शिक्षामन्त्री पौडेलले गरे काठमाडौं मेडिकल कलेजको अनुगमन

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बिहीबार काठमाडौं मेडिकल कलेज(केएमसी) को अनुगमन गरेका छन् । भक्तपुरको दुवाकोटमा रहेको केएमसी कलेजको अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित पुगेका शिक्षामन्त्री पाैडेलले केएमसीको शुल्क विवादबारे जानकारी लिएका छन् ।

मन्त्री पौडेलले कलेजका प्रधानाध्यापक रविन्द्र श्रेष्ठलाई भेटी अतिरिक्त शुल्कका बारेमा जाँचबुझ गरेका थिए । काठमाडौं मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको विरोधमा विद्यार्थीले बुधबारदेखि प्रदर्शन थालेका छन् । अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीलगायतसँगै विद्यार्थी र अभिभावक प्रदर्शनरत छन्  ।

अतिरिक्त शुल्कको विरुद्धमा एक महिनादेखि सुरु भएको आन्दोलन अन्तर्गत विद्यार्थीले काठमाडौं मेडिकल कलेज परिसर सिनामंगलमा चौथौ दिन पनि रिले अनशन जारी राखेका छन् । उता गृह मन्त्रालयले अतिरिक्त शुल्क माग्ने कलेजलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ ।

काठमाडौं मेडिकल कलेजका विद्यार्थीले जिल्ला प्रशासन काठमाडौंमा उजुरी दिएपछि बिहीबार प्रशासनले कलेज प्रशासन र विद्यार्थीलाई डाकेको छ । गृह मन्त्रालयले कारबाहीको निर्देशन दिएपनि कलेज सञ्चालकको राजनीतिक पहुँचका आधारमा प्रजिअले कारबाही प्रक्रिया अघि बढाउन नसकेको विद्यार्थी र अभिभावकको गुनासो छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्