवागमन गर्न सक्ने गरि विशेष आर्थिक नीतिसहित स्रोत साधन सम्पन्न नियमन प्राधिकरणको स्थापना गर्नु जरुरत छ। यस निकाय मार्फत सात प्रदेशमा पर्यटकीय महत्वका ठुला ठुला उद्योगहरु, प्रत्येक जिल्लामा त्यहाँको मौलिकताको आधारमा पर्यटकीय उद्योग र स्थानीयस्तरमा समेत स्थानीय विशेषता अनुरुपको उद्योग स्थापनाको रणनीतिक कोर्ष तयार पार्नु पार्दछ। भइरहेका सार्बजनिक र नीजि पुर्बाधार प्रबर्धनको लागि विशेष सुबिधा प्रदान गर्दै नयाँ पूर्वाधारको लागि लगानीको मोडेलसमेत उपलब्ध गराउनु पर्दछ।

व्यक्तिगत उद्योगको लागि झन्झटरहित वातावरण, एकद्वार सेवा नीति साथै निर्माण सामग्रीमा कर अनुदान र ऋणमा सहजीकरण गर्दै निश्चित बैंकिङ ब्याज अनुदान सुबिधा। यसै गरि संचालनमा आएको १० बर्षसम्म आयकरमा अनुदान वा छुट दिँदा जनस्तरबाट लागानीको माहोल बन्न सक्छ। राष्ट्रिय महत्वका गेम चेन्जर पूर्वाधार व्यक्तिगत प्रयत्नले मात्र चाहेर हुने कुरा नहुने भएकोले यसको लागि बृहत्तर सामूहिक उद्यमको जरुरत पर्दछ। नेपालमा कर्पोरेट संस्कृति अझ पनि ठोस रुपमा विकसित हुन नसकेको परिप्रेक्ष्यमा एक अर्का लगानीकर्तालाई विश्वास गर्ने अवस्था समेत निर्माण हुनेमा शंका रहेको छ। जसको लागि विशेष नीतिले सुरक्षाको ग्यारेन्टी गरिदिनु पर्दछ। यस पश्चात् उद्याेगहरुमा लगानी गर्दा व्यक्तिगत सुबिधाका अतिरिक्त विशेष सुबिधा दिने तयारी गर्नु पर्दछ। यस मार्फत् सार्बजनिक कम्पनिको प्लाटफर्ममा रहने गरि विभिन्न आर्थिक शक्तिहरु नीजि क्षेत्र, कर्पोरेट क्षेत्र, सहकारी क्षेत्र, सार्बजनिक क्षेत्र, सामुदायिक क्षेत्र, अनौपचारिक क्षेत्र वा बैदेशिक लगानी र सरकारी क्षेत्र गरि ७ पक्षहरुसहित ज्वाइन्ट भेन्चरको विशेष नीति तर्जुमा गरिनु पर्दछ।

यसको आधारमा उद्योग स्थापना गर्दा पूर्णतया एकद्वार प्रणाली मार्फत चुस्तदुरुस्त निश्चित अवधिमा नीतिगत काम सक्ने स्वघोषणा राज्यले गरिदिनु पर्दछ।  प्रोजेक्ट बैंकले तयार गरेका स्किमहरुमा लागनी गर्ने सुनिश्चितता गरिदिनु पर्दछ। साथसाथै राज्य र उद्योगबीच दुई पक्षीय लगानी प्रबर्धन तथा सम्बर्धन सम्झौता गरेर उद्योगको जीवनको ग्यारेन्टी राज्यले गरिदिनु पर्दछ। यसो गर्दा उद्योगमा सानादेखि ठुलासम्म अनेक तह र तप्काको संलग्नता बढ्न जान्छ। स्थानीय स्रोत र साधनमाथि सबैको लागनी गर्ने र प्रतिफल लिन सक्ने अधिकार स्थापित हुँदा लगानी पर्यटनको ठुलो माहोल नै सृजना हुन पुग्दछ। यस्तो लगानीले ५ बर्ष पछाडिको पर्यटकको लक्ष्य भेट्टाउने गरि काम गर्न सक्दछ। यसले अन्तरास्ट्रिय रुपमा जबर्जस्त पर्यटक आकर्षण गर्ने एजेन्डा दिन सक्दछ।

नेपाल अगाडि बढ्न सक्ने प्रमुख क्षेत्र पर्यटन नै हो। पूर्वाधारको निर्माण र उपलब्धता नै पर्यटन विकासका संजीवनी आयामहरु हुन सक्दछन्। यसर्थ तत्कालिन रुपमा व्यक्तिगत र भइरहेका पर्यकीय पुर्बधारको स्तरोउन्नति, मध्यकालीन रुपमा नयाँ लगानीका पूर्वाधारको निर्माण र दीर्घकालिन रुपमा बृहत्तर संयुक्त उद्यममार्फत् निर्मित राष्ट्रिय महत्वका परियोजनाले मात्र नेपालको पर्यटनको बिकास गर्ने र आर्थिक आधार बलियो बनाउने अभिष्ट पूरा गर्न सक्दछ।

बजार
नेपाल पर्यटकीय बजारको दृस्टीकोणबाट बुझ्दा दक्षिण एसियाको नै कोर इन्जिनको रुपमा आफूलाई उभ्याउन सक्ने अवस्थामा छ । दुई सीमा जोडिएका बिशाल अर्थतन्त्र भएका छिमेकी रास्ट्र जहाँ मात्र पौने ३ अरब हाराहारीको जनसंख्या र नजिकको छिमेकी राष्ट्र बंगलादेशसँग १८ करोड माथिको जनसंख्या छ। त्यहाँका मानिस घुमफिर गर्न सक्ने नेपाल आफैँमा सहज र नजिकको बजार हो। पर्यटनले भूगोलको घेराभित्र कहिलै आफूलाई कैद गर्दैन यसको चरित्र नै गैरभौगोलिक, असीमित खोजि, निरन्तर घुमन्ते र ठोस अध्ययन गर्ने खालको हुन्छ। यसकारण तेस्रो बिश्वको पर्यटनलाई समेत आकर्षण गर्न सक्ने ल्याकत नेपाली पर्यटन बजारले बोकेको छ।

