तीन न्यायाधीशसहित १० जनामा कोरोना

लोकपाटी न्यूज

राजविराज। राजविराजस्थित उच्च अदालत जनकपुरका तीन न्यायाधीशसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उच्च अदालत जनकपुरको राजविराजका दुई तथा सप्तरी जिल्ला अदालतका एक गरी तीन जना न्यायाधीशसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनीहरूमा कोरोना संक्रमण पोजिटिभ देखिएको हो। १४ जनाको परीक्षण गरिएकोमा १० जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए।

जिल्ला अदालत सप्तरीका श्रेस्तेदार कुमार मास्केका अनुसार जिल्ला अदालतका एकजना न्यायाधीश र एक जना कम्प्युटर अपरेटरलाई कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै उच्च अदालत जनकपुरको राजविराज इजलासका दुई जना न्यायाधीशमा पनि कोरोना संक्रमण देखिएको अदालतले जनाएको छ।

यसका अतिरिक्त जिल्लाको खडग, तिरहुत र राजगढ गाउँपालिकाका एक-एक जना पुरुषमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै राजविराज नगरपालिकाका एक महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको छ। पछिल्लो समय १० जनामा एकै पटक कोरोना संक्रमण पुष्टि भएको जिल्लामा पहिलो हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्