निर्वाचन आयोगमा सर्वदलीय बैठक जारी

Election Commission
लोकपाटी न्यूज

काठमाडौं। निर्वाचन आयोगले राजनीतिक दलहरुसँग परामर्श गर्न बोलाएको सर्वदलीय बैठक जारी छ। स्थानीय चुनावबारे दलहरुसँग छलफलका बैठक बोलाइएको आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिए। बैठकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १७ दललाई निमन्त्रणा गरिएको आयोगले जनाएको छ।

अहिलेसम्म नेपाली कांग्रेसका रमेश लेखक, एमालेका तर्फबाट विष्णु रिमाल, निरज आचार्य र डा भीष्म अधिकारी तथा माओवादी केन्द्रका तर्फबाट लीलामणि पोखरेल एवंं नेमकिपाका प्रेम सुवाल आयोग पुगेका छन्। त्यसैगरी, नेपाली जनता दलका हरिचरण शाह तथा नेपाल संघीय समाजवादी पार्टीका मोहम्मद रिजवान अन्सारी आयोग पुगेका छन्।

एकीकृत समाजवादी, जनता समाजवादीलगायत दलका प्रतिनिधि भने आयोग पुगेका छैनन्। केही दलका प्रतिनिधिले भने भर्चुअल रुपमा सहभागी हुने जानकारी गराएको आयोगको भनाइ छ। आयोगले आगामी माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका बारेमा समेत दलहरुसँग छलफल गर्नेछ।

अहिले मतदाता नामावली संकलनको काम भइरहेका विषयमा पनि सर्वदलीय बैठकमा आयोगले दलहरुलाई जानकारी दिने कार्यक्रम रहेको छ। त्यस्तै स्थानीय तहको निर्वाचनको मिति तय गर्ने विषयमा पनि छलफल हुनेछ।

निर्वाचन आयोगले गत पुस ९ गते नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर वैशाख १४ र २२ गते स्थानीय तहको चुनावका विषयमा प्रस्ताव गरेको थियो। तर, यस बारेमा सरकारले निर्णय गरिसकेको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्