बढ्यो कोरोना विरुद्धको खोप लगाउनेको भीड

corona khop vid
लोकपाटी न्यूज

काठमाडौं। देशभर केही दिनयता खोप केन्द्रहरूमा खोप लगाउनेको चाप बढ्न थालेको छ। सरकारले माघ ७ गतेबाट सार्वजनिक स्थानमा प्रवेश गर्न कोरोना भाइरसविरुद्धको खोप कार्ड अनिवार्य बनाएपछि खोप लगाउनेको भीड बढेको हो।

सार्वजनिक ठाउँमा खोप कार्ड अनिवार्य भनेर बाध्यात्मक बनाइदिँदा धेरैजना खोपको दायरामा आउने सरकारले लक्ष्य लिएको छ । सरकारी अस्पतालमा खोप लगाउनेको भीड बढेपछि निजी अस्पतालमा समेत खोप लगाउन थालिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

सरकारी तथा गैरसरकारी कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाइयात्रा, पार्क आदिमा प्रवेश गर्दा कोभिडविरुद्धको खोप लगाएको कार्ड साथमा राख्नुपर्ने व्यवस्था गरेपछि खोप लगाउनेको भीड बढेको हो। कोभिड संक्रमण तीव्र विस्तार हुनु पनि खोप केन्द्रमा सर्वसाधारणको चाप बढ्नुको अर्को कारण हो। उपत्यकाका अधिकांश खोप केन्द्रमा खोप लगाउनेको भीड निकै बढेको छ।

टेकु अस्पताल, बानेश्वरको सिभिल अस्पताललगायत खोप केन्द्रमा खोप लगाउने मानिसको पछिल्लो केही दिनयता भीड बढेको छ। सरकारले २५ जनाभन्दा बढी भेला नहुनु भने पनि खोप केन्द्रहरुमा सयौँको संख्यामा मानिसहरु लाइनमा बस्दा त्यहीँबाटै संक्रमण फैलिने जोखिम बढेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्