पर्यटन तेस्तो क्षेत्र हो जहाँ आर्थिक परिणाम प्राप्त गर्न मात्र पनि पूर्वाधारको रहस्य , प्रचार र आवागमनको रुझान नै निर्णायक हुने भएकोले नेपाल हरेक कोणबाट त्यस प्रकार प्रस्तुति दिन तयार हुनु पर्दछ। बजारलाई आफ्नो रुझानमा प्रवेश गराउन आकर्षण गर्नको लागि हाम्रो कला संस्कृति साथै आधुनिकतासँगै विश्वकाे पर्यटकीय प्रवृतिलाई समेत बुझ्ने र उपयोगमा ल्याउनु पर्दछ। फराकिलो छाती लिएर परम्परागत भन्दा माथि उठेर विश्वव्यापी पर्यटकको आवश्यकतासँगकाे तारताम्यमा भिन्न स्वाद पस्कने तयारी बजारले गर्नुपर्नेछ।

पर्यटनले दिने परिवर्तन
पर्यटन त्यस्ताे उद्योग हो, जसले समतामूलक ढंगबाट हरेक व्यक्ति वा पक्षलाई आर्थिक क्रियाकलापमा सहभागिताको सुनिश्चितता गराएर सामूहिक अर्थोपार्जनको ढोका खोलिदिन्छ। भरियादेखि मालिकसम्म समतामूलक ढंगले आर्थिक वितरण र परिवर्तन दिने यसको चरित्र भएकोले यसले दिने परिवर्तन ठोस र बहुआयामिक हुन्छ। जसको कारण समतामूलक समाज निर्माण र बिद्रोही चेतबाट समाजलाइ मुक्त गरेर संस्थागत प्रगतिको यात्रामा समाजलाई शिक्षित एबम् निर्देशित गर्दै निराशाबाट उत्साहमा परिवर्तन गर्न सक्छ। नेपालको आर्थिक स्थितिमा सुधार ल्याउनको लागि पर्यटन नै परिवर्तनको संबाहक बन्ने कुरामा कुनै दुई मत हुन सक्दैन। यसमा नै हरेक क्षेत्र र व्यक्तिको विश्वास देखिन्छ।

निष्कर्ष
नेपालमा पर्यटनको नयाँ आयाम ल्याउनको लागि पूर्वाधार क्षेत्रमा ठूलो लगानी र इच्छा शक्तिको पनि ठूलो खाँचो देखिएको छ। पूर्वाधारको कुरा गर्दा पर्यटकीय खालका भौतिक पूर्वाधार, शैक्षिक पूर्वाधार, नैतिक पूर्वाधार, आर्थिक पूर्वाधार, साँस्कृतिक पूर्वाधार ,यातायातका पूर्वाधार र नीतिगत पूर्वाधारको समुचित एबम् संयोजित पहलकदमी उत्तिकै जरुरत छ। हरेक अवस्थाको सिंहावलाेकन र दीर्घकालिन उपलब्धि हासिल गर्ने सोच नै हाम्राे भविष्य बनाउने मार्गचित्र हुन सक्दछन्। तत्काल प्रतिफल लिने ध्येय राखेर मात्र काम गर्न खोज्ने हो भने फेरि पनि हाम्रो पर्यटन उही पुरानो यथास्थितिवादी घनचक्करमा घुम्नेशिवाय केही ठोस उपलब्धि प्राप्त गर्ने सक्ने अवस्थामा पुग्ने छैन ।

साँच्चै हिजो र कतिपय आजको कमजोरीबाट भएको क्षतिलाई अशुलउपर गर्ने नै हो भने हिम्मतका साथ पूर्वाधार निर्माणमा लगानी बढाउने र कार्यान्वयनमा पनि दृढताका साथ लाग्नुकाे विकल्प छैन। यसले मात्र नै पर्यटनका क्षेत्रमा नयाँ र दूरदर्शी परिणाममुखी आयामहरुको आमन्त्रण गर्न सक्दछ। हामीलाई सधैँ बलियो बनाउन सक्दछ। हाम्रा सन्ततिलाई समेत याद गर्न सक्ने गरि पर्यटन व्यवसायको कोशेढुंगा साबित गरिदिन सक्दछ। अब सबैजनाले सबै पक्षबाट एक पटक ठण्डा दिमागले एकीकृत रुपमा यस तर्फ सोचौं ! अब एक्लै हिंडेर कहीँ पनि पुगिँदैन, सामूहिक पहलकदमीले मात्र एक बृहत्तर सिस्टम बन्न सक्दछ। यो अविछिन्न उताराधिकारपूर्ण हुने भएकोले यसले प्रगतिको मात्र वकालत गर्दछ। यस मार्फत् नै आफ्नो, समाजको र राष्ट्रको सेवाको लागि ठोस योगदान गर्न सकिन्छ भन्ने बुझ्न अब ढिला गर्नु हुँदैन। आजैबाट बहस शुरु गरौं ! धन्यवाद !

(लेखक बन्दीपुर केवलकार एण्ड टुरिज्म लि. का अध्यक्ष हुन्)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्